बैशाख १४, २०८१ शुक्रबार

जङ्गलमा दाउरा, घाँस गर्न गएकी महिला बलात्कृत



बाजुरा – बाजुरामा जंगलमा दाउरा, घाँस गर्न गएकी महिला बलात्कारमा परेकी छन् ।

त्रिवेणी नगरपालिका–८ कालापनीमा शारीरिक तथा मानसिक अवस्था कमजोर भएकी राम्रोसँग बोल्नसमेत नसक्ने ४५ वर्षीया महिला बलात्कारमा परेकी हुन् ।

उनलाई जङ्गलमा दाउरा, घाँस गर्न गएको समयमा कालापनीका ५८ वर्षीय राम गिरीले बलात्कार गरेको प्रहरीले जनाएको छ । अभियुक्त गिरी पक्राउ परीसकेका छन् ।

बिहीबार अभियुक्त गिरीले मदिरा सेवन गरेर बलात्कार प्रयास गरेको र नजिकै आफन्तले होहल्ला गरे पनि नसुनेझैँ गरेको स्थानीयको आरोप छ ।

महिलाका आफन्तले दिएको उजुरीको आधारमा गिरीलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको प्रहरी नायव निरीक्षक लोकेन्द्रसिंह गुरुङले जानकारी दिए ।

पक्राउ परेका गिरीलाई अहिले हिरासतमा राखिएको छ ।