जेष्ठ ५, २०८१ शनिबार

सन्तान पाल्न एउटी आमाको दौडधुप : पहिले घर छाडेर विदेश, अहिले विदेश छाडेर गाईपालन



गुल्मी । सँगीहरुको घरमा हेर्दा श्रीमान् श्रीमती मिलेर घर व्यवहार चलाउँछन् । मिलेर कमाउँछन्, सल्लाह गरेर खर्च गर्छन् । अनि भविष्यका लागि बचत गर्छन् । तर सत्यवती ६ बाँसपाटाकी गंगा अर्यालको भाग्यले त्यो मौका दिएन । बिहान बेलुका छाक टार्ने खर्च जुटाउने एक्लै । बालबच्चा पढाउने एक्लै । ऋण, धनका लागि देश विदेश धाउने पनि एक्लै ।

‘अरु त अरु हो, सरसल्लाह गर्ने पनि आफूमाथी कोही नभएपछि गाह्रो हुँदो रहेछ’, उहाँ भन्नुहुन्छ, ‘बच्चा पढाउन केही बचत गर्न सकिएला कि भनेर विदेश गएँ, सासुआमा वित्नुभयो र फर्केँ, अहिले एउटा गाईपालेर दुध बेचेर खर्च चलाएकी छु ।’

त्यही एउटा गाई नै उहाँको जीवन धान्ने र दुई छोराहरु पढाउने आधार हो । दिनमा १७/१८ लिटर दुध बेचेरै उहाँ जीविका चलाउनुभएको छ । विदेश जानुअघि उहाँको गोठमा ४/५ वटा भैंसी थिए, केही बाख्रा । सासुले भान्साको काम सघाउने, आफू भैंसी बाख्राको स्याहार । खर्च राम्रै चलेको पनि थियो । तर छोराहरु हुर्कँदै गए । खर्च बढ्यो । फेरी छोराहरुको उच्च शिक्षा अध्यनको लागि पनि सोँच्नु पर्‍यो । त्यसैले धन कमाएर बचत गर्ने सोँचेर गतवर्ष दुवई जानुभयो । ६०/७० हजार कमाइ थियो । तर सासु वितेपछि छोराहरुको हेरचाह गर्ने कोही भएन र ९ महिनामै घर फर्किनुभयो ।

‘बच्चाहरुलाई राम्रोसँग पढाम्ला, लेखाम्ला भन्ने सोँच भयो, आफूमाथी मान्छे कोही नभएपछि सबै ऋण व्यवहार, पाहुना पाछा आफैमाथी आईपर्‍यो’, उहाँ भन्नुहुन्छ, ‘त्यसपछि विदेशमा गएर केही गर्न सक्छु कि भनेर गएँ, विदेशमा सजिलै छ कि भन्ने हुँदो रहेछ आफू गएर नभोग्दा सम्म त । पैसा कहाँ छ भन्ने त आफू गएर भोगेर आएपछि थाहा भयो पैसा कहाँ रहेछ ।’

गंगाको सानै उमेरमा विवाह भयो । जुनबेला कक्षा ११ मा पढ्दै हुनुहुन्थ्यो । विवाह गरेको २/४ दिनमै श्रीमान्ले आफूसँगै भारत तिर लग्नुभयो । एकवर्ष नपुग्दै छोराको आमा बन्नुभयो । त्यसपछि घर फर्केर सासुआमासँग बस्न थाल्नुभयो । २ वर्षमा अर्को छोरा जन्मिए । त्यसपछि उहाँको पढ्ने लेख्ने समय सन्तान हुर्काउनमै वित्यो । ‘११ पढ्दा पढ्दै सानै उमेरमा विवाह भयो, त्यो पनि कन्या केटासँग होइन, दोस्रो विवाह । पहिला पहिला बाबा ममीले भनेपछि आफ्नो खुसी नचल्ने, हुन्न भन्न नसकिने’, उहाँ भन्नुहुन्छ, ‘अहिले कमाउन गएका श्रीमान् सम्पर्कविहीन भएपछि ३०/३२ वर्षको उमेरमा यती संघर्ष गर्नुपरेको छ ।’

रोजगारीका लागि भारत आउजाउ उहाँका श्रीमानकाे नियमित कर्म थियो । तर एकाएक उहाँ घरको सम्पर्कमा कम आउन थाल्नुभयो । बीचमा ३/४ वर्ष हराएका श्रीमानलाई खोजेर एकपटक घरमापनि ल्याइयो तर अहिले ४ वर्षदेखि फेरी सम्पर्कबिहीन हुनुहुन्छ ।

‘पहिला हराएर फेसबुकमार्फत ४ वर्ष पुगेर ५ वर्ष लाग्दा सम्पर्कमा ल्याइयो, तर केही समय घरमा बसेर हिँडेको मान्छे ४ वर्ष भयो फेरी सम्पर्क बिहीन’, उहाँले भन्नुभयो, ‘स्वास्थ्य समस्या भएर पनि होइन, घरमा सम्बन्ध नराम्रो भएर पनि होइन तर खानेपिने अनि घरको वास्तै नगर्ने ।’ घरको दबाबमा भएको विवाहले नै गंगाको पढाइलेखाइ खोस्यो । अनि २ भाई छोराको स्याहारसुसार सम्म त ठीकै थियो, घरको वास्ता नगरेर सम्पर्कबिहीन हुने श्रीमान कारण आफ्नो जीन्दगी नै दुःखको भुमरीमा परेको उहाँको बुझाई छ । आजभोली आफ्नो भन्दा गंगालाई छोराहरुको पीर बढी लाग्छ ।

‘मलाई दुःख त थियो, थियो, मलाई भन्दा बढी असर बच्चाहरुलाई पर्यो । जमाना अनुसारको लाउन पा’छैनन्, खान पा’छैनन्, पढ्न पा’छैनन्’, उहाँ भन्नुहुन्छ, ‘साथीभाइहरु सँगै हिँड्दा त्यस्तो छैनन् । सबै कुराहरुको कमि छ । मेरो घरको आर्थिक अवस्था यस्तै छ ।’

कुनै व्यवसाय गर्न आर्थिक अवस्था कमजोर छ, पेशा गर्न शैक्षिक योग्यता छैन । त्यसैले सरकारी तहबाट ऋण अनुदानको आशा उहाँलाई छ । अनुदानको व्यवस्था भएमा आफ्नो जग्गामा घाँसखेती गरेर गाईपालन फर्म दर्ता गर्ने अनि दुध बिक्री गरेर आम्दानी गर्ने उहाँको योजना छ । ‘गाईँभैसी थप्नका लागि आर्थिक स्रोत भएन, कतैबाट पैसा ऋणधन गर्न सकेँ भने ५/६ गाईभैँसी पाल्न सक्छु’, उहाँ भन्नुहुन्छ, ‘एउटैबाट अहिले २५/२६ हजार कमाइ हुन्छ भनेपछि ५/६ वटा पालेर एकलाख त सजिलै कमाउने सकिन्छ ।’

यहाँ नेपालमा आम्दानीको स्रोत नभएको र विदेश गएर चाँडै फर्कनुपरे पनि गंगालाई विदेशप्रति भने मोह भने पटक्कै छैन । किनकी अर्काको देशमा अर्कैको अह्रनखटन, न बेलामा खानु न आराम । विदेश जति मिहिनेत गर्ने हो भने तीनगुना बढी कमाइ यहीँ हुने उहाँको ठम्याई छ । ‘दुःख त विदेश भनेको विदेश नै रहेछ । १६ सत्र घण्टा ड्युटी । अरुको आदेश मान्नै पर्‍यो’, उहाँ भन्नुहुन्छ, ‘आफन बच्चाहरुसँग सँगै बसेर पनि त्यहाँभन्दा त्यहाँजति मिहिनेत गर्ने हो भने यहाँ त्रिबल कमाइन्छ ।’ सकेसम्म अरुलाई पनि विदेश नजान उहाँको सुझाव छ ।