फाल्गुन २१, २०८० सोमबार

‘किशोरीका लागि समाज झन् डरलाग्दो बन्दैछ’



नेपाली समाज आधुनिक र सचेत हुँदै गएको छ । यो सँगै सामाजिक विकृति, आपराधिक घटना पनि बाहिर आउने क्रम बढ्दै गएका छन् । पछिल्लो समय घरेलु तथा लैंगिक हिंसाका आपराधिक घटना बढेका छन् भने धेरै घटना बाहिर पनि आउन थालेका छन् ।

सामान्यतया यस्ता घटना बढिरहनुमा जनचेतनाको अभाव देखिन्छ । हिंसाको बुझाइमा समस्या, आफूले सहिरहेको कुरा हिंसा हो भन्ने पीडितले बुझ्न नसक्नु र यस्तो कार्य गर्न हुँदैन भनेर हुर्काइको प्रक्रियामा सिकाइ नहुने जस्ता कारणले हिंसा बढिरहेको छ ।

यस्ता आपराधिक घटनापछि हुने कानुनी अवस्थाको बारेमा जानकारीको अभाव पनि छ । मुख्य कुरा चाहिं अशिक्षा हो । शिक्षित नभएपछि, बेरोजगार हुँदा पनि यस्ता घटना बढिरहेका छन् । आर्थिक अवस्था कमजोर भएपछि घरमा कलह सिर्जना हुन्छ, त्यसले पनि घरेलु हिंसा बढाइरहेको छ ।

पछिल्लो समय अभिभावकहरू बुबा, आमा दुवै व्यावसायिक काम गर्ने जागिरे हुँदै गएका छन् । यो अवस्थामा छोराछोरीलाई पर्याप्त समय दिंदैनन् । यस्तो अवस्थामा बच्चाहरूलाई कसैले हिंसा गरिरहेको छ कि भनेर सम्झने फुर्सद पनि हुन छाडेको छ ।

यो अवस्थाले बच्चा र किशोर, किशोरीहरूमा हिंसा बढिरहेको छ । अभिभावकहरू घर बाहिर वा विदेश जाँदा बालबच्चालाई राम्रो हेरचाह नहुने समस्या छ । यसले किशोर, किशोरीहरू प्रलोभनमा पर्ने, सामाजिक सञ्जालमार्फत चिनजान भएर यौन हिंसाको लतमा फस्ने जस्ता कामहरू भइरहेका छन् ।

सामाजिक सञ्जालमा चिनजान पछि भागेर वा मागेर बालविवाह गर्ने, बालविवाह गरेर टाढा जाने त्यहाँ पनि हिंसा हुने, सानैमा विवाह गरेपछि हुने शारीरिक र आर्थिक दुरवस्था र त्यसपछि हुने हिंसाले उनीहरूको जीवन कष्टकर हुने गरेको पाइन्छ ।

युवाहरू लागूऔषध र मदिरापानको दुव्र्यसनी भएका कारण पनि जघन्य घटनाहरू बढेको देखिन्छ । हामीले केटाकेटीहरू त हुन् भनेर आफ्ना छोराछोरीहरूको ख्याल नगर्दा यस्ता धेरै घटना भएको पाइन्छ । अहिले बाहिरी वातावरण सामान्य देखिए पनि घरेलु हिंसा, यौन हिंसाको अवस्था गम्भीर र जटिल छ ।

न्याय प्रणाली पनि कारक

नेपालमा हिंसा, बलात्कार जस्ता अपराधमा कानुनी प्रावधान नभएको होइन, तर यसको कार्यान्वयन पाटोमा व्यापक सुधार हुनुपर्ने खाँचो छ । न्याय दिने कुरामा जटिलता भएकै कारणले यस्ता धेरै घटना लुकेका भेटिन्छन् । कतिपय अवस्थामा पीडितको पक्षमा राम्रो फैसला भएतापनि न्याय पाउन जटिल भएको देखिन्छ । यतिसम्म कि भएका फैसला पनि राम्रोसँग कार्यान्वयन नहुँदा न्यायको अनुभूत हुन नसकेको अवस्था छ ।

यस बाहेक पीडितले पाउनुपर्ने क्षतिपूर्ति, पीडितको गोपनीयता ख्याल नगर्दा उनीहरू झन् प्रताडित हुने अवस्था छ । यस्ता कुराले पीडितलाई कानुनी फैसलाले न्याय दिन्छ तर व्यावहारिक रूपमा न्याय पाउँदैनन् । अपराधीले दण्ड पाउनु र पीडितले न्याय पाउनु दुवै कुरालाई उत्तिकै महत्वका साथ हेरिनुपर्छ । पीडितहरू अहिले पनि कसुरदारबाट डराएर हिंड्नुपर्ने अवस्था छ । अनि समाजमा पुनर्स्थापना हुन अझै पनि गाह्रो छ ।

बाहिर नै आउँदैनन् घटना

अहिले पनि हिंसात्मक र दर्दनाक घटना समाजमा भइरहेका छन् । तर, सबै घटना बाहिर आउँदैनन् । आफूमाथि भएको ज्यादतीबारे पीडितले कसलाई भन्ने ? कहाँ भन्ने लगायत चेतनाको अभावले पनि थुप्रै घटना बाहिर आउन सक्दैनन् ।

फेरि कानुनी प्रक्रियामा गएर के हुन्छ र ? उल्टै आफ्नै बेइज्जत हुन्छ भन्ने सामाजिक भ्रमले पनि पीडितहरू नबोलेको देखिन्छ । फेरि हाम्रो समाजले धेरैजसो पीडित माथि नै आंैंला उठाउने हुँदा पनि घटनाहरू अझै लुक्दैछन् ।

यसबाहेक पारिवारिक पृष्ठभूमिले पनि कतिपय घटना बाहिर आएका छैनन् । सामाजिक प्रतिष्ठा, इज्जतका नाममा पीडित अहिले पनि हिंसा सहेर बस्न बाध्य छन् । उनीहरूले उजुरी गर्न सकेको अवस्था छैन ।

अहिले घटना हुने वित्तिकै तत्काल आलो पीडामा उजुरी दिए पनि सामाजिक इज्जत, कसुरदारको डर, प्रलोभन जस्ता कुरा देखाएर होस्टायल भइरहेको घटनाहरू पनि देखिन्छ । पीडकलाई भन्दा पनि पीडितलाई पुनः प्रताडित गराउने सामाजिक अवस्थाले पनि हिंसामा परेकाहरू बोल्न नसक्ने स्थिति छ । घटना भइसकेपछि पनि कतिपय अवस्थामा बरु मिलाउन खोज्ने कारण त्यही हो । न्यायको लागि लड्छु भन्दा सामाजिक पुनर्स्थापनाको डरले पनि धेरै घटना लुकाइन्छ ।

यसको लागि न्यायालयले ‘फास्ट ट्रयाक’ मा न्याय सम्पादन गर्ने, पीडितको गोपनीयता र संरक्षणमा काम गर्ने गर्नुपर्छ । पीडक डराउनुपर्नेमा समाजमा उल्टो पीडितले शिर झुकाएर, लुकेर हिंड्नुपर्ने परिवेश छ । यसलाई नसुधार्ने हो भने किशोरीका लागि यो समाज झन् डरलाग्दो बन्दै जान्छ ।

(नेपाल बार एशोसिएसन, मकवानपुरकी अध्यक्ष बस्नेत  हिंसा पीडितहरूलाई कानुनी परामर्श दिंदै आएकी छन्  । साभारः अनलाइनखबर )