बैशाख १४, २०८१ शुक्रबार

लक्ष्मीको गाईपालनले फर्कायो विदेशमा डेढ लाख कमाउने श्रीमान्



गुल्मी । घरमा २ वटा गाई थियो, लक्ष्मीले घरखर्च त्यसैबाट चलाउनुहुन्थ्यो । विदेशमा श्रीमानको मासिक डेढ लाख कमाई, खुरुखुरु बचेको थियो । सत्यवती ५, हसरा की लक्ष्मी भण्डारी (३७) को परिवारलाई आर्थिक रुपमा कुनै समस्या थिएन । तर श्रीमान विदेश, घरमा स–साना २ छोरा, उमेर ढल्कँदै गरेकी आमा, परिवार एक्लाएक्लै हुँदा चिन्ता कसलाई हुँदैन र ? अरु कुनै समस्या नभए पनि टाढाटाढा बस्नुको पीडाले लक्ष्मीले गाईपालन व्यवसायकै लागि श्रीमानलाई गाउँमै बोलाउनुभयाे ।

‘यता दुध बेचेर २०÷२५ हजार मासिक कमाउथेँ, उता श्रीमानको डेढ लाख चोखै बच्थ्यो । पैसा त थियो, तर मेरा लागि श्रीमान टाढा, छोराछोरीका बाबा परदेश, आमा लागि एक्लो छोरा कहाँ हो कहाँ भन्ने चिन्ताले बिरामी’, लक्ष्मी भन्नुहुन्छ, ‘आउनुस् यहीँ गाई पालेर पनि राम्रै आम्दानी हुन्छ भनेर बोलाएँ, उहाँ पनि आउनुभयो र सँगै व्यवसाय गरेका छौं ।’

श्रीमान विदेश हुँदा पहिला पनि लक्ष्मीका घरमा भैंसी थिए । तर गाउँमा दुध बेच्ने संस्कार थिएन । डेरीमा दुध बेच्न लैजाँदा लाज हुन्थ्यो । तर उहाँले बिस्तारै गलत संस्कार तोड्दै जानुभयाे। पछि एउटा गाई पनि थपेर दुध बेच्न थाल्नुभयाे। गाउँपालिका पशुसेवा प्राविधिक नारायण खनालको उत्प्रेरणाले पनि गाई थप्दै गएको उहाँकाे भनाई छ । त्यसले उनलाई स्वरोजगार बनायो । पैसा पनि भयो । तर श्रीमान विदेश हुँदा मन खुसी भने भएन । ‘कोरोनाको बेला कतिले परिवारका सदस्य गुमाए, कतिले आफन्त गुमाए । त्यसैले सँगै बसौँ, गरे यहीँ हुन्छ भनेर बोलाएँ’, उहाँ भन्नुहुन्छ ‘गाई पालन नगरेको भए त के भनेर बोलाउनु, गाईपालन गरेको भएर आउनुस यहीँ पनि राम्रै कमाई हुन्छ भन्न सकेँ ।’

एउटा, दुईवटा गाई हुँदै अहिले उनको फर्ममा १३ वटा गाई पुगेका छन् । गाई, गोठ र घाँस लगायतको हिसाव गर्दा उहाँको शुभलक्ष्मी गाई फर्ममा २५ लाख लगानी पुग्यो । त्यसमध्ये धेरै लगानी लक्ष्मीको मेहनेतको छ । किनकी केही गाई घरमै जन्मेका छन् भने केही लक्ष्मीले दुध बेचेर किनेका छन् । श्रीमान फर्केपछि फर्म अलि व्यवस्थित भएको छ ।

भकारो सुधार गरेर मलमूत्रको व्यवस्थापन गरिएको छ । उनीहरुले गाईलाई घाँसको लागि ४ रोपनी जग्गा भाडामा लिनुभएकाे छ । आफ्नै पुर्ख्याैली ६ रोपनी जग्गा छ । ४ रोपनीमा उन्नत जातको घाँसखेती गरेका छन्, केही जग्गामा खरबारी छ भने केही खेतमा अन्न र तरकारी उत्पादन हुन्छ । थप जग्गा पनि लिएर घाँस खेती गर्ने योजना छ । ‘अहिले २ रोपनीमा नेपियर र २ रोपनीमा जै घाँस छ, तर अन्न नलगाए जग्गा रुखो हुन्छ भनेर घाँस खेतीको लागि भाडामा दिँदैनन्,’ उहाँ भन्नुहुन्छ, ‘दाना किनेर खुवाउनु भन्दा घाँस नै राम्रो भनेर घाँस खेती बढाउने योजनामा छौँ ।’

फर्ममा भएका १३ गाईमध्ये ५ वटा दुध दिने छन् । २ वटा ब्याउने छन् भने बाच्छी ५ वटा छन् । अहिले पनि दैनिक ६०/७० लिटर दुध बिक्री गरेर मासिक १ लाख २०/३० हजार कमाई हुने उहाँ बताउनुहुन्छ ।

दुवईमा छापाखानको सिनियर अपरेटर रहेका लक्ष्मीका श्रीमान यज्ञमूर्ति (लक्ष्मण) भण्डारी अहिले फर्केर गाईपालन गर्दा खुसी नै लागेको बताउनुहुन्छ । ‘विदेशमा अरुको अधिनमा काम गर्नुपर्ने, बिरामी भएपनि काम गर्नुपर्ने, प्राविधिक काम केमिकल फिल्ड स्वास्थ्यको पनि जोखिम थियो । यहाँ आफ्नै परिवार सँग बसेर गाईपालन गर्दा खुसी छु,’ उहाँ भन्नुहुन्छ, ‘म मात्र खुसी होइन, पहिला एक्लो छोरा टाढा भएको चिन्ताले आमा पनि बिरामी भैरहने, मासिक २०/२५ हजार उपचार खर्च मात्र आउँथ्यो, अहिले म फर्केर आएदेखि आमा बिरामी नै हुनुभएको छैन ।’