बैशाख ११, २०८१ मंगलबार

गर्भपतन गर्दीन अब



sita bhusal1बुटवलबाट प्रकाशित पत्रिकामा हिजो एउटा समाचार पढेँ,  इन्दिरा । तिमी त जिल्लाको प्रमुख भएकी रहिछौ । हर्षले मन थाम्न सकिन । आँखाबाट हर्षका आँसु बगे । गुल्मीको दुर्गम गाउँमा हामिले सगै बिताएका बाल अनुभवहरु एकएक गर्दै आँखा वरीपरी घुम्न थाले । भर्खर भर्खर बल्ल बल्ल छोरीलाई स्कुल पठाउन थालेका अभिभावकका छोरीहरु हामी अलिकती डर, धेरै उत्साह र मनभरी हिम्मत बोकेर स्कुल जाने गथ्र्यौँ । छोरीले असल बुहारी हुनका लगि गर्नुपर्ने सम्पुर्ण दैनिक अभ्यासहरु समय मिलाएर सिक्ने गर्दथ्यौ । स्कुलका गृहकार्य जस्तै महत्वपुर्ण थिए हाम्रा लागि दैलो कुचो, टपरी गास्ने, बत्ति कात्ने जस्ता सिपहरु सिक्न । तिम्रो प्रशासनिक काममा तिनको प्रयोग कत्तिकोे भएको छ म जान्दिन तर मेरो दैनिकी तिनैको वरीपरी बितेका छ ।

एसएलसी सम्मको पढाई कक्षामा पहिलो दोस्रो भएर तिमीले र मैले संगै ग¥यौँ। नजिक कलेज नभएकोले उच्च शिक्षा अध्ययनको लागि दाजु विनय सँगै तिमी राजधानी गयौ भने मेरो १६ वर्षमै विवाह भयो । अचेल सुन्दै छु त्यो त बाल विवाह पो रहेछ । बुबाको रोजाइमा घरका अन्य पुजा जस्तै गरेर गरिएको विवाहको विषयमा मलाई धेरै थाहा नै थिएन । विवाह र जीवन साथीको महत्व बल्ल पो बुझदै छु । विवाह पश्चात असल बुहारी हुने अभ्यासमा मेरा दैनिकीहरु यति व्यस्त भएकी तिम्रो र सिँगो समाजको विषयमा सोच्ने मलाई फुर्सदै मिलेन ।
हाम्रो भेट नभएको पनि वर्षौँ भएछ । हिजो फेसबुकका भित्ताहरुमा भाइरल बनेको तिम्रो फोटो छोरी अपेक्षाले देखाउँदा पो म दंग परेँ । तिमि त उस्तै रहिछौ । तर मलाई चिन्न तिमिलाई पक्कै गाह्रो पर्नेछ । १७ वर्षमा पहिलो पटक म छोरीको आमा बनेँ । त्यसपछि त मेरो दिनचर्या असल आमा असल पत्नी र असल बुहारी हुदैमा व्यस्त भयो । म र मेरो निजी जीवन भन्ने नै मैले बिर्सिएँ । अझ लगातार ३ वटी छोरीको आमा बन्दा त म भर्खर ३५ वर्ष पुग्दा पनि बुढौलीको अनुभव गर्न थालेकी छु ।
तीनबटी छोरीकी आमा भैसक्दा पनि एउटा छोरा जन्माउने इच्छा राखेर तडपिरहेकी छु । आफ्नो शरीरलाई छियाछिया पारीसकेकी छु । एक छोरा जसले भविश्यमा मेरो कुलको इज्जत राखोस भन्ने चाहना मनमा बाँकि छ , त्यसैले त मैले मंगलबारको ब्रत पनि राखेकी छु । जुन ब्रत गर्दा छोरा नै जन्मिन्छ भन्ने विश्वास मेरो मनभित्र ज्यूँदै छ । के गरुँ म बाध्य छु, एउटा कुल धान्ने छोरा नजन्माउने हो भने मेरो वंश नास हुने भो भनेर श्रीमानको कचकच सुन्दा म दिक्क छु । छोरी जन्माउनेको सन्तान भनेर दिनहुँ जसो झगडा गर्ने सासुको वचन सुन्न बाध्य छु । टोल छरछिमकको कानेखुशी सुन्दा र देउरानी जेठानीहरुले छोराको धाक धक्कु लगाउदा मेरो मन पनि यति दुखेको छैन । दुखेको मनमा मलम पट्टि लगाउने ठाउँ कतै भेटेकी छैन ।
तीनवटी छोरीकी आमा हुँदा र लगातारको गर्भपतनले गर्दा म पचास नाघेकी महिलाहरु भन्दा पनि बुढि देखिन्छु । छोरी जन्माउने बुहारीले मिठो चोखो खान हुँदैन भनेर सुत्केरीमा पनि मैले मीठो खाने र आराम गर्ने प्रसस्त अवसर पाएकी हैन । त्यसैले होला आजभोली म अनेक स्वास्थ्य समस्याबाट पिडित छु । छाला चाउरी परिसकेको छ । बिहान चार बजेदेखि साँझ दश बजेसम्म सजिलरी सास फेर्ने समेत फुर्सद मलाई छैन । यही बेफुर्सदीले मलाई समाजको परिवर्तनलाई जान्ने र बुझने अवसर पो कहाँ मिलेको छ र ? घरको काम सकेर फुर्सद पो कहिले छ र ?
देश दुनियाको यात्रा मेरो मेरो गोरखपुरसम मात्र सिमित छ । त्यही पनि हरेक पटक आश बोकेर जान्छु , पिडा र नीरास बोकेर फर्कन्छु । प्रत्येक पटकको यात्रामा मेरो मुटुको गती बढेको हुन्छ । कानहरु लालायित हुन्छन शुभ समाचार सुन्नलाई, तर म विवश छु मेरो कमजोरी स्वीकार्न ।
मेरो गिर्दो स्वास्थ्य देखेर डाक्टरहरु भन्ने गर्छन, धेरै पटक गर्भपतन स्वास्थका लागि हानीकारक हुन्छ भनेर । तर मलाई त्यसको कुनै प्रवाह छैन किनकी मलाई वंश धान्ने छोरा जन्माउनु नै छ । अर्काको घरमा जाने ती–तीनवटी छोरी, त्यसमाथी सौता बेर्होनु पनि कम पिडादायक क्षण होला त मेरा लागि ? म आफैसँग प्रश्न गर्ने गर्छु, उत्तरमा मेरो मन अत्तालिन्छ र भन्ने गर्छ सौताको जिन्दगीभरको पीडा खप्नुभन्दा केहि क्षणको शारीरिक पीडा खेपेर भएपनि छोरा जन्माउनु नै ठीक छ । त्यसैले म हारेकी छैन । हार्नु त हुँदै भएननी, माइतमा बाबु आमाको इज्जतको सवाल पनि छ, फलानाको नाति छैन भनेर गाउँलेहरुले गफ गर्दा मेरा माइती गाउमा पनि इज्जत जाने भयो । के गरुँ म दोधारमा छु । बाबु आमा, सासुससुरा, श्रीमान र आफन्तहरुको दबाबले मलाई पनि छोरा भनेको त कुल धान्ने व्यक्ति हो भन्ने अनुभुति गराएको हो वा ती सबैको खुसीका लागि मेरो स्वास्थ्य बिगारेर केवल छोरा जन्माउने कोशिस गर्दैछु ।

छोराकी आमा हुन नसकेकोले घर माइत जताकतैबाट आउने दवाव झेल्न नसकेर अचेल म मानसिक रोगी बन्दै गएकी छु । श्रीमान सासु ससुराको कचकचले म भित्रको आत्मविश्वास बिस्तारै घटदै गएको छ । तिमिलाई के थाहा ? वंश धान्ने छोराको आसमा ४ पटक त मैले लुकिछिपि गर्भपतन गरीसकेकी छु । म ठुलो आशा बोकेर डक्टर कहाँ पुग्छु तर प्रत्येक पटक निरास छु मेरो गर्भको भ्रुण छोरी हुँदा । हुनत गर्भपतन मेरो रुचीको विषय कहा हो र? प्रकृतिको कस्तो अनुपम उपहार, गर्भको बच्चासग कति छिटो आमाको सामीप्यता जोडीएको हो, प्रत्येक पटक गर्भपतन गर्नुपर्दा एक पटक मृत्युको अनुभुति गर्नुपर्ने मानसिक रुपमा । सायद सबै आमाहरुलाई त्यस्तै अनुभुति हुन्छ की वा मलाई मात्रै हो ? आमा हुनको अनुभव बिल्कुल फरक हुँदो रहेछ । नियम कानुन भन्दा पनि माथिको भिन्न सम्बन्ध हुँदो रहेछ सन्तान संग । मन पनि कस्तो अचम्म लाग्दो, गर्भमा बच्चा आउने वित्तिकै एकै पटक कति धेरै कल्पना मनभित्र आउने मनलाई तुरुन्त संवेदनशील बनाउने । यही फरक होला आमा र बाबुको बिचमा । प्रकृतिको बिडम्वना नै भन्नुपर्छ त्यस्तो अनुभुति कहिल्यै बाबु बन्नेले गरेको भेटीन । उनका आँखामा त्यो पीडा कहिल्यै देखीन । उनका आखाँमा सधै एउटा दम्भ र छोरा प्रतिको अभिलाषा मात्र देखिरहेँ । जबरजस्त हाँस्न खोज्दा रसाएका मेरा आँखाको भाषा उनले बुझनै सकेनन । यही त फरक होला महिला र पुरुषको भोगाइ, फरक वरदान प्रकृतिको हामी छोरीहरुलाई ।
आजभोली त म रेडियोबाट सुन्ने गरेकी छु, छोरा वा छोरी जसलाई जन्माउन पनि महिलाको (मेरो) हात हुदैन । त्यसपछि त धेरै ढुक्क भएकी छु, छोरीहरुको मात्र आमा हुनुमा मेरो कुनै दोष रहेनछ , यी सबै महिलाहरुलाई दबाउन बनाइएका झुट्ठा विवरण मात्र रहेछन ।

गर्भपतनले कानुनी मान्यता पायो भनेर रेडीयोमा सुन्दा म धेरै खुसी भएकी थिएँ । धेरै आमाहरुले समाजले ‘नाजायज’ नाम दिएको बच्चा बोकेर अव हिडनु पर्ने भएन भनेर । हरेक सम्बन्धहरुलाई परिभाषा गर्ने जिम्मा आखिर समाजलाई त दिएको छ । सम्बन्धको सामाजिक परिभाषा खोज्दा त महिलाहरु जिउँदै जलाइएका छन, बैवाहिक बलत्कार भोगीरहेका छन, आत्महत्या गर्न विवस छन । महिला र पुरुषको समान सहभागीतामा रहने सम्बन्धहरुमा पनि दोष महिलाको टाउकोमा जाने नियति हामीले भोगेकै त छौँ है, समाजले सभ्य भनेको तर २१ आंै शताब्दीमा पटक्कै नसुहाउने असभ्य अभ्यास ।
इन्दिरा तिमीलाई थाहा छैन मत आठौं पटक फेरी गर्भवती भएकी छु । मन डराएको छ । मुटुको धडकन फेरी बढेको छ । विश्वास छ यस पटक मेरो गर्भमा पक्कै छोरा होला भनेर । म पुनः जाँदैछु गोरखपुरसम्मको यात्रामा, म सँग मेरा श्रीमान पनि निकै उत्साहित छन, छोराको बाबु बन्ने अभिलाशा बोकेर । थाहा छैन मेरो यात्रा कस्तो हुने हो ?
तर विडम्वना हुनसक्छ – गोरखपुरमा चेकअप पछि थाहा लाग्यो आठौँ पटक पनि मेरो पेटमा छोरी रहेछ । यो सुनेर मेरा श्रीमान छागाबाट खसेजस्तै भए र मलाई गाली गर्न थाले । छोरा जन्माउन नसक्नेको सन्तानमा परिएछ भनेर मँसग रीस पोख्न थाले । तर म यस पटक पटक्कै नीरास छैन, उनको गालीलाई प्रतिवाद गर्ने क्षमता ममा जागेको छ । मेरो मन दरिलो भएको छ, विश्वास बढेको छ, तिमीलाई देखेर तिम्रो सफलता र विश्वासलाई आत्मसात गरेर । मैले सुनेकी छु धेरै महिलाहरु पुरुष सरह अगाडि बढेका छन रे हाम्रो देशमा पनि । तर ती सबै भन्दा भिन्न तरकिाले आफनै सर्घषशील यात्राबाट अगाडि बढेकी मेरै उमेरकी तिमिलाई देखेर ममा धेरै हिम्मत पलाएको छ । यो वर्ष सायद मैले पनि तिमि जस्तै हिम्मत र आत्मविश्वास भएकी छोरी जन्माउने प्रवल इच्छा राखेकी छु ।  थुप्रै नालायक छोराहरु भन्दा योग्य छोरी, जसले घरको मात्र होइन देशको वंश थामोस् ।

त्यही छोरीको शिघ्र प्रतिक्षामा छु । त्यसैले मलाई मेरा श्रीमान, सासु—ससुरा, छरछिमेक कसैको पनि गाली गलौजले प्रभाव पारेको छैन । म खुशीसाथ योग्य छोरी जन्माउने तयारीमा छु । नालायक छोराको के काम जसले देश र जनताको लागि केहि गर्न सक्दैन । कुलतमा फसेर हिँड्छ । बाबु आमाको साहारा बन्नु त कता हो कता बुढेसकालमा पीडा थपिदिन्छ । त्यस्तो नालायक छोरो जन्मानउने तयारीमा म छैन । अन्तिम पटक मेरो गर्भवाट योग्य, लायक छोरी जन्माउने विश्वासका साथ तयारीमा जुटेकी छु । जस्ले म मेरो परिवार र देशको इज्जत थामोस, महिला सशक्तिकरणको अभियानमा एक इट्टा थप्ने प्रयासको सानो थालनी होस ।