बैशाख १५, २०८१ शनिबार

लिङदेनलाइ रेखा थापाको जवाफ ‘देशको माया हुनेले सन्तान अमेरिकामा किन राखेको ?’



काठमाडौं । बच्चा जन्माउन अमेरिका पुगेको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरेको टिप्पणीले अभिनेत्री रेखा थापा आक्रोशित बनेकी छन् । लिङ्देनले शनिबार देशको दुरावस्था चित्रण क्रममा ‘एक कलाकार आफ्नो सन्तानलाई नेपाली बनाउन नचाहेर अमेरिका पुगेको’ भनेपछि यसलाई आफूप्रतिको कटाक्षका रूपमा बुझेर रेखा आक्रोशित बनेकी हुन् ।

राप्रपाकी केन्द्रीय कार्यसम्पादन समिति सदस्य समेत रहेकी थापाले अमेरिकाबाटै सामाजिक सञ्जालमार्फत आफ्नो पार्टी अध्यक्ष लिङ्देनलाई जवाफ फर्काएकी छन् ।

उनले फेसबुकमा लिङदेनको नाम उल्लेख नगरी लेखेकी छन्, ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो १ अमेरिकामा किन राखेको ?’

राप्रपा अध्यक्ष लिङदेनकी छोरी उच्च शिक्षा अध्ययनका लागि एक वर्षदेखि अमेरिका रहेकी छन् । लिङदेनका दुई छोरा नेपालमै अध्ययनरत छन् ।

अभिनेत्री थापा पहिलो सन्तान जन्माउन केही अगाडि अमेरिका पुगेकी हुन् । अमेरिकामा उनले ‘बेबी सावर’ समेत गरेकी छन् । जसको भिडियो तथा तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो ।

रेखाले पार्टीलाई जानकारी नदिई अमेरिका गएको तथा अहिले अध्यक्षविरूद्ध गरेको टिप्पणीलाई गम्भीर रूपमा लिइने पार्टीका एक नेताले बताए । थापा पार्टीको महाधिवेशनमा लिङदेनकै प्यानलबाट महामन्त्रीमा उठेर पराजित बनेकी थिइन् ।

याे पनि पढ्नुहाेस् ‍: ‘सन्तान जन्मेपछि नेपाली नहोस् भन्ने चाहनाले बामदेव बुहारी सुत्केरी गराउन, रेखा बच्चा जन्माउन अमेरिका’