बैशाख ९, २०८१ आईतबार

महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनीका १५ लाख बढीको कारोबार



काठमाडौँ । महिला उद्यमीद्वारा उत्पादित सामग्रीको बजारीकरणका लागि नेपालगञ्जमा आयोजना गरिएको प्रदर्शनीमा १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको प्रदर्शनीमा १५ लाख रुपैयाँ बढीको कारोबार भएको हो ।

प्रदर्शनीमा महिला उद्यमीले स्थानीयस्तरमा उत्पादन गरेका कृषिजन्य वस्तु, कपडा, खाद्यान्न, हस्तकला, काठबाट बनेका वस्तु, पत्थरबाट बनेका गरगहना, कम्पोष्ट मल र घरवास प्रवर्द्धन लगायतका प्रदर्शनी कक्ष राखिएको थियो ।

पुस २४ देखि २८ गतेसम्म नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर परिसरमा आयोजना गरिएको प्रदर्शनीमा ६१ कक्ष रहेका थिए । प्रदर्शनीमा दैनिकरुपमा करिब तीन लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको महिला उद्यमी सङ्घ बाँकेका अध्यक्ष सावित्रा बस्नेतले जानकारी दिईन ।

अध्यक्ष बस्नेतले भनिन, ‘प्रदर्शनीमा राखिएका महिलाले उत्पादन गरेका वस्तुलाई निकैले मन पराएको पाइयो । यसबाट बजारीकरणमा निकै सहजता हुने आशा पलाएको छ ।’

प्रदर्शनीमा कर्णालीका जिल्लाबाट महिला उद्यमीले ल्याएका सामानको माग बढेको पाइएको छ । रोल्पाली सिमी, भाङ्गोलगायत खाद्यान्न सामग्री अत्यधिक बिक्री भएको महिला उद्यमी सङ्घका केन्द्रीय सदस्य सरस्वती शर्माले बताईन ।

उनका अनुसार गाँजाबाट उत्पादन गरिएका टोपी, अल्लोको टोपी, कोटलगायत विभिन्न कपडाले बजार पाएको छ । प्रदर्शनीस्थलमा महिला उद्यमीले पकाएका सेलरोटी, थारु महिलाले पकाएको ढिंक्री अत्यधिक बिक्री भएको थियो ।

उद्यमी महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले महिला उद्यमी सङ्घले प्रदर्शनी कक्ष निःशुल्करुपमा उपलब्ध गराएको थियो भने बाहिरबाट आउने महिला उद्यमीलाई यातायात भाडा तथा नेपालगञ्जमा बस्ने र खाने सुविधा उपलब्ध गराएको प्रर्दशनीका संयोजक रेवती सिंहले जानकारी दिए ।

यस्तै, महिला उद्यमी ऋचा लुइँटेलले सञ्चालन गरेको गरगहनाको व्यवसायले पनि ग्राहकको मन जितेको थियो । महिला उद्यमीको उत्पादनलाई बजारीकरण गर्न यस प्रकारका प्रदर्शनी वर्षमा दुई पटक विभिन्न जिल्लामा सञ्चालन गर्नुपर्ने माग उद्यमी महिलाको छ । महिला उद्यमी सङ्घले स्थानीय महिला उद्यमीले उत्पादन गरेको सामाग्रीको बजारीकरणका लागि नेपालगञ्जमा कोसेली घर पनि सञ्चालन गरेको छ ।