बैशाख ९, २०८१ आईतबार

सुत्केरीले मासु बाहेक अरु के के खाने ? यी ७ खानेकुरा



सुत्केरीलाई के खुवाउने ? नेपाली समाजमा यसको तयारी रेसेपी छ, ‘लोकल कुखुराको झोल ।’ ‘प्रशस्तै ज्वानो मिसाएर बनाइएको तात्तातो कुखुराको झोल खान दिइयो भने सुत्केरी चाँडै तंग्रिन्छन् । शरीरको दुखाइ कम हुन्छ । घाउ छिट्टै निको हुन्छ । बच्चालाई दूध पनि राम्ररी आउँछ,’ जान्नेबुझ्नेहरु यसै भन्छन् ।

त्यही कारण सुत्केरीलाई मनग्य माछामासु खुवाउने गरिन्छ । मासुबाहेक अरु के के खाने भन्ने धेरैलाई जानकारी नहुन सक्छ । अर्कोकुरा  कतिपय सुत्केरी माछामासु नखाने हुन्छन् । अर्थात् उनीहरु शाकाहारी हुन्छन् । शाकाहारीले सुत्केरी अवस्थामा के खाने त ?

किनभने यतिबेला दुखाइ कम गर्न, घाउ निको बनाउन शरीरलाई प्रोटिनको जरुरी हुन्छ । प्रोटिनको मूल स्रोत भनेकै माछामासु हुन् । वनस्पतिजन्य खानेकुरामा त्यस्तो सम्पूर्ण प्रोटिन पाइँदैन, जति माछामासुमा पाइन्छ ।

त्यसो भए शाकाहारीले सुत्केरी अवस्थामा कस्तो खानेकुरा खानुपर्छ, जसले शरीरको दुखाइ कम गर्नुका साथै घाउ पनि चाँडै निको हुन्छ ?

म स्वयं जन्मजात शाकाहारी हुँ । सुत्केरी अवस्थामा शाकाहारीले मासुको विकल्पमा खाने केही खानेकुरा छन् । त्यस्ता खानेकुरा स्वादिलो हुनका साथसाथै शरीरका लागि सम्पूर्ण पोषण पनि हुन्छ । खासगरी यसबेला प्रोटिनयुक्त खानेकुरामा जोड दिनुपर्छ । प्रोटिनका लागि दूधजन्य परिकारदेखि च्याउ, गेडागुडी जस्ता थुप्रै खानेकुरा सहजै पाइन्छ पनि ।

दूधमा सेवाई र ड्राइफ्रुट्स राखेर बनाइएको परिकार

प्राय: अहिले किराना पसलतिर सेवाई सजिलै पाइन्छ । दूधलाई राम्ररी उमालेर सेवाई पकाउनुपर्छ । यसलाई खीर जसरी बिस्तारै पकाउनुपर्ने हुन्छ । त्यसमा सबै किसिमको ड्राइफ्रुट्स मिसाउनुपर्छ । काजु, पास्ता, किसमिस, नरिवल सबैलाई मसिनो बनाएर मिसाएपछि यसको स्वाद दोब्बर बढ्छ । यसरी बनाइएको खानेकुरा सुत्केरीका लागि एकदमै उपयुक्त हुन्छ ।

यसले जीउ दुखाइ ठीक हुने, घाउ चाँडै निको हुने त छँदैछ, बच्चाका लागि दूध पनि प्रशस्तै आउँछ ।

घिउ र ज्वानोमा चामलको पीठोको जाउलो

सुत्केरीमा ज्वानो एकदमै ठूलो औषधि हो । घिउमा ज्वानो झानेर त्यसमाथि चामलको पीठो मिसाउनुपर्छ । यसलाई पानी हालेर जाउलो बनाउन सकिन्छ । सुत्केरी भएको बेला यो खानेकुराले शरीरलाई धेरै फाइदा गर्छ । यस्तो खानाले तागत लाग्छ र कमजोरी महसुस हुन दिंदैन ।

ज्वानोमा झानेको कोदोको झोल

कोदोमा प्रोटिन, चिल्लो पदार्थ तथा रेसादार वस्तु पाइन्छ । यो क्याल्सियमको पनि राम्रो स्रोत हो । कोदोलाई खोले बनाएर, रोटी बनाए, ढिंडो बनाएर जसरी पनि खान सकिन्छ । सुत्केरी भएको बेला चाहिं ज्वानोले झानेर बनाएको कोदोको झोल एकदमै उपयोगी हुन्छ ।

गेडागुडीको झोलमा कुरिलो

गेडागुडी पनि प्रोटिनको राम्रो स्रोत हो । खासगरी सबै किसिमको गेडागुडी, जस्तो सिमी, चना, मटर, केराउ, राजमा मिसाइएको अर्थात् क्वाँटी जस्तै गेडागुडी राम्ररी पकाउनुपर्छ । त्यसमा कुरिलो पनि मिसाउनु बढी उपयुक्त हुन्छ ।

मुसुरो र रहरको दाल

मासु नखाने सुत्केरीले प्रशस्त मात्रामा दाल खानुपर्छ । हाम्रो समाजमा यो दाल नखानु, त्यो नखानु भन्ने छ । तर सबै दाल खान मिल्छ । धेरै थरी दाललाई मिसाएर पकाउनुपर्छ । त्यसबाहेक मुसुरो र रहर मिसाएर पकाएको दाल पनि सुत्केरीको लागि एकदमै राम्रो हुन्छ ।

तोफु र च्याउ

तोफु भटमासबाट बनेको हो । भटमासको झोललाई फटाएर, जमाएर तोफु बनाइन्छ । यो प्रोटिनको राम्रो स्रोत हो । माछामासु नखानेले टोफु खानु जरुरी हुन्छ । उत्तिकै स्वादिलो पनि हुन्छ ।

तोफुमा च्याउ मिसाएमा यसको स्वाद र गुण दुवै बढ्छ । च्याउ पनि प्रोटिनको स्रोत हो ।

मेथीको साग

सुत्केरी भएको बेला फाइबरयुक्त खानेकुरा पनि जरुरी हुन्छ । यसले पेट सफा गर्नुका साथै रोगप्रतिरोधी क्षमता पनि बढाउँछ । त्यसैले फाइबरका लागि सागपात, फलफूल खानुपर्छ । सागपातमा पनि मेथीको साग एकदमै राम्रो हुन्छ ।