जेष्ठ ६, २०८१ आईतबार

बंगुर, बाख्रा र कुखुरा पालेर विदेशीएका श्रीमान् फर्काउने मोतीमाया



गुल्मी । आज भोली धेरैको रहर हुन्छ, सहरमा बस्ने । मिठोमसिनो सुख्खैले खाने । सके आफूले जागिर गर्ने, नभए पनि श्रीमानकाे विदेशको कमाइ भैहाल्छ । तर सत्यवती ३ ठूलोलुम्पेककी मोतीमाया पुलामी सिँजापतीको मनमा त्यो सोँच कहिल्यै आएन । आफ्नो जीवन निर्बाहका लागि आफैले मिहिनेत गर्नुपर्छ भन्ने सोँच राखेर काम गर्नुभयो । आफूले बंगुर, कुखुरा र बाख्रापालन व्यवसाय गर्नुभयो र अहिले बंगुरपालनमा गाउँपालिकाकै नमुना किसान बन्नुभएको छ ।

पहिला पहिला उखानै थियो ‘लुम्पेक गए आटो सकियो…’ अर्थात लुम्पेकमा खेती हुँदैन । तर त्यही लुम्पेकमा बसेर पशुपालनबाटै नमुना महिला उद्यमी बन्नुभएको छ मोतीमाया । आफ्नै बंगुर फर्म छ । कुखुरा फर्म छ । बाख्रा फर्म छ । आफ्नै फ्रेस हाउस छ । गाउँमै खाजा पसल पनि सञ्चालन गर्नुभएको छ । ‘अहिले फर्ममा २२ वटा बंगुर, १५ बाख्रा र दुई अढाई सय कुखुरा छन्’, उहाँ भन्नुहुन्छ, ‘फ्रेस हाउस र नास्ता पसल पनि चालएकी छु, परिवार पाल्न, छोराछोरी पढाउन र घुमघाम राम्रो पुगेको छ ।’

परिवारमा परम्परागत रुपमा २०५६ सालदेखि सुरु भएको बंगुरपालन मोतीमायाकै अगुवाईमा २०६९ सालदेखि व्यवसायिक बंगुरफर्म बन्न पुग्यो । विस्तारै त्यसमा थपिए बाख्रा र कुखुरा पनि । व्यवसायिक रुपमा बंगुर पाल्न थालेपछि उहाँले विदेशमा गएका श्रीमानलाई पनि घरमै बोलाउनुभयो । घरखर्च चलाउन सुरु गरेको नास्ता पसल पनि राम्रो हुँदै गयो । आफूले उत्पादन गरेको बंगुर, कुखुरा र खसिबोकाको मासु आफै बेच्न फ्रेस हाउस पनि सुरु गर्नुभयो ।

व्यवसाय सुरु गर्दा कुनै तालिमबिना सुरु गरेकी उहाँले पहिलोपटक २०७१ सालमा तत्कालिन पशुसेवा कार्यालयले सञ्चालन गरेका तालिम लिएपछि बंगुरपालनमा नयाँ तरिका सिक्नुभयो । त्यसपछि पोखरामा एकहप्ता र चितवनमा १० दिने तालिम पनि लिएपछि उहाँलाई बंगुरपालन व्यवसाय सम्बन्धी राम्रै ज्ञान लिएको महसुस भएको छ । ठूलो लुम्पेकमै नमुना महिला उद्यमीको परिचय बनाएकी उहाँको १० लाखको व्यवसायबाट अहिले वार्षिक १० लाख भन्दा धेरै आम्दानी छ । त्यही आम्दानीबाट तीन सन्तानले अध्ययन गरिरहेका छन् ।

जेठी छोरी प्लस टु तहमा कृषि प्राविधिक सकेर अहिले बुटवलमा स्नातक पढ्ने, अर्की छोरी गाउँमै प्लस टु र छोरा कक्षा ९ मा अध्ययनरत छन् । ‘वार्षिक २ लाख नाफाको हिसाव गरेकी छु, बाँकी घरखर्च र छोराछोरी पढाउन खर्च हुन्छ’, उहाँ भन्नुहुन्छ ‘म बेलाबेलामा तालिमहरुमा, कार्यक्रमहरुमा जानुपर्छ ।’ उहाँ हाँस्दै थप्नुहुन्छ, ‘मगर समुदायको खर्च पनि धेरै हुने रहेछ, पाहुनापाछा आउँदा पनि खर्चै हुन्छ, मासुविना पाहुना उम्कँदैनन् ।’

बंगुरपालनमा राम्रो गरेकै कारण उहाँलाई सरकारी निकायबाट अनुदान पनि मिलेको छ । एकपटक जिल्ला पशुसेवा कार्यालयले ५० हजार र प्रदेशबाट ५३ हजार दिएको थियो । उहाँको अनुभवमा बंगुर, बाख्रा र कुखुरा निरन्तर नाफा दिने व्यवसाय भने रहेनछन् । ‘रोग बिमार लाग्छ, कहिले घाटामा जान्छ, कहिले नाफामा जान्छ’, उहाँ भन्नुहुन्छ ।

कुखुरा स्थानीय स्तरमै खपत भएपनि बंगुर र खसीबोकाको बजारक्षेत्र अलि फराकिलो छ । बंगुरका पाठापाठी र मासु छिमेकी जिल्लाहरु स्याङ्जा, पाल्पा र बाग्लुङ पनि पुग्छ । स्थानीय तह कार्यान्वयनको सुरुका वर्षहरुमा उहाँको बजार खुम्चिएको थियो । त्यो बेला नाफा घट्यो । ‘पहिला वार्षिक ७/८ लाखको मासु बिक्री हुन्थ्यो । स्याङ्जा, पाल्पा, बाग्लुङतिर पनि जान्थ्यो । तर केही समय बच्चा बिक्री नभएपछि माउ काटियो’, उहाँले भन्नुभयो ।

गाउँमा महिला आफै कस्सीएर उद्यम व्यवसायमा लाग्ने प्रचलन कमै छ । तर उहाँ फरक सोँचका साथ उद्यममा लाग्नुभयो । भन्नुहुन्छ, ‘बच्चाबच्ची साना । बुढा विदेश । सानो नास्ता पसल पनि । बुढाको विदेशको कमाइ मात्र खाने भन्ने हुँदैन । आफै काम गर्नुपर्छ भनेर व्यवसाय सुरु गरेकी हुँ । अहिले जीवन पनि चलेको छ । सबैसँग परिचित पनि भएकी छु ।’

आफूमात्रै होइन, उहाँले छिमेकी दिदीबहिनीहरुलाई समेत उद्यमी बनाउनुभएको छ, ठूलोलुम्पेक थानी बंगुरपालन समूहमार्फत । मोतीमाया संयोजक रहेको उक्त समूहमा आवद्ध २० जना महिलाले पनि बंगुरपालन गरेका छन् । ‘म त सबै दिदीबहिनीलाई आफै मिहिनेत गरेर जीविकोपार्जन गर्नुपर्छ भनेर भन्छु’, उहाँले भन्नुभयो, ‘त्यसैले मैले नै पहल गरेर २० जनाको समूह खोलेर बंगुर पालन, तरकारी खेती पनि सुरु गरेका छौं ।’ उक्त समूहका लागि गाउँपालिकाले ३० वटा बंगुरका पाठापाठी र २ लाख नगद अनुदान दिएको थियो ।

त्यतिमात्र होइन, गाउँमै होमस्टे सञ्चालनका लागि तयारी छ । उहाँ आफै संयोजक भएर होमस्टे सञ्चालनको अन्तिम तयारी गरिरहनुभएको छ । होमस्टे सञ्चालन गरी ठूलोलुम्पेकका पर्यटकीय क्षेत्रहरु सत्यवती, मगरको ऐतिहासिक थलो हचिङ्गकोट, हुक्रायो सेती नाग, देवी मन्दिरको प्रचार गर्ने र लुम्पेकहीहरुले गरेको अर्गानिक व्यवसायिक खेतीको प्रचार गर्ने उहाँहरुको योजना छ । ‘यहाँका पर्यटकीय क्षेत्रको प्रचार गर्ने, यहीँको अर्गानिक तरकारी खुवाउने र आफ्नो आयबृद्धि गर्ने हाम्रो योजना छ’, उहाँ भन्नुहुन्छ पहिला लुम्पेक गए आटो सकियो भन्ने उखान थियो तर अहिले हामीले कृषि गरेर हेर्न आउने बनाएका छौँ ।’

उहाँलाई श्रीमानले व्यवसायमा साथ दिनुभएको छ भने छोराछोरीले पनि बेलाबेलामा सघाउँछन् । सरकारी निकायलाई गाउँमै पुगेर किसानको मिहिनेत हेरी सहयोग र अनुदानका कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको सुझाव छ । ‘काम गर्ने किसान अनुदान खोज्दै धाउन सक्दैन, सरकार गाउँमै हेर्न आउनुप¥यो, जसले गर्दा किसानलाई राम्रो काम गर्न, आय बृद्धि गर्न अनुरोध गर्न सघाउ पुग्छ’, उहाँले भन्नुभयो, ‘अर्को कुरा हामी महिला किसान पनि श्रीमानकाे कमाइको भर पर्ने, अरुको आश गर्ने गर्नु हुँदैन, आफ्नो मिहिनेत गर्नुपर्छ र सफल हुन सकिन्छ ।’