बैशाख १४, २०८१ शुक्रबार

तीन महिनामा १ सय २० बालबालिका बलात्कारजन्य घटनाबाट पीडित



काठमाडौं – बालबालिकामाथि हुने यौनदुर्व्यबहार , बलात्कारलगायत हिंसाले विकराल रूप लिँदै गएको छ । ०७४ चैतदेखि गत असारसम्म (३ महिनाको अवधिमा) १ सय २० जना बालबालिका यौन दुव्र्यवहार र बलात्कारजन्य घटनाबाट पीडित भएका छन् ।

केन्द्रीय बालकल्याण समितिको प्रतिवेदनअनुसार ५७ जना बालबालिका चैत महिनामा मात्रै पीडित भएका छन् । दुईजना बालक जर्मन नागरिकबाट यौन दुर्व्यबहारमा परेका छन् भने १ सय १८ जना बालिका बलात्कृत भएका छन् । यही अवधिमा १२ प्रतिशत (१४ जना) बालिका सामूहिक बलात्कारमा परेका छन् ।

चिनजानकै बाट  ४४ बालिका बलात्कृत
प्रतिवेदनअनुसार सामूहिक बलात्कार पीडित तीनजना बालिका सुस्त मनस्थितिका थिए । चिनजानकै व्यक्तिबाट ४४ जना बालिका बलात्कृत भएका छन् ।  त्यस्तै, छिमेकीबाट ३२ जना, आफ्नै बुबा तथा हाडनाताबाट १४ जना, प्रधानाध्यापक तथा शिक्षकबाट ९ जना, प्रहरी, सेना र कर्मचारीबाट ११ जना र घरेलु बालश्रममा रहेका ८ जना बालिका बलात्कृत भएका छन् । हाडनाताबाट बलात्कार भएका १४ जना बालिकामध्ये ८ जना बालिका आफ्नै बुबाबाट बलात्कारमा परेका छन् ।

८ महिनाकी बालिका  बाबुबाट बलात्कृत
नवलपरासीमा ८ महिने बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । नवलपरासीमा १५ वर्ष उमेरका बालिकाहरू धेरै संख्यामा बलात्कारबाट पीडित भएको प्रतिवेदनमा जनाइएको छ ।
बलात्कृत हुने बालिकामा ६ वर्ष वा सोभन्दामुनिका ५ जना, ७ देखि १० वर्षका १६ जना, ११ देखि १४ वर्षका २९ जना र १५ देखि १८ वर्षका ६८ जना छन् । सबैभन्दा कम उमेरको घटना नवलपरासीमा भएको छ ।