बैशाख १४, २०८१ शुक्रबार

जुन दिन यमराजले पनि यमलोक छाडेर बहिनीकहाँ बस्छन



Yamaraj

एक पटक यमराजकी बहिनी यमुना आफ्नो दाजु यमराजको नजिक गइन् । सँधै संसारभरिका पापीहरुलाई सजाय दिने र पाप पुण्यको लेखाजोखा गर्दा गर्दै कहिले पनि फुर्सद नपाएका यमराजलाई भनिन् ‘आज म तपाईंलाई आफ्नो घरमा लैजान चाहन्छु ।’ तर यमराजले आफूलाई फुर्सद नभएको र पछि बहिनीको घरमा जाने कुरा गरे ।

यमुना पनि हस् भनेर गइन् तर यमराजलाई कहिले पनि फुर्सद भएन । यमुनाको घर जान पाएनन् । एकदिन यमुनाले आएर निकै हठ गरेपछि यमराज यमुनाको घरमा गएर बस्न राजी भए ।

त्यसपछि कार्तिक कृष्ण पक्षको त्रयोदशीदेखि शुक्लपक्षको द्वितीया तिथि सम्म ५ दिन यमुनाको घरमा गएर बहिनीको खुशीका लागि बसे । ५ दिनको अवधीमा आफ्ना बाहन कुकुर, कौवासहित सबैको साथ यमुनाको सत्कार पाएर बसे ।

बहिनीको सत्कारदेखि प्रशन्न भएका यमराजले बहिनीलाई वर माग भने । दाजुको यस वचनलाई सुनेर यमुनाले भनिन् ‘हे दाजु हरेक दिन तपाईं मृत्यु भएका प्राणीहरुलाई सजाय दिनुहुन्छ । यदी मदेखि खुशी हुनुहुन्छ भने सबै प्राणीलाई नारकीय यातना दिन छोड्नुहोस् ।’

बहिनीको कुरा सुनेर यमराजले भने ‘हे बहिनी तिम्रो सत्कार देखि म अति प्रशन्न भएँ । त्यसकारण सँधै त होइन, कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म जो जति प्राणीहरुको मृत्यु हुन्छ तिनीहरुलाई म नरक को यातना दिन्न र हरेक वर्ष यो ५ दिन म तिम्रो घरमा आएर तिमी सँग नै बस्नेछु । यस दिन जजसले आफ्ना दाजुभाइलाई पूजा र्गदछन् र दाजुभाइ पनि दिदीबहिनीको घरमा गएर भोजन गर्दछन् भने तिनीहरुले कहिले पनि यमलोकको ढोका समेत देख्नुपर्दैन ।’ यमराजले आफ्नी बहिनीलाई यस्तो प्रकारको आशिर्वाद दिएको हुनाले यस ५ दिन मृत्यु भएकाहरु यमलोक जानु नपर्ने मान्यता रहेको छ ।

आजको दिन दिदी बहिनीको घरमा नै गएर भोजन गर्नुपर्दछ । आफ्ना दिदी बहिनी छैनन् भने मीत दिदी बहिनीहरुको घरमा जानुपर्छ । यदी तिनीहरु पनि छैनन् भने कसैलाई दिदी बहिनी बनाएर भए पनि आजको दिन दिदीबहिनीको हातबाट सप्तरंगी टीका लगाउनुपर्छ भन्ने कार्तिक माहात्म्यमा बताइएको छ ।

यस पर्वमा दिदी बहिनीले आफ्ना दाजुभाइलाई एकै ठाउँमा राखी दीयो, कलश, गणेश र यमराज र यमुनाको पुजा गरि आफ्ना दाजुभाइलाई पूजा गर्नुपर्दछ । तेल र पानीको धाराले घेरा बनाई कहिले नओइलाउने बिमिरोको पुजा गरि त्यसमा समेत तेल हाली आफ्ना दाजुभाइको टाउकोमा तेल हाल्नु पर्दछ ।

त्यसपछि सप्तरंगी टीका लगाई ढोकामा ओखर फुटाएर फाल्नुपर्छ । दाजुभाइलाई कहिले नसुक्ने मखमलीको माला लगाई आफूले सकेको मेवा मिष्ठान्नहरु दिने प्रचलन छ । दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई आफूले सकेको दान दक्षिणाहरु दिने गर्दछन् । यसो गर्नाले दाजुभाइ तथा दिदीबहिनी सबैको आयु लामो हुने र दीर्घायु हुने कुरा पनि शास्त्रहरुमा वर्णन गरिएको छ ।