बैशाख १४, २०८१ शुक्रबार

नेपालको सडकबाट आठ वर्षपछि विर्षिसकेको घर बंगलादेश पुगिन् विलकिश



काठमाडौं – मानवसेवा आश्रमले काठमाडौँको महाराजगञ्जस्थित सडकपेटीबाट उद्धार गरी संरक्षण दिँदै आएका एक बङ्लादेशी नागरिकलाई पारिवारिक पुनर्मिलन गराएको छ ।

बङ्लादेशको ढाकास्थित नेपाली दूतावास र काठमाडौंस्थित बङ्लादेश दूतावासको समन्वयमा बङ्लादेशी महिला विलकिश वेगमलाई स्वदेश फर्काउन सफल भएको आश्रमका काठमाडौँ संयोजक सुमन वर्ताैलाले जानकारी दिए ।

उनलाई आश्रमले २०७४ जेठ २१ गते महाराजगञ्ज सडकपेटीबाट उद्धार गरेको थियो । आठ वर्षदेखि बेपत्ता भएकी विलकिशलाई बिहीबार पारिवारिक मिलन गराइएको हो । विलकिश बेगमको स्थायी घर बङ्लादेशको नारायणगञ्ज मुन्सीनगर कुटुबपुर पत्ता लागेपछि मिलन गराउन सफल भएको आश्रमले जनाएको छ ।

उनलाई उद्धार गर्दा परिवार र आफन्तबारे केही बताउन नसक्ने मनोरोगी थिइन् । आश्रमले संरक्षण गरी औषधि उपचार र मनोविमर्श सेवा दिएपछि उनले ठाउँ ठेगाना बताएकी थिइन् । उनलाई पछिल्लो समय वीरगञ्जस्थित आश्रममा राखिएको थियो ।

व्यवसायको सिलसिलामा वीरगञ्ज आएका बङ्लादेशका व्यवसायीले आश्रमका अभिभावक प्रकाश थारुसँग परिवार खोजी गरिदिन आग्रह गरेपछि उनीहरुकै पहलमा परिवार पत्ता लागेको आश्रमले जनाएको छ ।

नेपालस्थित बङ्लादेश दूतावासको सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पठाइएको हो । उनलाई लिन परिवार ढाकाको विमानस्थलमा पुगेका जनाइएको छ । यसअघि आश्रमले भारतीय नागरिकलाई पनि १२ वर्षपछि पारिवारिक मिलन गराइएको थियो ।

मानवसेवा आश्रमले २०६९ सालदेखि विलकिश जस्तै घरबारविहीन, बेसहारा तथा असहाय मानवलाई सडकपेटीबाट उद्धार गरी सेवा दिँदै आएको छ । मानवसेवा आश्रमले हालसम्म ५६० नेपाली तथा भारतीय र बङ्लादेशी गरी ३० जनालाई पारिवारिक मिलन गराइसकेको छ । एक हजार ८०० बढीको सडकबाट उद्धार गरेको आश्रममा हाल ६०० बढी संरक्षणमा छन् ।