बैशाख १६, २०८१ आईतबार

‘अफगानिस्तानमा महिलालाई विवाह गर्न वा जागिर गुमाउन चेतावनी’



संयुक्त राष्ट्र सङ्घले अफगानिस्तानको तालिबान सरकारले अविवाहित महिलालाई धेरै तनाव दिन थालेको जनाएको छ ।

तालिबानले अविवाहित महिला वा पुरुष संरक्षक नभएकाहरूलाई काम गर्न प्रतिबन्ध लगाएको संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसका मुख्य प्रवक्ता स्टेफेन डुजारिकले बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

गएको महिनाको शुरुमा तालिबान अधिकारीहरूले अविवाहित महिला कर्मचारीलाई विवाह गर्न वा आफ्नो जागिर गुमाउन चेतावनी दिएका खबरमा उल्लेख छ । राष्ट्र सङ्घका अनुसार महिलाको काम गर्ने अधिकार, शिक्षा र आन्दोलनको स्वतन्त्रतामा प्रतिबन्धहरू बढ्दै गएका छन् । तालिबानले भित्रभित्रै महिलालाई कठोर सजाय दिइरहेको छ ।

गएको अक्टोबरमा सरकारले पुरुषको साथविना काम गरेको भन्दै ३ जना महिला स्वास्थ्यकर्मीलाई हिरासतमा लिएको थियो ।