बैशाख १७, २०८१ सोमबार

पुरुषलाई ब्ल्याकमेलिङ गर्दै पैसा असुल्ने युवतीलाई ६ महिना कैद, ७ लाख बिगो भराउने फैसला



काठमाडौं । काठमाडौंँ जिल्ला अदालतका सूचना अधिकारी सिपी पन्थीका अनुसार अदालतले आपराधिक लाभ लिने कार्यमा संलग्न युवती देवी थापालाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको समेत फैसला भएको छ । थापाबाट पीडितलाई ७ लाख बिगो भराउने फैसलासमेत भएको छ ।

अर्का प्रतिवादी सुदर्शन सापकोटालाई ७ दिन कैद र १ हजार रुपैयाँ जरिवाना तथा पीडितलाई २ लाख बिगो भराउने फैसला भएको हो । काठमाडौं जिल्ला अदालतमा २०७८ मंसिर ६ गते दर्ता भएको आपराधिक लाभ (हनी ट्रयाप)को मुद्दामा अदालतले २ वर्षपछि फैसला सुनाएको हो ।

सुनकोशी गाउँपालिका १ बलखु, ओखलढुंगा माइती भएकी देवी थापालाई यसअघि काठमाडौं जिल्ला अदालतले ३ लाख ५० हजार रुपैयाँ धरौटी लिई तारेखमा राख्न आदेश दिएको थियो । थापाले धरौटी बुझाएपनि अन्य मुद्दामा दोषी ठहर भएपनि उनी जेलमै थिइन् ।

एक जुनियर प्रहरी अधिककृतलाई हनी ट्रयापमा पारी १७ लाख रकम असुल गरेपछि देवी थापा र सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा थापा २०७८ कात्तिक ९ गते नक्सालबाट पक्राउ परेकी थिइन् ।

हनी ट्रयापमा पारी विभिन्न पुरुषसँग आर्थिक लाभ लिएकोबारे रातोपाटीले समाचार प्रकाशन गरेको थियो । थापाले सिन्धुलीका एक ठेकेदारसँग ४५ लाख, प्रहरीका सईसँग १७ लाख, सहकारीमा काम गर्ने एक युवकसँग १३ लाख, ओखलढुङ्गाकै एक युवकसँग २ लाख २१ हजार रुपैयाँ लिएकी थिइन् ।

रकम लिई फिर्ता माग्दा देवी थापाले दिपेन्द्र थापाविरुद्ध काठमाडौं जिल्ला अदालतमै बलात्कारको मुद्दासमेत दिएकी थिइन् । सो मुद्दामा दीपेन्द्र थापाले सफाइ पाएका थिए ।