बैशाख १५, २०८१ शनिबार

लघुवित्तको ऋणले श्रीमानलाई उद्यमी बनाउने श्रीमती



गुल्मी । जब कुनै व्यक्तिलाई लगातार असफलता मात्र हात लाग्छ तब परिवारको टोकसोले या त घर फिर्नै मान्दैन या त मदिराको कुलत वा डिप्रेसनमा पस्छ । हाम्रो समाजमा यस्ता कैयौं उदाहरण छन् । यसमा महिला पुरुष जो पनि पर्न सक्छ।

तर उन्नत जीवन यापनका लागि गरिएका संघर्षबाट सफलता हात नलागेका श्रीमानलाई उद्यमी बनाउने महिलाहरु पनि यही समाजमा छन् । त्यसको एक उदाहरण हुनुहुन्छ, सत्यवती ७, चोरकाटेकी थममाया क्षेत्री । जसलाई कुखुरा पालन ब्यवसायबाट अहिले सफलता सँगै सन्तुष्टि पनि मिलेको छ ।

थममायाका श्रीमान् भिमबहादुर वैदेशिक रोजगारीमा जान धेरै प्रयास गर्नुभयो । सुरुमा भारत पस्नुभएका उहाँ इपिएस भाषा परीक्षा दिएर दक्षिण कोरिया तथा रोजगारीका लागि साइप्रस जान धेरै मिहिनेत गर्नुभयो । धेरै रकम पनि खर्च भयो । तर सोँचेजस्तो सफलता हात लागेन । धन्य, बुझकी श्रीमती थममायाका कारण अहिले गाउँमै सफल व्यवसायी बन्नुभएको छ । ‘उहाँ पहिला रोजगारीका लागि भारततीर जानुभयो । केही भएन । कोरिया जानका लागि भाषा पढ्नुभयो, नाम निस्केन । साइप्रस जाने भनेर जानुभयो । मेनपारवरले ठगेर फर्केर आउनुभयो । केही नभएपछि मैले नै कुखुरा पालौँ भनेर ऋण धन गरेर सुरु गर्‍यौं, अहिले राम्रौ भएको छ’, थममाया भन्नुहुन्छ, ‘परिवार सँगै छौं, विदेश यहीँ छ ।’

श्रीमानकाे विदेश यात्रा असफल भएपछि उहाँहरुले १० वर्ष अगाडी डेढसय कुखुराका चल्लाबाट व्यवसाय सुरु गर्नुभयाे । ‘उहाँको विदेश जाने योजनामा जहिले अबरोध आएपछि, गाउँमा एउटा कुखुरा फर्म वाला दाजु बुटवलतिर जाने भएकोले हामीले लिउँ न त भनेर बुढालाई भनेँ, तर पैसा त साइप्रस पठाउने भनेर दलालले खाइदिएको थियो’, उहाँले भन्नुभयो, ‘त्यसपछि ससुरा बुबाले केही गर्ने भए गर न त भनेर पचास हजार दिनुभयो, मैले भर्खर सुरु भएको सिवाइसी लघुवित्तमा म सदस्य बनेर ६० हजार ऋण लिएर व्यवसाय सुरु गरियो ।’

चानचुन एकलाख लगानीमा सुरु भएको व्यवसायमा अहिले मासिक डेढदेखि २ लाख आम्दानी हुन्छ । उहाँहरुसँग खोरमा हमेसा ४/५ हजार ब्रोइलर कुखुरा हुन्छन् । गुल्मीकै शान्तिपुर, फोक्सिङ्ग देखि बाग्लुङ्गको बरेङ्ग, बुर्तिबाङ्गसम्म कुखुरा बिक्री हुन्छ । ‘पहिला त कुखुरा थोरै पाल्ने भन्ने भयो । राम्रो भयो भने ठीकै छ नभए अरु गरौंला भन्ने सोँचले सुरु गरियो ।
बिस्तारै राम्रो हुँदै गयो’, उहाँ भन्नुहुन्छ ।

कुखुरापालन त्यति सजिलो व्यवसाय होइन । कुनै रोग आयो भने खोर नै खाली हुने गरि कुखुरा मर्छन । दाना पानी मिलाउनु पर्छ । कुनै सिजनमा कुखुराको भाउ नै आउँदैन । तर कुनैपनि व्यवसायमा सहजै सफलता हात नलाग्ने भएकोले हरेस खान हुन्न र छोडेर भाग्नु पनि हुँदैन भन्ने उहाँको भनाई छ । ‘आजभोली लगानी गर्दावित्तीके सुरुमै आम्दानी खोज्नुहुन्छ, त्यसरी हुँदैन’, उहाँ भन्नुहुन्छ, ‘नआत्तिएर काम गरे पछि एकदिन सफलता आईलाग्छ ।’