बैशाख १५, २०८१ शनिबार

लिभिङ टुगेदरमा रहेकी महिलाको हत्या, तीन महिनापछि खाटमुनि भेटियो शव



काठमाडौं । काठमाडौंको शोभा भगवतीमा लिभिङ टुगेदरमा बसेकी महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले उनीसँग बस्ने पुरुषलाई पक्राउ गरेको छ ।

माघ ३ गते कोठाभित्र तनहुँकी ५१ वर्षीया सफिना मियाको शव भेटिएको थियो । लामो समयसम्म डेरामा बस्ने मान्छे देखा नपरेपछि घरबेटी सरिता गिरीले माघ ३ गते कोठा खोलेर हेरेकी थिइन्।

उक्त डेरामा बस्ने महिलाको शव खाटमुनि फेला परेको थियो। तर सोही फ्ल्याटमा बस्ने भारतीय नागरिक भने फरार थिए।

६ वर्षदेखि त्यही घरमा डेरा बस्दै आएकी महिला पछिल्लो एक वर्षदेखि ती भारतीय नागरिकसँग प्रेम सम्बन्धमा थिइन्। आमा भारतीय नागरिकसँग प्रेम सम्बन्धमा रहेको थाहा पाएपछि उनका छोराछोरीले भने डेरा छाडेका थिए। उनीहरु पोखरा गएका थिए। छाेराछाेरी हिँडेपछि उनीहरू लिभिङ टुगेदरमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

भारतको दरभंगा जिल्ला बिहार प्रदेश लालबाग थाना घर भएका ४३ वर्षका इकरामुल हक अन्सारी घटनालगत्तै फरार भएका थिए। उनलाई काठमाडौं प्रहरी परिसरले हत्या आरोपमा पक्राउ गरेर सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार उनले महिलाको हत्या गरेको स्वीकार गरेका छन्। आफूसँग सम्बन्धमा रहेकी महिलाले अरु पनि पुरुषलाई कोठामा ल्याएको थाहा पाएपछि हत्या गरेको उनले बताएका छन्।

घटनाको दिन रक्सी खाएर फर्किएका थिए। त्यसक्रममा उनीहरूको झगडा भएको थियो। तर राति झ्यालमा लगाउने आग्लोले हानेर उनले महिलाको हत्या गरेका थिए।

हत्या गरेर शव खाटमुनी फालिदिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार घटना लगतै उनी बल्खु पुगेर टाटासुमो चढेर वीरगञ्ज पुगे। रक्सौल नाकाबाट भारत भागेका थिए।

तर उनी दुई महिना भारत बसेर पुनः नेपाल फर्किए। नेपाल फर्किएपछि पनि उनी कालीमाटीमा गार्मेन्ट उद्योगमा काम गर्दै आएका थिए। तर पहिलेको डेरामा फर्किएनन्।

प्रहरीले भने सुरुमै उनले हत्या गरेको आशंकामा खोजी गरिरहेको थियो। हत्या भएको इकीन मिति पुष्टि भइनसकेको तर शव हेर्दा तीन महिनाअघि नै हत्या भएको अनुमान प्रहरीको छ।