बैशाख १०, २०८१ सोमबार

किन आउँछ भाइटीका परेलीका डिल भत्काउन?



Sarmila Neaupane

रंगहरुको पवर्त तिहार। फूल, बत्तिको झिलिमिलि। कर्मको लहरामा जेलिएर बाहिर पुगेका कतिपय दसैं र तिहार जस्ता ठूला पर्वमा स्वदेश फर्किन्छन्। मजदुरी गर्न विदेशिएकाहरु सबैले चाहेर पनि परिवारसँग बसेर चाड मनाउन पाउँदैनन्।

तिहार त चेलीका लागि झन विशेष हुन्छ। चाडपर्वको याम सुरु हुनेवित्तिकै मेरो मन पनि बाल्यकालतिर फर्किन्छ। जन्मथलोमा डुल्छ। चाडपर्वमा नरमाउने को होला र ! मभित्र पर्वले बेग्लै उर्जा पैदा गथ्र्यो। दशैंमा घरको रङरोगन गरिने भएकाले तिहारमा कामको चटारो कम हुन्थ्यो।

दशै बिदा पछि स्कुल खुल्ने हुनाले फेरि कहिले बिदा होला र तिहारको रमाइलो गरौंला भन्ने लाग्थ्यो। दशैंको भिडभाड सकिएपछि नै ममिले बजार गएर तिहारका लागि चाहिने समान किनमेल गर्नुहुन्थ्यो। तिहारमा घरआँगन, चोक सबैतिर सफा राखेमात्र लक्ष्मी खुशी भएर घरमा बस्छिन् भन्नुहुन्थ्यो ममि। केटाकेटी मन पत्याउँथे म। अहिले पनि होजस्तै लाग्छ। सफा मन र सफा घर आँगनमै भगवानको बास हुन्छ।

दशैं बिदा पछि स्कुल खुले पनि राम्रो पढाइ हुँदैनथ्यो। हाफ छुट्टिमै घर आउँथ्यौं। तिहार लागे पछिको त कुरै बेग्लै। यमपञ्चकका ५ दिन कागको पुजासँगै सुरु हुने तिहार, वर्षा ऋतुका हिलाम्मे बाटाा शरद  ऋतुमा ओभाना हुने। आकाश पनि छर्लंग खुल्ने। बालापनमा मन त्यसैत्यसै उडेर चङ्गाझै हुन्थ्यो।

काग तिहारकै दिन फुपू घरमा आउनु हुन्थ्यो। फुपू बुढी भए पनि जोस र जाँगर भने हामीमा भन्दा बढी। फुपू आएपछि बल्ल तिहार आएझैं लाग्थ्यो। तिहारमा घरको सफाइ र आँगन वरपर उम्रेका झारपात कोदालाले फालेर गाईको गोबरले आँगन लिप्ने काम मेरो र बहिनीको भागमा पर्दथ्यो।

फुपू असाध्यै राम्रो टपरी गाँस्नु हुन्थ्यो। सालका पातको टपरीमा राखी खानेकुरा दिने चलन अझै छ हाम्रो माइतीघरतिर। बुबा, ममि र दाइभाइलाई तिहारको मसला राख्न फुपु मेसिनले कपडा सिलाए भन्दा राम्रोसँग टपरी बुन्नु हुन्थ्यो।

एउटा कुरा सम्झन्छु, प्रायः काग सधैं थालमै भात खान आइपुग्थ्यो। तर, काग तिहारको दिन उसको भाउ नै बेग्लै हुन्थ्यो, त्यो दिन उसैका लागि भनेर पकाएको चोखो खाना खान चिच्याइ चिच्याइ बोलाउँदा पनि आउँदैनथ्यो।

कुकुर तिहार पनि हामी धुमधामसँग मनाउँथ्यौं। घरमा भाइले दुइटा कुकुर पालेको थियो रोमी र टमी । हामी दिदीभाइ मिलेर तीनलाई नुहाइदिने, पुजा गर्ने, फूलको माला लगाइदिने र ममिले पकाएको मिठो रोटी र भात खुवाउँथ्यौं। पछि ती दुबै कुकुर सडक दुर्घटनामा मरे। हाम्रा आँखा रसाए। भाइले तीनै प्यारा कुकुरलाई सम्झेर ६ दिनसम्म खानै खाएन।

अहो कहाँ गए ती दिनहरु ! भाइ कहाँ म कहाँ, त्यो बालापन कहाँ। दुई दाजु र एक भाइको धनी भए पनि यतिबेला कोही नभए झैं हुनु परेको छ।

कुकुर तिहारकै दिनबाट ममि र भाउजूहरु अनरसा, पत्रे, खजुरी जस्ता मिठामिठा खानेकुरा बनाउन सुरु गर्नु हुन्थ्यो। पकाउने काममा खासै जाँगर नगर्ने म, कतिबेला बाबा आएर देउता पितृलाई चढाउनु होला र खान पाइएला भन्ने ध्याउन्नमा हुन्थें। घरमा पाकेको मिठो चोखो चढाएर खानु पर्छ भन्ने मान्यता अझै छ हाम्रोमा।

लक्ष्मीपुजाको दिनको चटारो नै बेग्लै। बिहान ममिसँगै उठेर आँगन लिप्ने, ढिकी घरमा गएर पिठो कुट्ने आदि। बिहानै गाइको गोठ सफासुग्घर बनाएर गाइको पुजा गरिन्थ्यो। गाई पुजा गर्न साह्रै रमाइलो लाग्थ्यो। काँचो मेवालाई काटेर छाप बनाइ हरियो, रातो, पहेँलो विभिन्न रंगले गाइको जिउभरि रंगाउँथ्यांंै।

गाइलाई तेल लगाइदिएर फुपूले कानमा खै के के भन्नू हुन्थ्यो। हामी केटाकेटी गाइलाई माला लगाइदिन्थ्यौ। ममिले चामलको रोटी खान दिएर खुब श्रद्धा गर्नु हुन्थ्यो। लक्ष्मीपुजाको भोलिपल्ट गाईको पुजा गरे जसरी नै गोरुको पनि पुजा गरिन्थ्यो। अचेल त्यसरी नै पूजा गर्नु हुन्छ बुबा र ममिले। फरक यति छ कि हामी साना हुँदा त्यसको रौनक भिन्दै हुन्थ्यो। अहिले माइतीघरमा हामी नहुँदा खल्लो लाग्छ भनेर ममिले फोनबाटै गुनासो सुनाइरहनु हुन्छ।

दशैंको दही चिउरा तिहारको सेल भन्ने आहानै छ। साँच्चै सेल बनाउने पिठो कुट्ने ढिकी कता हराए, जाँतो कता ? सेल खान मन लाग्नेवित्तिकै खाजाघर या डिपार्टमेन्ट स्टोर गयो, किनेर खायो।

तिहारको रोटीको महत्व बेग्लै छ। हाम्रा हरेक चाडपर्व र मौसम अनुसार खाने खानेकुराको लिस्ट लामै छ। दशैको दही चिउरा मासु, तिहारको सेल, माघेसंक्रान्तिमा खिचडी, असार  पन्ध्रमा दहि चिउरा र साउन पन्ध्र खिर आदि।

बिहान गाईपुजा सकेपछि साँझ लक्ष्मीपुजाको चटारो त्यस्तै। लक्ष्मीपुजाको दिनको अर्को महत्त्वपूर्ण पक्ष भनेको साँझमा खेलिने भैली हो। भैली खेल्न जानुपर्ने हुनाले दिउँसैबाट ममिलाई काममा सघाउँथे। बिहानै गाईको गोबरले लिपेर राखेको आँगनमा स्वस्तिक चिह्न सहितको रङ्गोली बनाउने, घरका झ्याल ढोका, बरन्डा सजाउन माला गाँस्ने, बत्ती बाल्न पाला ठिक्क पार्नु पर्ने जिम्मा बहिनी र मेरो।

लक्ष्मीपुजा सकिनासाथ पर्सादीका लागि बनाइएको सेल र तरकारी खाएर पहिलाबाटै भैलो खेल्न तयारी अबस्थामा रहेका साथीसँगै मिलेर खेल्न सुरु गर्दथ्यौं। हामी स–साना हुँदा गाउँमा बिजुलीबत्ती आइसकेको थिएन। अँधेरी रातमा टर्चलाइट बाल्दै हातमा टेपरेकर्डर बोकेर भैली खेल्थ्याँैं।

भैलो केटीहरुले खेल्ने र केटाले देउसी खेल्ने भन्ने मान्यता केही अघिसम्म  गाउँघरतिर थियो। तैपनि हामी २ र ४ जना मिल्ने केटा साथीलाई केटीको पोसाक लगाएर भैलीमा लैजान्थ्यो। यसले गर्दा राति अँध्यारोमा हिँड्न हामीलाई पनि डर नहुने र अर्कोतिर भैली खेल्नेको संख्या पनि बढी हुने।

मुखले भट्याएर भैली माग्नु पर्ने हुनाले घाँटी सुक्थ्यो। कहिँ त सजिलैसँग भिक्षा स्वरूप खानेकुरा पैसा पाइन्थ्यो। कुनै कुनै घरमा भने रातभरि करायो, दक्षिणा हरायो हुन्थ्यो। त्यस्ता घरमा हामी हुँदो नहुँदो उपद्रो गरेर हिँड्थ्यौं।

अहिले ती दिन सम्झँदा रमाइलो पनि लाग्छ लाज पनि, कस्तो उमेर कस्तो बेला थियो ! कहाँ पुगे ती साथी संगी, सबै आ–आफ्नै घर व्यवहारमा व्यस्त छन्। कच्चा उमेर भए पनि केही गर्नुपर्छ भन्ने चेतनाले होला सायद देउसी भैलोबाट उठेको केही रकम प्रगतिशील युवा क्लबमा जम्मा गथ्र्यौं। बाँकी रकममा व्यक्तिगत रूपमा पैसा थपेर मंसिरमा वनभोज जान्थ्यौ।

अब कुरा गरौं, यमपञ्चकको विशेष दिन भाइटीकाको। ममिले पकाएर राखेका खानेकुरालाई फुपूले दुनामा राखी ठुलो टपरीमा सजाउनु हुन्थ्यो। दाइभाइ, मामा, बुबा सबैलाई पालो पालो दर्जा अनुसार टीका लगाएपछि चाडपर्व सकिएझै लागेर मन अमिलो भएर आउँथ्यो। भाइ त सानै, दाइहरुसँग दक्षिणामा खुब बार्गेनिङ गरिन्थ्यो। उसलाई त यति दिने र उसलाई त यति। किचकिच गरेपछि दाइहरुले भनेजति नदिई धरै पाउनु हुन्नथ्यो।

भाइटीकामा दाजुभाई सम्झेर आँखाका डिल भत्काउँछ आँसुले। सम्झनाका लहर सल्बलाईरहन्छ मनमा। दाजुभाईका मुहार नाचिरहन्छ आँखामा। दाजुभाइ भएर पनि नहुनुको पीडा महसुस हुन्छ हरेक बर्ष तिहारमा।

सायद देशका धेरै दिदीबहिनीको मेरो जस्तै हाल होला। आवश्यकता या सौखले हरेक साल वैदेशिक रोजगारमा जानेको संख्या बढ्दो छ। जब चाडपर्व आउँछ परिवारको मन खल्लो खल्लो हुन्छ। आँसुको भल बग्छ।

विवाहपछि विगत १३ वर्षदेखि पोखरालाई कर्मथलो बनाएकि छु मैले। बाल्यकालका दिनहरु मिस गरिराख्छु। कर्मभूमि पर्यटकीय नगरी पोखरा पनि तिहारमा उत्तिकै झकिझकाउ हुन्छ दुलही झैं। आकाश खुल्ने मौसममा माछापुच्छे« हिमाल मुस्कुराइरहन्छ। पोखरेली मनहरु प्रफुल्लित छन्।

सर्लाहीमा हुँदा २ दिन मात्रै देउसी भैलो खेल्ने चलन थियो। यता पोखरामा काग तिहारको दिनबाटै केटाकेटीले समुहमा देउसी भैलो खेलेको देख्दा अचम्म लाग्थ्यो सुरु सुरुमा। अहिले त बानी परिसक्यो।

पर्यटन व्यवसायमा संलग्न भएकाले तिहारमा विशेष रुपले होटलको सरसफाइ र सजावटमा लागि पर्छु। उज्यालोको पर्व भएकाले होटल, घर, पसल सम्पूर्ण आधुनिक विधुतिय उपकरणद्वारा झकिझकाउ हुने गर्छन। तर पनि बाल्यकालमा मनाइएको तिहारमा नै हार्दिकता र चाडपर्वको वास्तविक मर्म थियोे।

जतिसुकै रमझम भएपनि त्यहि अँध्यारो बाटोमा टर्चलाइट बालेर घाँटी सुकुन्जेलसम्म भैलो भट्टाएका दिनले नोस्टाल्जिक बनाइरहन्छ। सताइरहन्छ।

घरको मुली सासुससुरा र आफन्तहरु पनि कोहि पोखरामा नहुनाले न दशैंलाई नै दशै जसरी मनाएका छौ न तिहारलाई नै। दुई दाजु र एक भाइ वैदेशिक रोजगारीमा भएकाले हामी दिदीबहिनीलाई भाइटीका खल्लो खल्लो लाग्छ।

छोरी पनि दशैदेखि नै मामा घरमै हुन्छे। महिना दिन भए पनि उसले पनि आमा जन्मे हुर्केको गाउँ बारेमा जानोस् भनेर त्यतै छाड्ने गर्छु कुनैबेला त छोरी घरमा भएपनि रमाइलो हुनेथियो भने झै लाग्छ।

अत्यमा, हामीले आ–आफ्नो गच्छे अनुसार चाडबाड मनाउनु पर्छ। विविधतामा एकताको भावना जगाउनु पर्छ। भाइचारा र आत्मियता बढाउनु पर्छ। पर्वका नाममा विकृति नभित्र्याउँ। पर्वहरुको मौलिकता जोगाउँदै मनाऔं। सबैलाई शुभकामना। साभार: सेतोपाटीबाट