असार २, २०८२ सोमबार

जब ‘राजागंज’को छायांकन तयारी हुँदै थियो, आशालाई क्यान्सर लागेको थाहा भयो



काठमाडौं । आगामी चैत्र १ गतेबाट सिनेमा ‘राजागंज’ प्रदर्शनमा आउँदैछ । सिनेमाकी मुख्य अभिनेत्री आशा मगराती अहिले देशका विभिन्न शहर र त्यहाँ सञ्चालित मिडियामा पुगेर धेरैभन्दा धेरै दर्शकलाई सिनेमाको बारेमा जानकारी दिइरहेकी छन् । मिडियामा पुगेर उनले सिनेमाको छायांकन अनुभवदेखि विभिन्न विश्व प्रसिद्ध सिनेमा महोत्सवमा ‘राजागंज’लाई प्रदर्शन ताका मिलेका प्रतिक्रियाहरु सेयर गरिरहेकी छन् ।

त्यसैले पनि ‘राजागंज’ उनका लागि खास छ । यसमा उनी पहिलोपटक शीर्ष भूमिकामा देखिँदैछिन् । यत्ति मात्र होइन, सिनेमालाई छायांकनका क्रममा उनले गम्भिर रोग क्यान्सरसँग लड्न परेको थियो । क्यान्सरलाई जितेर एउटा अब्बल सिनेमा दर्शकमाझ पस्किन पर्ने चुनौती आशामा थियो । सिनेमाका लागि गरिएको यो संघर्ष धेरैका लागि प्रेरणादायी हुने उनको विश्वास छ ।

आशालाई सिनेमा छायांकनको केही अघि मात्रै थाइराइड र ब्रेस्टको क्यान्सर भएको पुष्टी भएको थियो । विगत ८ वर्षदेखिको ड्रिम प्रोजेक्ट ‘राजागंज’ छायांकनअघि जब उनलाई क्यान्सर भएको थाहा भयो अनि छायांकनको सवै तयारी रोकियो । अनिश्चितताबीच आशाको आत्मबल र इच्छाशक्तिले सिनेमाको छायांकनलाई रोक्न सकेन ।

क्यान्सर भएपछि सिनेमा छायांकन गर्दाको अनुभवबारे उनले भनिन्, ‘सुटिङलाई सवै तयारी भैसकेको थियो । उपकरण लिन अमेरिका गएका थियौं । एक सातामा फर्किएर छायांकन सुरु गर्नुपर्ने मान्छे चाहिँ डायग्नोसको कारण पूर्णतः रोकिएकैजस्तो भयो । अब कति समय लाग्छ भन्ने कुरामा हामी निश्चित थिएनौं ।’ निर्देशक तथा उनका पति दीपक रौनियारले आँट दिएपछि आफू अघि बढेको आशा बताउँछिन् ।

‘मैले हार खाएको थिइँन । स्ट्रङ नै थिएँ । मलाई बलियो देखेर होला, निर्देशक दीपक रौनियारले छायांकनमा जाऔं भन्नुभयो । किनभने ८ वर्षदेखिको सपना थियो । त्यसमाथि पनि पहिलोपटक मेरो मुख्य क्यारेक्टर । छाड्ने कुरै भएन । जसरी भएपनि गर्छु भन्ने आँट आएपछि सुरु गरियो,’ उनले भनिन् ।

सिनेमामा आशाले पूजा नामक प्रहरी इन्सपेक्टरको भूमिका निर्वाह गरेकी छन् । ‘राम्रो काम गर्छु भनेर हिँडेको पात्र हो । किनभने सबै पुलिस एउटै हुँदैनन् । वास्तविक प्रहरी महिला अफिसर र समाजका अन्य महिलासँगको अध्ययनको आधारमा पात्र निर्माण गरिएको छ । समाजमा देखिरहेको कथा र महिला यसमा छन् । हामीले बलिया महिलालाई अनदेखा गरिरहेका हुन्छौं । सिनेमामा सवै महिला पात्र बलियो क्यारेक्टर छन्,’ उनले भनिन् ।

सिनेमामा दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपती राई, पूर्वमिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल घनश्याम मिश्र, परमेश्वर कुमार झा र नीरज श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमाले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ । यो सिनेमा गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो । सिनेमाले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।

प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो । ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रुपमै रौनियारको प्रशंसा गरेका थिए ।

आगामी चैत्र १ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । यो सिनेमालाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका हुन्न्। सत्य घटनाबाट प्रेरित रहेको ‘राजागञ्ज’ले नेपाल र भारतको सीमावर्ती शहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा उठाएको छ ।

सिनेमाको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।