बैशाख १७, २०८१ सोमबार

चर्चामा छायाँ, खुसी, सगुना र मनिषा : लोकसेवाका पाँच/सात परीक्षा एकवर्षमै पास



काठमाडाैं । सरकारी जागिर खाएर रहरलाग्दो जिन्दगी विताउने चाहना कसलाई हुँदैन र ? तर धेरैले भन्छन् लोकसेवा आयोगको परिक्षा पास गरेर सरकारी जागिर खान त्यति सजिलो छैन । धेरैका लागि फलामको चिउरा मानिने त्यही लोकसेवाका पाँचदेखि सात वटासम्म परीक्षा सजिलै उत्तिर्ण गरेर चारजना महिला भने यतिबेला चर्चाको शिखरमा छन् ।

बाजुराकी छायाँ जैसी, रोल्पाकी खुसी बुढामगर र मुगुकी सगुना परियार र गुल्मीकी मनिषा जिसी (विष्णुमाया घर्तिक्षेत्री)ले एकैवर्षमा लोकसेवाका धेरै परिक्षा उत्तिण गरेर चर्चा सँगै इज्जत कमाएका छन् ।

भर्ना कहिले खुल्छ भन्ने समेत थाहा नहुने ठाउँबाट लोकसेवाका ७ परिक्षा पास
नेपाल नर्सिङ काउन्सिलका अनुसार हालसम्म ३२ हजार नर्सले रोजगारीको खोजीमा नेपाल छाडिसकेका छन् । तर मुगुकी २५ वर्षीया स्टाफ नर्स सगुना परियार रोजगारीका लागि वैदेशिक यात्राको सोच राख्नेहरूलाई आफ्नै देशमा पनि रोजगारी पाउन सकिन्छ भन्ने एक गतिलो उदाहरण बेनेकी छिन् ।

छायाँनाथ रारा नगरपालिका–१, क्षत्रीबाडाकी सगुना एक वर्षमा लोकसेवा आयोगले लिएका ७ पदमा नाम निकाल्न सफल भएकी छिन् । लोकसेवा आयोग लुम्बिनीले लिएको प्रदेश निजामती सेवातर्फ अनमी, स्थानीय सेवातर्फ अनमी, कर्णाली प्रदेश अनमी र पब्लिक हेल्थतर्फ नर्सिङ, कोशी प्रदेश अनमी, संघीय लोकसेवा आयोग दिपायलबाट स्टाफ नर्स र निजामती कर्मचारी अस्पतालमा नाम निकालेकी सगुनाले भर्खरै लोकसेवा आयोगको कार्यालय दिपायलबाट स्टाफ नर्समा नाम निकालेकी छन् ।

नर्स बन्ने इच्छा भएपनि दुर्गम ठाउँ र सञ्चारको असुविधाका कारण समयमै भर्ना खुलेको थाहा नपाएपछि एक वर्ष ब्याक भएकी सगुनाले महेन्द्रनगरको सेती महाकाली नर्सिङ क्याम्पसबाटबाट छात्रवृत्तिमा नाम निकालेर पढ्न थालिन् । २०७५ सालमा उत्कृष्ट अंकसहित नर्सिङ पास भएपछि स्वास्थ्य सेवा कार्यालय मुगुमा २ वर्ष करार सेवामा काम गरिन ।

शुरुमै लोकसेवा तयारी गर्ने सोँच भएपनि कोरोना महामारीका कारण रोकियो । पहिलो कोरोनाकालपछि लोकसेवा तयारी गर्न जागिर छोडेर काठमाडौं पुगिन । काठमाडौंमा एक महिना जस्तो तयारी गरेपछि पुनः कोरोनाको दोस्रो लहरले उनको तयारी बीचमै रोकियो ।

त्यसपछि उनले ३ महिनासम्म अनलाइन कक्षा लिएर संघीय, प्रादेशिक र स्थानीय तहमा लोकसेवाले खुलाएको ७ पदमा परीक्षा दिइन् । परीक्षा पश्चात नाम निस्के ठीकै छ, खालि किन बस्ने भनेर उनी सुशील कोइराला क्यान्सर अस्पताल नेपालगन्जमा करारमा काम गर्न थालिन् । त्यसपछि लोकसेवा आयोगले नतिजा सार्वजनिक गर्न थाल्यो । पहिलोपल्ट कर्णाली प्रदेशले लिएको अनमी र जनस्वास्थ्यतर्फ नर्सिङ पदमा नाम निस्कियो । उनले अनमी छाडेर जनस्वास्थ्यतर्फ नर्सिङ सेवा रोजिन् । अन्तर्वार्तामा सफल भएर उनी गत मंसिर ८ गतेदेखि दैलेखको दुल्लु नगरपालिकामा पब्लिक हेल्थ नर्सका रुपमा कार्यरत छिन् ।

आफूभित्र भएको इच्छा र चाहानाअनुसार निरन्तर मेहनत गरे सफलता सहजै प्राप्त गर्न सकिने सगुना बताउँछिन् । ‘आफूभित्र चाहाना, इच्छा र त्यहीअनुसार दृढता र लगाव हुनुपर्‍यो असम्भव भन्ने केही छैन, अवसरका लागि विदेशिनु नि पर्दैन, विदेश जाने सबैले अवसर नै नपाएर भन्दा पनि आकर्षक तलब सुविधाले पनि होला,’ उनले भनिन् ।

सात वटा परीक्षा पास गरेर सबैलाई खुसी बनाउने खुसी
रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. ४ मा जन्मिएकी खुसी बुढामगरले पनि एक वर्षमा लोक सेवा आयोगका सात वटा परीक्षामा नाम निकालेकी छन् । दिएका मध्ये धेरै परीक्षामा नाम निस्किएको उनी बताउँछिन् ।

कर्णाली प्रदेशको चौथो र पाँचौँ तहमा उनको नाम निस्किएको छ । यसैगरी लुम्बिनीमा प्रदेश र स्थानीय तहमा गरी दुई वटा परीक्षामा नाम निस्किएको छ । सुदूरपश्चिम प्रदेशमा पाँचौँ तह, कोशी प्रदेशमा चौथो र सङ्घीयमा पनि उनको नाम निस्किएको छ ।

यसरी आफूले दिएका परीक्षा अधिकांशमा नाम निस्कनुमा आफ्नो मेहनत नै रहेको उनी बताउँछिन् । ‘यसरी धेरै परीक्षामा नाम निस्किन्छ होला जस्तो लागेको थिएन । कल्पना पनि गरेको थिइन’, उनी भन्छिन् ।

सात सन्तान मध्येकी कान्छी खुसीले यो वर्ष परिवारमा साँच्चै खुसी दिएकी छन् । तर, सरकारी जागिर खाने उनी पहिलो सन्तान भने होइनन् । यसअघि परिवारमा तीन जनाले सरकारी जागिर खाइ सकेका छन् । ६ दिदीबहिनी र एक भाइमध्ये कि कान्छी खुसी सरकारी जागिर खानेमा पनि कान्छी हुन् ।

ठुली दिदीले सरकारी जागिर खाएको कारण परिवारमा अन्य सन्तानले पनि सरकारी जागिर नै खानु पर्छ भन्ने सोच पलाएको उनी बताउँछिन् । दिदीले देखाएकै बाटोमा आफू पनि हिँडेको उनको भनाइ छ ।

‘लोक सेवामा नाम निकाल्न आत्मबल हुनु पर्‍यो, निरन्तर मेहनत गर्नु पर्‍यो, सकारात्मक सोचेर टाइम टेबल बनाएर पढ्नु पर्‍यो । अत्तालिनु भएन’, उनी भन्छिन् । परिवारले पनि वातावरण बनाइदिनुपर्ने उनको अनुभव छ ।

‘नाम निकाल्नुमा दाइ, दिदी, भिनाजुको सकारात्मक सहयोग छ’, उनी भन्छिन्, ‘यो सहयोगप्रति परिवारका सबै सदस्यलाई धन्यवाद दिन चाहन्छु ।’ बर्दघाट नगरपालिका नवलपरासीमा कार्यरत खुसी सङ्घको परीक्षामा अन्तर्वार्ताको तयारीमा छन् । परीक्षामा नाम थप खुसी थपिनेमा उनी आशावादी छन् ।

नौ महिनामा ६ परीक्षा पास गर्ने छायाँ
छाया जैसी बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ६ माल्तामाका महानन्द जैसीकी काइँली छोरी। पाँच छोरी र दुई छोरा मध्येकी चौंथो सन्तान छायाँ सरकारी जागिर खानेमा भने पहिलो हुन्, त्यो पनि एकैवर्षमा लोकसेवाका ६ परिक्षा पास गरेर ।

सामान्य परिवारमा जन्मिएकी छायालाई माध्यमिक तहसम्म त कृषि विषय पढेर कृषि प्राविधिकको जागिरे बनुला भन्ने कल्पना सम्म थिएन । तर गाउँकै भानुदय माध्यमिक विद्यालयबाट १२ पढेपछि कृषि प्राविधिक शिक्षा खुल्यो । बाबुले दुःख गरेर कृषि प्राविधिक पढाए । ‘खेती गरेर पनि खान पुग्थेन । ज्याला मजदुरीकै पैसाले घर व्यवहार चलेको थियो , विगत सम्झिँदै उनी भन्छिन्, ‘बुबा घर बनाउने काम गर्नु हुन्थ्यो । गाउँमा धेरै घर बनाउनु भएको छ । म पढेको स्कुलको भवन र होस्टेल पनि बुबाले बनाउनु भएको हो । बुबाले स्कुलबाट कमाएको पैसा स्कुलमै फी मा कटाउने गर्नु हुन्थ्यो ।’

अध्ययन सकेपछि उनी जागिरको खोजीमा लागिन् । २०७७ सालमा पहिलो पटक उनले हेटौँडाबाट पाँचौँ तहको परीक्षामा सहभागी पनि भइन् । नाम निस्किएन । बरु घरमा बुबालाई सहयोग गर्न जागिरको बाध्यता परेपछि लुम्बिनी प्रदेश अन्तर्गत कृषि प्राविधिकमा करारको जागिर शुरु गरिन् । जागिर गर्दै लोकसेवा तयारी गर्दै रहिन् ।
आफ्ना साथीहरुले घरबाट ल्याएको पैसाले लोकसेवा तयारी कक्षा लिएर जागिरको तयारी गर्दा छायाँलाई पनि पूरै समय लोकसेवा तयारी गर्ने मन त थियो तर घरको अवस्थाले जागिर छोड्न उनलाई दिएन । ‘कमाउने कोही छैन । मैले मेहनत गर्नुको विकल्प थिएन’, उनले भनिन्, ‘घरमा जागिरे कोही थिएन । बुबाले खेती किसानी गरेर छोराछोरीलाई पढाउने, हुर्काउने काम गर्नु भयो । आमाको भूमिका पनि त्यतिकै छ ।’

तै पनि सरकारी जागिरको रहर पूरा गर्न साँझ बिहान थोरै समय निकालेर लोकसेवा तयारी गर्दै रहिन् । तर हिम्मत हारिनन् । कडा परिश्रम पछि उनले २०८० वैशाखदेखि पुससम्म लोक सेवाका ६ वटा परीक्षामा उनको नाम निस्कियो । संघीय लोक सेवा आयोगको पाँचौँ तह, बागमती प्रदेशमा पाँचौँ तह, लुम्बिनी प्रदेशमा चौथो तह, कर्णाली प्रदेशको पाँचौँ तह र सुदूरपश्चिम प्रदेशको चौथो तहमा उनको नाम निस्किएको छ । गत पुसमा उनको पोस्टिङ उदयपुरको ताप्ली गाउँपालिकामा भयो । उनी चौथो तह अन्तर्गत नायब पशु सेवा प्राविधिकमा कार्यरत छिन् ।

पहिलो प्रयासमै लोकसेवाका पाँच परिक्षा पास गरेपछि पूर्व प्रधानमन्त्रीकाे बधाई 
स्कूल पढ्दा सेतो कोट लगाएको मान्छे नै डक्टर हो भन्ने छाप परेकी विष्णु घर्ती क्षेत्रीलाई सानैदेखि डाक्टर बन्ने रहर थियो । तर गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी घर्तिलाई डाक्टर पढाउने क्षमता उनको परिवारमा थिएन । गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा उत्तिर्ण गरेपछि काकाले स्टाफ नर्स अध्ययनका लागि मेडिटेक नर्सिङ कलेज बुटवलमा भर्ना गरिदिए । पूर्ण छात्रबृत्तिमा पिसीएल नर्सिङ सकेकी उनले अहले लोक सेवा आयोगले विभिन्न पदका लिएका पाँच वटा परीक्षा पास गरेकी छन् ।

कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तहमा उनको नाम निस्किएको छ । ‘यति धेरै परीक्षामा नाम निस्केला भन्ने सोचेको थिइन । पहिलो सिफारिस कोशी प्रदेशबाट भएको थियो । त्यसपछि दिएका परीक्षामा लगातार नाम निस्कियो’, उनी भन्छिन्, ‘एकपछि अर्को खुसी थपियो ।’

नर्सिङ पास गरेपछि उनले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरेकी उनी जागिर छाडेर एकमहिना मात्रै लोकसेवा तयारी गरेको बताउँछिन् । पढाइलाई समय र निरन्तरता दिएमा सफल भइन्छ भन्ने उनको भनाई छ । पहिलो प्रयासमै लोकसेवाका पाँच परिक्षा पास गरेपछि चर्चित बनेकी उनलाई पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बधाई दिएका छन् ।