बैशाख १४, २०८१ शुक्रबार

रोजगारीमा गएका २० महिला विदेशका जेलमा, तीन जना अचेत



रोजीरोटीका लागि विदेशीएका मध्ये २० महिला विभिन्न देशका कारागारमा बन्दी जीवन बिताउन बाध्य भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

विभिन्न चार देशका कारागारमा उनीहरु रहेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।

बोर्डका अनुसार कुवेतमा तीन, संयुक्त अरब इमिरेट्समा १२ , मलेसियामा तीन, ओमनमा दुई महिला कामदार कारागारमा बन्दी अवस्थामा छन् ।

त्यसैगरी तीनजना महिला विदेशका अस्पत्तालमा अचेत अवस्थामा छन् । कामका सिलसिलामा दुर्घटनामा परेका उनीहरु विदेशका विभिन्न अस्पतालमा अचेत अवस्था (कोमा) मा रहेको बोर्डले जनाएको छ ।

बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विदेशमा ५२६ पुरुष कारागारमा र २१ पुरुष अचेत अवस्थामा अस्पत्तालमा छन् ।

विभिन्न कारणबाट जेलमा परेका नेपाली श्रमिकको उद्धारका लागि कानूनी सहायता उपलब्ध गराइएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए ।

फौजदारी कसुरको अभियोग लागेका नेपाली कामदारलाई निजको तर्फबाट कानूनी प्रतिरक्षा तथा बहस पैरवी गर्न सरकारले आर्थिक सहायता उपलब्ध गराउँदै आएको उनले बताए ।

‘वैदेशिक रोजगारमा गएका नेपाली कामदारको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशका, २०७५’ अनुसार कामदारको उद्धारका लागि बढीमा रु १५ लाखसम्म उपलब्ध गराइने व्यवस्था छ ।