बैशाख १५, २०८१ शनिबार

यी हुन् नेपाल सरकारकी कान्छी सचिव, एकपछि अर्काे इतिहास रच्दै विशिष्ट श्रेणीमा



काठमाडाैं । यो वर्ष निजामती सेवामा इतिहासकै रेकर्ड ब्रेक भएको छ। रेकर्ड ब्रेक गर्ने मध्येकी एक हुन् सचिव सरिता दवाडी । सरिता दवाडी नेपाल इन्जिनियर सेवातर्फ सचिव बन्ने दोस्रो महिला हुन्। गत १३ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव सरिता दवाडीलाई सचिवमा बढुवा गरेको थियो। सचिवमा बढुवा हुँदाताका उनको उमेर ४२ वर्षको थियो। नेपाल सरकारकी कान्छी सचिवका रुपमा समेत उनको नाम दर्ज भएको छ।

उनको रेकर्ड कम उमेरमा सचिव हुनेमामात्र छैन । उपसचिवबाट सेवा प्रवेश गरेको १३ वर्षमै तीन तह पार गरेर विशिष्ट श्रेणीमा पुग्नु पनि उत्तिकै अद्भूत छ । २४ चैत ०६६ मा उपसचिवबाट निजामती सेवा छिरेकी उनले १४ वर्ष पुग्न चार महिना बाँकी छँदै सचिवमा फड्को मारिन् । निजामती सेवा प्रवेश गर्न चाहनेको भीड, सेवाभित्रको प्रतिस्पर्धा र विशिष्ट श्रेणीका लागि योग्य हुनु कठिन छ । यो कसरी सम्भव भयो ? दवाडी भन्छिन्, ‘आफ्नै मिहिनेत र परिवारको प्रेरणाले सहयोग पुग्यो ।’

निजामती सेवा प्रवेश गरेपछि उनको पहिलो पोस्टिङ सिँचाइ मन्त्रालयमा भएको थियो। मन्त्रालय अन्तर्गतको सिँचाइ डिभिजन काठमाडौँमा उनले डेढ वर्ष काम गरिन्। खुला प्रतिस्पर्धाबाट उपसचिव भएको तीन वर्षमै उनले सहसचिवको समेत नियुक्ति लिइन्।

सहसचिव भएपछि उनको पहिलो पोस्टिङ सिँचाइ विभाग अन्तर्गतको एसियाली विकास बैंकको सहयोगमा सञ्चालित समुदाय व्यवस्थित सिंचित कृषि क्षेत्र आयोजनामा भयो। त्यहाँ उनले १० महिना काम गरिन्। त्यसपछि उनले पश्चिमाञ्चल क्षेत्रीय सिँचाइ निर्देशनालय, पोखरामा १ वर्ष काम गरिन्।

त्यसपछि सिँचाइ मन्त्रालयमा आएकी उनले त्यहाँ नौ महिना काम गरिन्। उनले जलस्रोत महाशाखा, जलस्रोत तथा अनुसन्धान विकास केन्द्रमा पनि काम गरिन्। करिब ११ वर्ष सहसचिवका रुपमा काम गरेकी उनको सचिवमा बढुवा भएपछि जल तथा उर्जा आयोग सचिवालयमा पोस्टिङ भएको छ। उनी इन्जिनियरिङ सेवाअन्तर्गतका विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाल्ने पहिलो महिला समेत हुन्।

सरकारी सेवामा जानेहरूलाई अवकासपछिको पेन्सन सुविधामा सबैभन्दा बढी चासो हुन्छ । तर, हालकै व्यवस्था अनुसार उनले अवकासपछि पेन्सन पाउनेछैनन् । निजामती सेवा ऐनले विशिष्ट श्रेणीको पदको कार्यावधि पाँच वर्ष किटान गरिदिएको छ । त्यस्तै, निजामती कर्मचारीको उमेरहद ५८ वर्ष तोकिएको छ । कार्यावधि वा उमेरहद जुन पहिला आउँछ त्यसैबाट कर्मचारी सेवानिवृत्त हुन्छन् ।

एकाएक इतिहास रचेकी दवाडीको निजामती सेवामै करिअर बनाउने सपना भने थिएन । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट स्नातकोत्तर गरेकी उनले पढाइ सकेपछि इन्जिनियरिङ संस्थान, थापाथली क्याम्पसमा पाँच वर्ष पढाइन् । त्यहाँ करारमा शिक्षण गरेकी उनले पाँच वर्षसम्म पनि स्थायी नहुने देखेपछि निजामतीतर्फको बाटो समाइन् । पहिलो प्रयासमै सफल भइन् ।

‘निजामती सेवामा आउने मेरो खास योजना थिएन । म क्याम्पस पढाउँदै निजी कामहरू गर्दै थिएँ,’ उनी भन्छिन्, ‘तर, करारमा पढाइरहेकोमा पाँच वर्षसम्म पनि स्थायीका लागि विज्ञापन नखुलेपछि म निजामतीमा जानेबारे सोचें ।’ निजामती सेवामा उपसचिव ९इन्जिनियरिङ० तर्फ विज्ञापन खुलेको देखेपछि प्रयास गरेकी उनी पहिलो प्रयासमै सफल भइन् । लोकसेवाको परीक्षा पास गरेर २४ चैत ०६६ मा उपसचिवको नियुक्ति लिइन् ।

निजामती सेवा प्रवेश गरेपछि उनको पहिलो पोस्टिङ सिंचाईं मन्त्रालयमा भयो । मन्त्रालय अन्तर्गतको सिंचाईं डिभिजन काठमाडौंमा डेढ वर्ष काम गरिन् । त्यहाँ कार्यरत् छँदै उनले सहसचिवको परीक्षाका लागि तयारी गरिन् । पास पनि गरिन् । २४ फागुन ०६९ मा उनले लोक सेवा परीक्षा पास गरेर नियुक्तिसमेत लिइन् । खुला प्रतिस्पर्धाबाट उपसचिव भएको तीन वर्षमै उनी सहसचिवकोसमेत नियुक्ति लिइन् ।

चितवन स्थायी ठेगाना भएकी दवाडी यो सफलतालाई आफ्नो मिहिनेत र परिवारको सहयोगबाट सम्भव भएको बताउँछिन् । ‘पहिला त म गर्छु र सक्नु भन्ने आँट र प्रतिवद्धता नै चाहिन्छ,’ उनी भन्छिन्, ‘त्यही प्रतिवद्धतामा परिवारसमेतको भरपूर सहयोग मिलेपछि मलाई यहाँसम्म पुग्न सहज भयो ।’

दवाडीको बुवा र श्रीमान पनि इन्जिनियर हुन् । उनको बुवा खानेपानी विभागको इन्जिनियरबाट सेवानिवृत्त भएका हुन् । उनका पती इन्जिनियर सुरज लामिछाने अहिले पनि पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहायक डिन हुन् । ‘उहाँहरूको प्रेरणाले पनि मलाई अगाडि बढ्न प्रेरित ग¥यो,’ उनी भन्छिन् ।

उनीसहित अहिले नेपालमा ९ जना महिला नेपाल सरकारको विशिष्ट श्रेणी अर्थात् सचिव पदमा कार्यरत छन्। एकैचोटि यतिधेरै महिला सचिव भएको इतिहासमै पहिलो पटक हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रेकर्ड अनुसार विभिन्न सेवामा विशिष्ट श्रेणीको ७४ दरबन्दीमा पहिलो पटक १२ प्रतिशत महिला पुग्न सफल भएका छन्।

अहिले निजामती सेवामा ८५ हजार ५ सय १२ जना कर्मचारी रहेको निजामती किताबखानाको तथ्यांक छ। जसमध्ये २४ हजार १ सय ४३ महिला कर्मचारी छन्। अर्थात् निजामती सेवामा महिलाले २८ दशमलव २३ प्रतिशत हिस्सा ओगटेका छन्।

आर्थिक वर्ष २०६७र६८ मा ७७ हजार ८ सय ४८ जना निजामती कर्मचारी रहेकोमा १० हजार ७ सय ७३ जना अर्थात् १३ दशमलव ८३ प्रतिशत महिला थिए। अहिले यो संख्या दुई गुणाले बढेको छ। अहिले ७ सय ५३ स्थानीय तहमध्ये १४ वटामा प्रमुख प्रशासकीय अधिकृत महिला छन्। ७७ मध्ये ८ वटा जिल्लामा प्रमुख जिल्ला अधिकारी महिला छन्।

निजामती सेवामा ५८ जना सहसचिव र ३ सय ६५ उपसचिव महिला छन्। शाखा अधिकृत, नायब सुब्बा र खरिदारमा पनि महिलाको उपस्थिति उल्लेख्य छ। न्याय सेवा तर्फपनि महिला उपस्थिति बढ्दो छ। सर्वोच्चमा न्यायाधीश र रजिस्ट्रारमा महिला एकएक जना मात्र भए पनि उच्च अदालतमा १८ र जिल्लामा सात जना न्यायाधीश महिला छन्।