काठमाडौं । निर्माता सन्तोष सेनको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘बलिदान’को मुख्य नारी पात्रमध्ये एक ‘किरण’ पात्रको लुक सार्वजनिक गरिएको छ । यो पात्रमा डेव्यु अभिनेत्री कविता रायले अभिनय गरेकी छन् ।
आगामी वर्षको दशैंको फूलपातीमा रिलिज हुने सिनेमाको पोस्टरमा ‘किरण’ पात्र एक हिंसात्मक र संघर्षपूर्ण अवस्थामा देखिन्छिन् । उनको अनुहार र हातमा रगत लागेको छ । हातमा बन्दुकको ब्यारेल समातेको देखिन्छ, जसले प्रतिरोध र बदला लिने भाव प्रकट गरेको छ । उनको एक आँखा मात्र स्पष्ट देखिने गरी फ्रेम गरिएको छ । समग्रमा पोस्टरले एक महिला पात्रको संघर्ष, हिंसा, प्रतिरोध र बलिदानको कथा भन्न खोजेको स्पष्ट छ ।
सिनेमाका निर्देशक सन्तोष सेनले ‘बलिदान’मा राज्यको मूलधारबाट किनारामा पारिएको एउटा वर्ग र त्यो वर्गको वस्तुस्थिति काल्पनिक रूपमा नेपालको यथार्थसँग मेल खाने किसिमले तयार पारेको बताए । जुन वर्गलाई उनले यो सिनेमामा ‘भिल्ला’ वर्ग नाम दिएका छन् र त्यो समुदाय बस्ने स्थानलाई ‘भिल्लमगढ’ नामाकरण गरेका छन् । सो वर्ग नेपालको तराई क्षेत्रका समुदायसँग मिल्दोजुल्दो छ ।
सोही वर्गलाई प्रतिनिधित्व गर्ने महिला प्रमुख कलाकारको आवश्यकतालाई मध्यनजर गरी अडिसन मार्फत कविता रायलाई छनौट गरिएको थियो । मुख्य भूमिकामा यो सिनेमा नै रायको पहिलो हो । ‘राज्यको मूलधारबाट किनारिएका वर्गको बसोबास रहेको ‘भिल्लमगढ’मा महिला माथि हुने सामाजिक उत्पीडन र तिनका कमजोरीको फाइदा उठाएर कुटिल नेताबाट ‘युज एन्ड थ्रो’ गरिने कथालाई आधार बनाएर ‘बलिदान’ निर्माण भइरहेको छ ।
‘हामीलाई यस्तै परिवेशबाट आएको प्रतिनिधि पात्र ‘किरण’को चरित्रलाई सशक्त रूपमा जीवन्त बनाउने अभिनेत्रीको आवश्यकता थियो,’ निर्देशक सेनले भने, ‘यस भूमिकाका लागि उपयुक्त हाउभाउ, रुपरङ र प्रभावशाली अभिनय क्षमता भएका महिला कलाकार छनोट गर्न अडिसनको आह्वान गरिएको थियो । हाम्रो कल्पनाको ‘किरण’ जसको आवरण, आचरण, बोल्ने लवज र पात्रले देखाउनुपर्ने सशक्त अभिनय कविता रायमा भेटिएकाले हामीले उनलाई यो भूमिकाका लागि छनौट गरेका थियौं ।’
सिनेमामा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा र कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय रहेको छ । आसुसेन फिल्मस् प्रालीको प्रस्तुती रहेको सिनेमाका निर्मातामा पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्मातामा प्रेम पुरी छन् ।
प्रतिक्रिया दिनुहोस्