बैशाख १४, २०८१ शुक्रबार

बाहुनकी छोरीको बंगुरपालन : नपुगेर होइन, आत्मनिर्भर बन्न



गुल्मी । श्रीमानकाे विदेशको कमाइ, घरमा कुटानीपिसानी मेसिन । बारीमा परम्परागत खेती गरेरै पनि प्रसस्तै उब्जनी हुने । घरखर्च चलाउन त्यति सारै गाह्रो थिएन । तर सत्यवती ४ एकसिं कि राधिका गैरे गाहा (३२) ले त्यतिमा मात्र चित्त बुझाउनुभएन । श्रीमानकाे कमाइ वा परम्परागत कृषिले जीवन चलाउनुमात्र ठूलो कुरा होइन भन्दै उहाँ परम्परागत प्रणालीलाई व्यवसायिकतामा ढालेर राम्रो आम्दानी गर्नुभएको छ । ‘आम्दानीको लागि घरमा बंगुर, बाख्रा, कुखुरा, भैंसी पालेकी छु’, उहाँले भन्नुभयो, ‘घरमै पहिला ससुरा बुबाले मिल चलाउनुहुन्थ्यो, बुबा बितेपछि त्यो पनि मैले सम्हालेर आम्दानीको बाटो भएको छ ।’

राधिकाका श्रीमान् विदेश जाउ आउ गर्नुहुन्छ । कमाइ राम्रै छ । तर घरमा त्यतिकै बसेर श्रीमान्ले कमाएको खर्च गर्नुभन्दा आफूले कमाइ गरेपछि भविष्यको लागि बचत पनि हुने उहाँको तर्क छ । उहाँ पशुवस्तुको स्याहार र मिलको काम गर्दा छोराछोरी हेर्ने र भान्साको काम सासुले सघाउनुहुन्छ । ‘खाली बस्नुभन्दा आफूले गरेपछि घरखर्च चलाएपछि श्रीमान्ले कमाएकोले बचत होला भनेर मैले मिल चलाउने र पशुपालन गरेकी छु’, उहाँले भन्नुभयो, ‘छोराछोरी हेर्ने र खाना बनाउनेमा आमाले गर्नुहुन्छ । मिलेर गरेका छौं ।’

बंगुर, कुखुरा, बोका, खसी घरबाटै बिक्री हुन्छ भने भैंसीको दुध खैरेनी बजारमा बिक्रीका लागि पठाइन्छ । सासु बुहारी मिलेर गरेको कामबाट घरमै बसीबसी मासिक ३५ हजार भन्दा बढी नगद आम्दानी हुने उहाँको भनाई छ । ‘२ वटा मुर्रा भैँसीको दैनिक ६ लिटर दुध डेरीमा बेचेर मासिक १५ हजार आउँछ, मिलमा १२ हजार जति कमाइ हुन्छ, कुखुराबाट सिजनमा २० हजार जति आउँछ’, उहाँले भन्नुभयो, ‘बोकाखसी, बंगुर सबै जोड्दा मासिक ३५/४० हजार कमाइ हुने रहेछ ।’

यसका अतिरिक्त मर्चा बनाउने, फाट्टफुट्ट तरकारी खेती लगाएतका काम गर्ने पनि उहाँ बताउनुहुन्छ । घरमै कुटानी पिसानी मिल भएपछि पशुपालनका लागि सजिलो भएको छ । भन्नुहुन्छ, ‘ब्रोइलर कुखुराका लागि दाना बजारबाट किनेर ल्याएपनि बंगुर, भैंसी र बाख्राको लागि मेसिनबाटै पुग्छ ।’

कक्षा १२ पढेकी राधिका आत्मनिर्भरता र भविष्यको लागि बचत गर्न यसरी आफैले काम गर्ने बताउनुहुन्छ । ‘नपुगेरै पनि होइन, कमाइ त छ तर एकजनाले मात्र कमाउनु भन्दा दुई जनाले गरेको सजिलो होला भनेर श्रीमान् विदेश गएपनि घरमा काम गरेका छौं’, उहाँ भन्नुहुन्छ, ‘विदेशमा पनि सँधै राम्रो हुन्छ नै भन्ने हुँदैन, राम्रो कमाइ भएन भने के खाने ?’

दुई सन्तानकी आमा राधिका अब आफ्नो व्यवसाय राम्रो हुँदै गएमा श्रीमानलाई पनि घरमै बोलाएर काम गर्ने सोँच रहेको बताउनुहुन्छ । श्रीमानकाे कमाइमा मात्र भर नपरेर आफूले पनि काब्म गरेमा घर चलाउन सहज हुने उहाँको सबैलाई सुझाव छ । ‘कमाइको लागि एकजनामा मात्र भरपर्नु, आस गर्नु हुँदैन’, उहाँ भन्नुहुन्छ, ‘आफूले सक्नेसम्म काम गर्यौंँ भने पुरुषलाई मात्र तनाब पनि पर्दैन, आम्दानी पनि हुन्छ ।
परिवार पनि सजिलै चल्छ ।’