बैशाख १२, २०८१ बुधबार

घुस लिने पोखरा महानगरपालिकाको न्यायिक समिति सदस्यको राजीनामा स्वीकृत



पोखरा । पोखरा महानगरपालिकाको न्यायिक समिति सदस्य भावना श्रेष्ठको राजीनामा स्वीकृत भएको छ । घुस लिएको आरोप लागेपछि उनले यसअघि नै राजीनामा बुझाएकी थिइन् ।

उनले पोखरा २६ विजयपुरको विवादित जग्गाको समस्या मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अडिओ सार्वजनिक भएको थियो ।

अडियो बाहिरिने बित्तिकै उनले न्यायिक समिति संयोजक मन्जुदेवी गुरुङलाई फेसबुकबाट राजीनामा पठाएकी थिइन् । उनको राजीनामा आइतबार बसेको नगरसभाले स्वीकृत गरेको हो ।

श्रेष्ठको राजीनामा स्वीकृतसँगै नयाँ सदस्य थप गर्ने प्रस्ताव पारित भएको महानगरका प्रवक्ता मोति तिमिल्सिनाले जानकारी दिए ।

‘राजीनामा सभाले स्वीकृत गरेको छ । अर्को सदस्य थप्न बाटो खुलेको छ,’ उनले भने । उनको वडा सदस्य पद भने कायम छ । जग्गाको विवाद मिलाउन उपमेयर समेतलाई पैसा दिनुपर्ने भन्दै श्रेष्ठले बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपनि त्यसबारे अनुसन्धान चाहिँ भएको छैन ।