बैशाख १५, २०८१ शनिबार

सन्तानलाई खुसी किन्न आमाको गाई



गुल्मी। घरमा कमाउने श्रीमान् नभएपछि हुर्केका छोराछोरीलाई पढाउन नसकेर बाध्यताले बिहे गरिदिने वा विदेशतिर पठाउने समस्या हाम्रो समाजमा धेरै छ । तर, तरिका मिलाउने हो भने सानोतिनो लगानीमा पशुपालनबाट जीवन धान्न र सन्तान पढाउन सकिन्छ भनेर देखाउनुभएकाे छ सत्यवती ६ की सरला ढकाल । गाउँपालिकाले दिएको जम्मा २० हजार अनुदानले गाईपालेर छोराछोरी पढाउने ढकालको काम पालिकामै उदाहरणीय छ ।

करिब १२ वर्षअघि श्रीमान् बितेपछि घर धान्ने र छोराछोरी पढाउने जिम्मेवारी सरलाको एकल काँधमा आयो । सुरुमा भैंसी पालेर थोरै घिउ बिक्री गर्न थाल्नुभयो । तर त्यसबाट खर्च चलाउन पनि धौ–धौ थियो । २०७५ मा गाउँपालिकाले ल्याएको गाईभैंसी पाल्नेलाई अनुदानको कार्यक्रम पिपलनेटामा पनि पर्‍याे। त्यही कार्यक्रम अन्तर्गत २० हजार अनुदान पाएपछि उहाँले गाईपालनबाट राम्रोसँग परिवार चलाउनुभएको छ ।

‘केटाकेटी सानासाना छँदै बुढा बित्नुभयो । कति दुःख भयो पढाउन । ५/१० हजार ऋण नलिएको घर थिएन’, उहाँ भन्नुहुन्छ, ‘यो गाई ल्याएपछि त धेरै सहज भयो पढाउन । यीनै गाईको दुध बेचेर पुरानो सबै ऋण पनि तिरेँ, मैले त जीवन वीमा पनि गरेकी छु । मेरो पनि गरेकी छु, बाबुको पनि गरेकी छु ।’

गोठमा २ वटा गाई र २ बाच्छी । त्यसमध्येको एउटा गाई २०७५ सालमा र अर्को २ वर्ष अघि किनेको हो । पहिलो पटक पालिकाले जम्मा २० हजार अनुदान दिएको हो त्यसमा ३० हजार उहाँले आफै थप्नुभएको हो । दोस्रोको लागि पालिकाले २५ हजार अनुदान र उहाँको ३५ हजार आफ्नै लगानी छ । त्यही गाईको दुधले घरखर्च चलायो, छोराछोरी पढायो र जीवन सहज बनायो । ‘पहिला २ वटा भैंसी थिए तर भैंसीको त दुध २ माना पच्चिस मुठी भन्दा धेरै नहुने । थोरै घिउ संगाल्यो, नाता गोता सम्झियो, आफूलाई त केही पनि छैन’, उहाँ भन्नुहुन्छ, ‘त्यसपछि गाईबाट पो हुँदो रहेछ भनेर २ वटा भैंसी बेचेँ र एउटा गाई ल्याएँ । अर्को गाई ल्याएको पनि अहिले जेठमा २ वर्ष हुन्छ । मैले महिनाको २७ हजार सम्मको दुध बेचेँ ।’

उहाँ लगायतका गाउँलेको आफ्नै पहलमा जोहाङको पिपलनेटामा डेरी सञ्चालनमा छ । गाउँभरीका किसानले उक्त डेरीमा दुध बेच्छन् । डेरीमा संकलन भएको दैनिक १ सय २० लिटर दुध नजिकैको खैरेनी बजामा बिक्री हुन्छ । गाउँमै आयआर्जन भएपछि गाउँलेहरु खुसी छन् । डेरीलाई व्यवस्थित गर्न र आयआर्जनको बाटो हराउन नदिन डेरी व्यवस्थापनका लागि सरला पनि सदस्य छिन् । सक्नेले गाईभैंसी थपेका छन्, नसक्नेले जति सकिन्छ त्यती दुध बेचेर घरखर्च चलाउँछन् । त्यसमध्येको उदाहरणीय पात्र हुनुहुन्छ सरला ।

‘पहिला म धेरै अगाडी थिएँ । २०७६ सालमा साना किसानले सम्मान पनि गरेको थियो । अहिले त विदेशतिर जान छाडेर गाई पाल्नेहरु पनि हुनुहुन्छ, धेरै दुध बेच्ने पनि हुनुहुन्छ, उहाँहरुले मलाई जित्नुभयो’, सरला भन्नुहुन्छ, ‘मलाई पनि कसैसँग ४ पैसा ल्याओ भन्न पर्दैन । दिदीबहिनीहरुसँग घुम्न जानको लागि पनि ल्याओ न म पनि जान्छु तिमीहरुसँग भन्नु परेको छैन । दुःख गरेको पैसा आउँछ । म त यसैमा धेरै खुसी छु ।’ पुर्ख्याैली सम्पत्ति अलि कम । छुट्टीभिन्न हुँदा उहाँहरुको भागमा एक हलको खेतमात्र परेको थियो । त्यसमा केही मोटरबाटोले खायो, कोही माथीबाट पहिरो गयो । त्यसमा घाँस लगाउनुभएको छ । अरु दुई हलको जग्गा भाडामा लिएर त्यसैमा खेती गर्नुहुन्छ । छेउछाउ घाँस पनि लगाउनुभएको छ । बीचमा खेतीपाती हुन्छ । भन्नेहरु त एकदुईवटा गाई पालेर के नै हुन्छ र पनि भन्छन्, तर त्यही २ वटा गाईको दुध बेचेर सरलाको जीवन खुसीले चलेको छ । ‘राम्रोसँग पाल्ने हो भने दुईवटा गाईपनि धेरै रहेछ, यसैबाट दुइटी छोरी र दुइटा छोरालाई पढाएँ । सबैले १२ पास गरे । कान्छोले ब्याचलर सेकेण्ड इयर पढ्दै छ’, उहाँ भन्नुहुन्छ, ‘संस्थाहरुमा (सहकारी) बचत पनि गरेकी छु । साना किसानमा, सिद्धार्थ बचतमा, यहाँको दुध डेरी समूहमा पनि छु । डेरीमा पहिला दुई वर्ष त दुदैसय जम्मा गरिन्थ्यो । अहिले ५ सय जम्मा गरिन्छ । मस्तै पैसा जम्मा भएको छ ।’

सहकारीबाट १२ प्रतिशतमा ऋण पाइन्छ । अलि धेरै पैसा चाहियो भने उहाँ यिनै समूहबाट ऋण लिएर चलाउनुहुन्छ । ‘समूहबाट ऋण लिएपछि किस्ता किस्तामा तिर्दा सजिलो पनि भयो’, उहाँ भन्नुहुन्छ, ‘छोरीको विवाहमा मैले १ लाख जति ऋण झिकेकी थिएँ । ब्याज बुझाई राखेकी छु ।’

उमेरले ५० आसपास पुगेकी उहाँ काममा उत्तिकै मिहिनेती र फुर्तिलो हुनुहुन्छ । दुईवर्ष अघि एकघर एकधारा अन्तर्गत गाउँभरी धारा बनाउन सिमेण्टको मसला बनाउने काम पनि गर्नुभयो । दुई महिनामा ७३ हजार कमाउँदा उनलाई निकै खुसी लाग्यो । ‘कामका लागि महिला अनिवार्य रहेछ, तर रजिष्टरमा महिलाको नाम राख्ने, काम पुरुषले गर्ने भनेको सुनेपछि मैले म काम गर्छु भनेर २ महिनासम्म सिमेण्टको मसला बनाएर मिस्त्रीलाई दिने काम गरेँ’, उहाँ भन्नुहुन्छ, ‘दिनको हजार रुप्पेका दरले त्यो बेला ७३ हजार कमाएँ ।’

अहिलेसम्म जेठी बुहारी उनीसँगै छिन्, तर अब तराई झर्ने योजना छ । भाउजु तराई झरेपछि आमालाई एक्लै दुःख हुने देखेर कान्छो छोराले गाई बेच्ने प्रस्ताव गरे । तर छोराको कुराले उहाँको मन भरियो । छोरालाई सम्झाउनुभयो । ‘अझै पनि कति दुःख गर्न खोजेको हो र गाई बेचौं भन्यो । यसको त दुध बेच्ने हो कर कहाँ गाई बेच्ने कुरा गरेको ? अझै तिमीले केही गरेकी छैनौ तिमीलाई पढाउन छ भनेँ’, सरला रुँदै भन्नुहुन्छ, ‘त्यसो भए २ वटा गाई थपौँ, एउटाको दुध बेचेर दाना किनाैं, एउटाको दुधको पैसाले काम गर्ने मान्छे राखौं भनेको छ ।’

तर उहाँ गाई थपेर व्यवस्थित रुपमा पाल्न नसकिने बताउँछिन् । भएका २ वटा माउ गाई र २ वटा बाच्छी पालेर आफूलाई प्रसस्तै पुग्ने उहाँको भनाई छ । ‘दुईवटा गाईमध्ये एउटा ब्याउने छ जेठमा, एउटा दुहुनो छ २ वटा बाच्छी छन्, अब बिजी लगाउने (कृत्रिम गर्भाधान) गर्ने बेला भएको छ’, उहाँ भन्नुहुन्छ, ‘यती भए हामीलाई पुग्छ, एक्लै च–चारवटा गाई भन्दा धेरै त कहाँ सकिन्छ र ? गोठमा झुण्ड्याएर मात्रै भएन । राम्रोसँग पाल्नुप¥यो । स्याहार पुर्‍याउन पनि सकिन्न ।’

कृषि वा पशुपालनका लागि सरकारी अनुदान आयो भने हानथाप गरेर लिने, तर अनुदान पाएपछि व्यवसाय चटक्कै छाड्ने प्रबृत्ति अहिले व्यापक छ । यो नेपालकै ठूलो समस्या हो । तर सानो अनुदानलाई भरपुर सदुपयोग गरेर सन्ततीको भविष्य उज्वल बनाउने उदाहरण दिनु परे सत्यवतीमा धेरैले सरला ढकालको उदाहरण दिन्छन् ।

गाउँभरकी प्रेरणाकी स्रोत सरला अरु महिलालाई पनि हौसला दिँदै भन्नुहुन्छ, ‘अरु दिदीबहिनीलाई पनि बसेर नखाओ, मैले जस्तै केही गरेर देखाओ भन्छु । आत्मनिर्भर बन भन्छु । गाई नै पाल्नु पर्छ भन्ने छैन, अरुहरु पनि त छ नि ।’