बैशाख १४, २०८१ शुक्रबार

माओवादीले राष्ट्रिय सभामा १६ जना महिला पठाउँदै (नामावलीसहित)



काठमाडौं – नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १७ सिट पाएको छ। प्रत्यक्षमा ३६ र राष्ट्रियसभामा १२ सिट जितेको माओवादी संघीय संसदमा ६५ सांसदसहित तेस्रो ठूलो दल बनेको छ।

शुक्रबार समानुपातितर्फको सिट निर्धारण गर्दै निर्वाचन आयोगले संविधानको धारा ८४ (८) अनुसार संघीय संसदमा निर्वाचित सदस्य ६५ को एक तिहाइ महिला हुने गरी बन्दसूचीबाट नाम छनोट गर्न माघ २९ गतेसम्मको म्याद दिएको छ।

निर्वाचन आयोगले माओवादीबाट कम्तीमा २२ जना महिला निर्वाचित हुनुपर्नेमा ६ जना निर्वाचित भइसकेकाले समानुपातिकको १७ मध्ये १६ सिटमा महिला पठाउन पत्राचार गरेको छ। प्रतिनिधिसभाकोे प्रत्यक्षतर्फ पम्फा भुसालले ललितपुर–१, बिना मगरले कञ्चनपुर–१ र कमला रोकाले रुकुम पूर्वबाट जितेका छन् भने राष्ट्रियसभामा ३ जना निर्वाचित भएका छन्।

समानुपातिकबाट माओवादीका को को सांसद ?

माओवादीले समानुपातिकबाट एक जना मात्र पुरुष पठाउन पाउने भएकाले सातवटा क्ल्स्टरको पहिलो नम्बरमा रहेकाहरु मध्येबाट एकजनाको नाम छनोट गर्नुपर्ने भएको छ।

खसआर्य कोटाको पहिलो नम्बरमा हितराज पाण्डे, आदिवासी जनजातिको पहिलो नम्बरमा सुनिलकुमार मानन्धर, दलित कोटाको पहिलो नम्बरमा तिलक परियार, थारु क्लस्टरको पहिलो नम्बरमा रामजी चौधरी, मधेसी कोटाको पहिलो नम्बरमा जोगकुमार बरबरिया र मुस्लिम कोटाको पहिलो नम्बरमा हकी कुल्लाह मुसलमान छन्। तर, माओवादीका स्रोतका अनुसार हितराज पाण्डलाई पठाउने निश्चित जस्तै भएको छ।

यी हुन् १६ महिला?

माओवादीले समानुपातिकबाट छनौट गर्ने १६ महिलामध्ये खस आर्य कोटाबाट ५ जना निर्वाचित गर्नुपर्छ। आयोगमा बुझाइएको बन्द सूचीअनुसार रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्मशीला चापागाईं, सत्या पहाडी र सीता पोखरेल सांसद बन्नेछन्।

आदिवासी जनजाति क्लस्टरबाट जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्तीमगर, यशोदा गुरुङ र अमृता थापालाई मनोनीत गर्नुपर्छ।

त्यस्तै माओवादीले दलित कोटाबाट दुईजना महिलालाई सांसद बनाउनु पर्ने समानुपानिक निर्वाचनसम्बन्धी निर्देशिकाले प्रष्ट पारेको छ। महिलातर्फ दलितको पहिलो नम्बरमा रहेकी अञ्जना विशंखे र दोस्रो नम्बरमा रहेकी दुर्गा विक नै सांसद बन्ने निश्चित छ।

मधेसी समुदायबाट इन्दु शर्मा र बोधमाया यादव छनौट हुनेछन्।

माओवादीले थारु वा मुस्लिम कोटामध्ये एउटाबाट मात्र सांसद निर्वाचित गर्न पाउने भएको छ। यस्तो अवस्थामा थारु कोटाको पहिलो नम्बरकी रामकुमारी चौधरी वा मुस्लिम कोटाको पहिलो सूचीकी चाँदतारा कुमारीमध्ये एक छनोट हुनेछन्।

माओवादीको पिछडिएको क्षेत्रबाट बन्द सूचीभित्रैबाट एकजना महिलालाई छनौट गर्नुपर्छ।