बैशाख १६, २०८१ आईतबार

श्रीमानलाई विदेश जान रोकेर तरकारी र नर्सरी



गुल्मी । आफ्ना ४ सन्तान, सासुससुरा अनि आफू पतिपत्नि । सासुससुरा भएको घरमा इष्टभित्र, परपाहुना पनि आइरहने । तर सत्यवती १ अस्लेवाकी रञ्जना पाण्डेको घरमा आम्दानीको बाटो केही नहुँदा घरधान्न धौ–धौ थियो । यो २१ वर्षअघिको कथा हो । त्यो बेला अरुभन्दा पनि छोराछोरी कसरी पढाउने भन्ने ठूलो चिन्ताको विषय थियो ।

‘तर छोराछोरीलाई राम्रै पढाइयो । २ बहिनीले ब्याचलर पढे । अहिले जेठी छोरी शिक्षक, माईली जापान, कान्छी एकाउण्टेन्ट छन्, छोराले पढ्दैछन्’, रञ्जना भन्नुहुन्छ, ‘पहिला जस्तो त्यस्तो गाह्रो छैन । दुःख त्यही हो सासु ससुरा हुनुहुन्न ।
२१ वर्षअघिको परिवार पाल्न त्यो धौ धौ, अहिले सहजतामा परिणत हुनुका पछाडी ठूलो कारण केही छैन । न उहाँहरु विदेश पस्नुभयो, न नोकरी नै गर्नुभयो । न कहिँबाट सहयोग आयो, न चिठ्ठा नै परेको हो । जीवन बदल्ने कारक हो त सबैले खाने तरकारीका बिरुवा ।

‘गाई, भैंसी बाख्रा पालेर पाडापाडी पाठापाठी बेचिम्, केही भएन, अनि दुई सय रुप्पेमा २ सयवटा बन्दाका बेर्ना किनेर लगाईम्, त्यसैले अहिले वर्षमा १० लाख कमाउने बनायो’, उहाँ भन्नुहुन्छ । तरकारी खेती गरेर बेच्ने सोँच बनाएपछि उहाँहरुले सुरुमा बन्दा र त्यसको कमाइले अरु तरकारी लगाउनुभयो । बिस्तारै तरकारीका बिरुवा उत्पादनतर्फ लागे । अहिले तरकारी भन्दा बिरुवा राम्रो बिक्री हुन्छ । ‘पहिला तरकारीबाट सुरु गरियो । थोरै थोरै गर्दा गर्दै बढाउँदै गयौँ । छोरीहरुले पनि विदाको समयमा अनुशासित भएर सहयोग गर्दै गए’, उहाँ भन्नुहुन्छ, ‘पछि तरकारीबाट भन्दा बिरुवा बेचेर राम्रो हुने देखेपछि नर्सरी सुरु गरेर अहिले ताजा तरकारी र बिरुवा बेच्छौं ।’

सुरुमा बन्दा, काउली, ब्रोकाउली, टमाटर लगाएतका बिरुवा लगाएर बिक्री गर्न सुरु गरेका उहाँहरु पहिलो सिजनमा ५/५ रुपैयाँ गोटा बेचेको र पछि अरुले पनि उत्पादन गरेर बिक्री गर्न थालेपछि मूल्य घटाएर बिक्री गर्न थालेको बताउनुहुन्छ ।त्यसो त देशमा एकपटक पुरुषहरु धन कमाउन विदेश जाने लहर आयो । त्यसबेला धेरैले उहाँको श्रीमानलाई विदेश पठाउने सल्लाह पनि दिए । श्रीमान पनि विदेश जान कस्सिनुभयो । तर कान सम्बन्धि समस्या भएको कारण रञ्जना र छोरीहरुले उहाँलाई विदेश जान नदिएर राेक्नुभयो ।

‘उहाँको हल्का कानमा कमजोरी छ । कान कम सुनेपछि समस्या होला, विदेशको ठाउँमा गाडी आएको थाहा नहोला, काम अह्राएको नसुन्नुहोला भन्ने लागेर एउटा रोटी बनाएर आधा आधा खाउँला बरु भनेर जान रोकेँ’, रञ्जना भन्नुहुन्छ, ‘धेरै पैसा कमाउनेहरुले पनि पैसा खान्नन् । अन्नपानी नै खाने हो भनेर, बरु तरकारी खेती गर्ने सल्लाहले नै सुरु गरेका हौं । ’

सुरुमा थोरैथोरै उत्पादन र बिक्री गर्दा गर्दै अहिले १० रोपनी खेतमा तरकारी र नर्सरी छ । त्यसमध्ये ६ रोपनी भाडामा लिएरको जग्गा हो । खेत भाडामा लिँदा मुरिको १ हजारका दरले २५ हजार वार्षिक तिर्नुपर्छ । मौसमी बेमौसमी तरकारी खेती र बिरुवा उत्पादन हुन्छ । अस्लेवा फाँटमा सिँचाईका लागि ठूलो कुलो छ । सबै काम उहाँहरु आफै भ्याउनुहुन्छ । अप्ठ्यारो कामका लागि महिलाले गर्न नसक्ने कामका लागि बाहिरको मान्छे लगाउने उहाँको भनाई छ । न तालिम न कुनै प्राविधिक ज्ञान, गर्दै सिक्दै गरेको व्यवसाय अहिले राम्रो छ । ‘सुरुमा त कहिलेकाहीँ बिरुवा नउम्रने, कहिले औषधी लगाउन नजान्ने, तालिम पनि नहुने । सिक्दै सिक्दै अहिले १० किलो त प्याजको बीउ मात्र लगाउँछौं’, उहाँ भन्नुहुन्छ, ‘एक पटकमा ८० हजारको बीउपलमात्र ल्याउछौं, त्यसमा भिटामिन, औषधी, मल थप्दै जान्छौं ।’

सुरुमा तरकारी उत्पादन गरेर बजार खोज्दै हिँड्नु परेपनि अहिले रुद्रबेणी, खैरेनी, स्याङ्जाको कोटाकोट, लसर्का लगाएतका विभिन्न ठाउँबाट खरिदका लागि आउने उहाँको भनाई छ । ‘पहिला त बोकेर उहीँ पुग्नुपर्थ्याे । अहिले त घरमै आउँछन्’, उहाँ भन्नुहुन्छ, ‘कहाँ बेच्ने भन्ने पनि समस्या छैन, बजार छ बिक्री भएन भने पैंचो पसललाई खबर गर्छौं ।’

आफू साधारण किसान भएकोले सुरु सुरुमा तालिम र जानकारीका लागि साह्रै समस्या भएको अनुभव उहाँहरुसँग छ । तरकारीका लागि कुनै नयाँ जानकारी पाए पनि हुन्थ्यो भन्ने समयमा कतैबाट तालिम नआउने । तालिमहरु आएपनि आफूहरुलाई कसैले खबर नगरेको कारण बाहिरै बसेर सुन्नुपरेको तितो अनुभव सुनाउनुहुन्छ उहाँ । भन्नुहुन्छ, ‘२०६६ सालमा गाउँमै तालिम छ रे भन्ने थाहा पाएँ तर अरु टाठाबाठा, ठूलाबडाले हामीलाई खबर गरेनन् । मैले ढिलो ढिलो थाहा पाएर गएँ । बाहिरै बसेर कस्तो बीउपल, कस्तो रोगमा कस्तो औषधी छर्ने भनेको सुनेर बसेँ ।उहाँहरु खाजा खान निस्केको समयमा म घरतिर हिडेँ । उहाँहरुको सामुन्ने कम हुने होइन भनेर मिहिनेत गरियो । अहिले राम्रै छ ।’ आफ्नै मिहिनेतबाट धेरै राम्रो भएपनि सरकारी निकायको त्यस्तो सहयोग नपाएको उहाँको भनाई छ । उहाँका अनुसार गाउँपालिकाबाट एउटा र कृषि ज्ञानकेन्द्रबाट एउटा टनेल बाहेक अन्य सहयोग अनुदान पाएको छैन । तर व्यवसायमा आफूले ईमान कायम गरेर बाँकी ल्याउने र बिक्री गरेपछि तिर्ने गरेरहेको बताउँनुहुन्छ उहाँ । ‘ऋण त पाइँदैन गाउँमा तर बीउपल लिन जाँदा हामीसँग पैसा छैन, यतिबेलासम्म दिन्छौँ भनेर ल्याउँछौं’, उहाँ भन्नुहुन्छ, ‘पहिला कसैलाई चिनीएन जानिएन । अहिले पसलबाट बीउमल बाँकी ल्याउनसम्म पत्याउँछन् ।’

सुरुमा खेती गर्दा हेला होँचो गरेको भएपनि आफूलाई त्यसैबाट राम्रै प्रगती भएकोमा खुसी लागेको रञ्जना बताउनुहुन्छ । ‘भरीसक त अरुले मिहिनेत गरेको त कसले देखिसहन्छन् र ? दुःख पाएकोमा नै रमाउँछन् । अहिले पनि कति डोको बोकेको हो सँधै भनेर होच्याउँछन् । घृणा गर्छन’, उहाँ भन्नुहुन्छ, ‘अरुले जे भनेपनि नराम्रो काम गर्नु भएन, राम्रो काम गर्न मिहिनेत गर्नको लागि अरुले भनेर केही हुँदैन ।’