बैशाख १५, २०८१ शनिबार

युरोपियन लिगतिर मोडियो सावित्रा भण्डारी (साम्बा)को खेलयात्रा



काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा एपीएफ क्लबकी स्टार फरवार्ड सावित्रा भण्डारी (साम्बा)को खेल करिअर युरोपतिर मोडिएको छ । अब फ्रान्सको शीर्ष डिभिजनको क्लब ईए गुइङ्ग्याम्पमा जोडिएसँगै साम्बाको खेलयात्रा युरोपतिर मोडिएको हो ।

त्यसो त युरोपियन लिग खेल्ने सपना पनि रहेको बताउँछिन् उनी। ‘त्यसमा इँट्टा थप्ने काम फ्रान्सेली क्लब गुइङ्ग्याम्पले गरिदिएको छ’, उनले भनिन्।

साम्बा सन् २०२४–२५ सम्मका लागि फ्रान्सेली क्लबमा आबद्ध भएकी हुन्। उनले फ्रान्समा अब डिभिजन १ अर्किमा च्याम्पियनसिप ईए गुइङ्ग्याम्पबाट खेल्नेछिन्।

घरेलु र भारतीय महिला लिगमा तहल्का मच्चाएकी साम्बाले राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलको कीर्तिमान नै बनाएकी छिन्। उनको यो कीर्तिमान अरुबाट सहजै तोड्न कठिनप्रायः छ।

यही सिजन इजरायलको हापोयल रानानाबाट व्यावसायिक लिगबाट उनले युरोपियन लिगमा पाइला टेकेकी थिइन्। इजरायल एसियाली देश भए पनि यूईएफएमा आबद्ध भएकाले फुटबल भने युरोपबाट खेल्ने गर्छ।

इजरायलमा रहँदा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेकी साम्बा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणले सबै लिग स्थगित भएपछि स्वदेश फर्किएकी थिइन्।

हापोयलसँगको सम्झौता नसकिँदै जानलागेकी उनको इजरायली क्लबलाई दिनुपर्ने क्षतिपूर्ति रकम अब गुइङ्ग्याम्पले नै तिरेर अनुबन्ध गरेको हो।

सन् २०१८–१९ मा भारतीय महिला लिग क्लब सेथु एफसीमा आबद्ध भएसँगै साम्बाको व्यावसायिक फुटबलले उचाइ लिन सुरु गरेको हो।

लिगका ७ खेलमा १५ गोल गर्दै साम्बाले क्लबलाई पहिलो सहभागितामा नै च्याम्पियन बनाउन मद्दत गरेकी थिइन्। २०१९–२० मा साम्बा सेथु क्लब छाड्दै गोकुलम केरला एफसीमा आबद्ध भइन्। आई लिगको दोस्रो सिजनमा नै साम्बाले दुई फरक क्लबलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलिन्। लिगमा १६ गोल गरेकी साम्बा लिगकै सर्वाधिक गोलकर्ता बनेकी थिइन्।

त्यसपछिको सिजन भने घुँडाको चोटका कारण गुमाउन पुगिन्। यता घरेलु महिला लिगमा नेपाल पुलिस क्लबसँग खेल्ने क्रममा साम्बाको घुँडामा चोट लागेपछि उनी १ वर्ष मैदानबाहिर रहिन्।

सन् २०२२–२३ मा गोकुलममा नै आबद्ध भएकी साम्बाले २९ गोल गर्दा महिला लिग इतिहासमा नै कीर्तिमान कायम गरेकी थिइन्। लिगको सर्वाधिक गोलकर्ता बन्ने क्रममा उनले बालादेवीको नाममा रहेको कीर्तिमान समेत तोडिन्।

गोकुलमले उपाधिमाथि ह्याट्रिक गर्दा साम्बा भारतीय महिला लिगकै सर्वाधिक गोलकर्ता बनेकी थिइन्। ३ सिजन आई लिग खेलेकी साम्बाले ५९ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन्। बाला देवीले ४ सिजनमा ४८ गोल गर्दै सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा छिन्।

भारतीय लिगमा तहल्का मच्चाएपछि साम्बाको खेल करियर युरोपतिर मोडियो। इजरायलको हापोयल रानानामा आबद्ध भएकी उनले त्यहाँ पूरै सिजन बिताउन पाइनन्।

इजरायल प्यालेस्टाइन युद्धका कारण उनी बीचमै लिग छाडेर स्वदेश फर्किएकी थिइन्। त्यसपछि भने उनको करिअरले अर्को मोड लिँदै फ्रान्सतिर मोडिएको छ।