बैशाख ९, २०८१ आईतबार

भारतीय दुतावासको सहयोगमा गुल्मीमा पहिलोपटक हेमोडायलाइसिस सेवा



गुल्मी । भारतीय दुतावासको सहयोगमा गुल्मीमा पहिलोपटक हेमोडायलिसिस सेवा शुरु भएको छ । दुतावासले गुल्मी जिल्ला अस्पतालका लागि ५ वटा डायलाइसिस मेसिन उपलब्ध गराएपछि जिल्लामै पहिलोपटक हेमोडायलाइसिस सेवा शुरु भएको हो ।

दुतावासले संघीय सरकारमार्फत ७० लाख रुपैयाँ बराबरको ५ वडा डायलाइसिस मेसिन उपलब्ध गराएको अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले बताए । मेसिन जडान र अन्य उपकरणका लागि अस्पतालले १२ लाख रुपैयाँ खर्च गरेको छ ।

राष्ट्रिय स्वास्थ्य तालिमकेन्द्रले डक्टर र स्टाफनर्सलाई तालिम दिएको छ । ‘हाल एक जना मेडिकल अधिकृत र एकजना स्टार्फ नर्स तालिम लिएर आएपछि सेवा शुरु गरिएको छ भने दुईजनाले तालिम लिईरहनुभएको छ’, उनले भने, ‘त्यसैले जनशक्तिको सिमितताको कारण हाललाई एकसिफ्टमात्र सेवा सञ्चालन गरिएको छ ।’

अस्पतालका अनुसार ५ मेसिनमध्ये २ वटा ब्याकअप राख्ने र ३ वटा मेसिनबाट सेवा दिने गरिएको छ । गुल्मी अस्पतालबाट डायलाइसिस सेवा लिनका लागि १६ जना सम्पले सम्पर्क गरेको भएपनि हाल जम्मा ४ जनाले मात्र सेवा लिन शुरु गरेका छन् । थप जनशक्ति र मेसिनको व्यवस्था भएमा २ सिफ्ट नै सेवा दिन सकिने अस्पतालले जनाएको छ ।

‘प्रदेश जनस्वास्थ्य निर्देशनालयले करारमा ३ जना स्टाफनर्स र २ जना कार्यालय सहयोगीको व्यवस्थाका लागि विज्ञापन खोलेको छ, प्रदेशबाट थप मेसिन पनि दिने भन्ने आस्वासन आएको छ’ उनले भने, ‘थप मेसिन र जनशक्तिको व्यवस्थापन भएमा दुईसिफ्ट नै सेवा दिन सकिन्छ ।’

यसअघि बुटवल काठमाडौं लगायतका जिल्लाहरुमा पुगेर सेवा लिँदा धेरै खर्च हुने गरेकोमा अब जिल्लामै डायलाइसिस सेवा सञ्चालन भएपछि कम खर्चमा सेवा लिन सकिने सरोकारवालाहरुले बताएका छन् ।

दुई सिफ्टमै सेवा सञ्चालन गर्न जनशक्तिकै लागि मात्रै वार्षिक ४२ लाख आवस्यक पर्ने अस्पतालले जनाएको छ । त्यसबाहेक औषधी उपकरणको समेत खर्च जोड्दा लाखौं रकम व्यवस्थापन गरेर सेवालाई निरन्तरता दिन चुनौतीपूर्ण रहेकोले आवस्यक जनशक्तिको लागि प्रदेश वा संघीय सरकारबाट सहयोग हुनुपर्ने अस्पतालले जनाएको छ ।

एकसातादेखि सेवा शुरू भएपछि गत शनिबार लुम्बिनी प्रदेशमा स्वास्थ्य मन्त्री राजु खनालले औपचारिक उद्धाटन गरे । मन्त्री खनालले गुल्मी अस्पतालमै हेमोडायलाईसिस सेवा सुरु हुनुले स्वास्थ्यमा थप टेवा पुगेको बताउनुभयो । ‘बिरामीलाई सहज सेवा दिन भौतिक संरचनालाई सम्पन्न गर्ने, बिज्ञ टिम बनाएर जिल्ला जिल्लामा समस्या र चुनौतीको अध्ययन गर्ने योजना बनाएका छौं ‘, उनले भने ।