बैशाख १६, २०८१ आईतबार

श्रीमतीलाई प्रहार गरेको चक्कु राेक्दा दुई प्रहरी घाइते, चक्कुहान्ने फरार



काठमाडौं । दार्चुलामा एक महिलालाई चक्कु प्रहारबाट जोगाउन खोज्दा दुई जना प्रहरी घाइते भएका छन्। दार्चुलाको महाकाली नगरपालिका-१ दहका २३ वर्षीय उमेश कुँवरले श्रीमतीमाथि प्रहार गरेकाे चक्कु लागेका २ जना प्रहरी घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी इन्स्पेक्टर ज्ञानेन्द्र बहादुर सिंहका अनुसार उमेशले दैनिक श्रीमतीमाथि कुटपिट गर्नेबारे पीडित महिलाकी दिदीले प्रहरीलाई खबर गरिदिएकी थिइन्।

उजुरीपछि आज बिहान साढे १० बजेतिर प्रहरी हवलदार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्ना उमेशको घर पुगेका थिए।

घरमा प्रहरी पुगेपछि आक्रोशित भएका उमेशले श्रीमतीमाथि चक्कु प्रहारको प्रयास गरेका थिए। त्यहाँ पुगेका प्रहरीले छेक्ने क्रममा उनीहरूमाथि नै चक्कु प्रहार भएको इन्स्पेक्टर सिंहले बताए।

‘पुलिस बोलाएर ल्याउनी भनेर उल्टै श्रीमतीलाई कुटपिट गरी चक्कु हान्न खोजेपछि त्यहाँ पुगेका दुई प्रहरीले जोगाउने क्रममा उहाँहरूलाई लागेको हो,’ इन्स्पेक्टर सिंहले भने।

एक प्रहरीको ढाडमा र एकजनाको घाँटीमा चक्कु लागेको छ। प्रहरीमाथि नै चक्कु प्रहार गरी उमेश फरार भएका थिए।

घाइते प्रहरीहरूलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको र अहिले उनीहरू खतरामुक्त रहेको इन्स्पेक्टर सिंहले जानकारी दिए।

चक्कु हानेर फरार भएका उमेशको खोजी भइरहेको पनि इन्स्पेक्टर सिंहले दियोपोस्टलाई जानकारी दिए।