बैशाख १४, २०८१ शुक्रबार

७० हजार डलर बोकेका दुई महिला पक्राउ



प्रहरीले त्रिभुवन विमानस्थलबाट अवैध डलरहित दुई महिलालाई पक्राउ गरेको छ।

​सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान एरियाबाट बैंककतर्फ अवैध रुपमा लैजान लागिएको ६९ हजार ५ सय ५० अमेरिकी डलरसहित दुई महिलालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ बस्ने सरला खड्‍का र काठमाडौं १६ बस्ने रिंकु गुरुङ रहेको प्रहरीले जनाएको छ।

​नेपाल एयरलाइन्सको उडानद्वारा बैंकक जान लागेका उनीहरुलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त रकमसहित प्रहरीले फेला पारी पक्राउ गरेको हो।

उनीहरुमध्ये सरलाको साथबाट ३५ हजार ६ सय ५० र रिंकुको साथबाट ३३ हजार ९ सय अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ।

​पक्राउ दुवै जनालाई रकमसहित आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ।