बैशाख १४, २०८१ शुक्रबार

बोक्सि र छाउपडीको कारण बारे प्रचण्ड भन्छन् : अहिलेको शिक्षाले यस्तो बनायो (भिडियाे सहित)



चितवन, २९ चैत – नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला हिँसाका घटना बढ्नुको कारण हाम्रो शिक्षा पद्धती भएको बताएका छन् ।

गृहजिल्ला चितवन स्थित आफ्नो वार्ड पटिहानीमा रहेको आधारभूत विद्यालय, सुन्दरबस्तीको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै प्रचण्डले साधारण शिक्षाको दिएको भरमा अहिले थुप्रै अन्धविश्वास र विकृति बढेको बताउनुभयो ।

‘किन मानिसहरुले अहिले एउटा अवला महिलालाई, अवोध महिलालाई बोक्सिको आरोप लगाएर कुटपिट गर्छन, किन महिलाहरुलाई छाउपडीको आरोपमा लगेर एकान्तमा लगेर फालिन्छ र त्यही मारीने या त्यहीँ बलात्कृत हुने घटनाहरु घट्छन ?’ उहाँले भन्नुभयो ‘बालबाच्चादेखि नै राम्रो शिक्षा दिक्षा, समाजउपयोगी, बैज्ञानिक शिक्षा नदिएर रुढि र अन्धविश्वासमा भरपर्ने कारणले वास्तवमा यस्ता विसंगतीहरु देखा परेका हुन् ।’

साधारण शिक्षा दिएको भरमा अहिले थुप्रै अन्धविश्वसहरु, थुप्रै विसंगति र विकृतिहरु समाजमा देखा पर्ने गरेको पनि उहाँको भनाई छ । त्यसको अन्त्यका लागि बैज्ञानिक र व्यवसायीक शिक्षा दिने नीति बनाउन बामपन्थीको सरकार लागिरहेको उहाँको भनाई छ ।

‘अहिलेको बामपन्थी र कम्युनिष्टहरुको सरकार यो सबै अन्धविश्वास र रुढिलाई अन्त्य गरेर एउटा बैज्ञानिक, व्यवसायीक र प्राविधीक शिक्षा दिने अनि लाखौँ यूवायूवतिहरु विदेश जानुपर्ने, दिनदिनै विदेशबाट लास ल्याउनुपर्ने स्थितीको अन्त्य गर्ने, देशभित्रै रोजगारी र समृद्धिको नयाँ यूगतिर देशलाई लैजाने हामीले संकल्प गरेका छौँ’ उहाँले भन्नुभयो ‘यो संकल्पमा सम्पूर्ण नेपाली जनताको सहयोग अनिवार्य छ ।’

प्रचण्डले जीवनोपयोगी शिक्षा अव सबैको शिक्षा हुने बताउनुभयो । ‘विगतको बेरोजगार उत्पादन गर्ने, प्रमाण–पत्र धारी जनशक्ति मात्र उत्पादन गर्ने, अव्यवहारिक शिक्षा नीति नेपालको विकासको बाधक रह्यो’, उहाँले भन्नुभयो ‘अव बेरोजगारी समस्याको समाधान गर्न वैज्ञानिक, व्यावहारिक र उत्पादनमुखी शिक्षा नीति चाहिने भएकाले अहिले हामी सरकारको बैधानिक प्रकृयाबाट त्यो नीतिलाई अगाडी बढाउने जमर्को गरेका छौँ ।’

विद्यालय शिक्षा सुधार कार्यक्रमलाई प्रभावकारी बनाइने भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो – ‘सामुदायिक विद्यालयहरू कमजोर हुँदै जाने, विद्यार्थी र अभिभावकको रोजाइमा नपर्ने, निजी विद्यालयतर्फ आकर्षित हुने परिपाटीको अन्त्य गर्दै अब सामुदायिक विद्यालयहरूलाई विद्यार्थी र अभिभावकको रोजाइमा पार्नु पर्छ ।’

फाेटाे तथा भिडियाे साैजन्य : राजेन्द्र अाचार्य