बैशाख १९, २०८१ बुधबार

यसवर्षको एसइई परीक्षामा छात्रभन्दा छात्रा बढी



यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा छात्र भन्दा धेरै छात्रा सहभागी हुने भएका छन् ।

नियमित, ग्रेडवृद्धि र प्राविधिक क्षेत्रका कूल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुने परिक्षा दिने छात्रा दुई लाख ३६ हजार ४४५ जना छन् भने छात्रा दुई लाख ३८ हजार ५५८ रहेका छन् ।

छात्रभन्दा छात्राको संख्या दुई हजार ११३ जनाले बढी हो ।

यस वर्षको एसइई यही चैत १० गतेदेखि २१ गतेसम्म यो परीक्षा देशभर एकैसाथ हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

यसवर्षदेखि एसइई परीक्षामा प्रदेशस्तरबाट प्रश्नपत्र सोधिने भएको छ । संविधानतस् माध्यमिक शिक्षासम्मको सञ्चालन र व्यवस्थापनको अधिकार स्थानीय तहमा दिइएकाले पनि परीक्षा व्यवस्थापन क्रमशः सङ्घीय संरचनामा जान थालेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले सातै प्रदेशमा कार्यालय खोली परीक्षा सञ्चालन गर्ने योजना लिए पनि एसइईका लागि विगतको परीक्षा नियन्त्रण कार्यालयकै संरचनामा व्यवस्थान गरिरहेको छ ।

यस वर्षबाट परीक्षाको व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारले लिएको छ । २०७२ सालदेखि विद्यालय शिक्षामा अक्षराङ्कन पद्धतिको थालनी भएको थियो ।

विद्यार्थीले पाउने प्रमाणपत्र तथा ग्रेड सिटमा उत्तीर्ण/अनुत्तीर्णको उल्लेख नभई विषयगत ग्रेड दिइने र समग्रमा स्तरीकृत अङ्क दिइने प्रक्रिया अक्षराङ्कन प्रणाली हो ।

परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको परीक्षाका लागि एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित छन् ।

अनिवार्य विषयका प्रश्नपत्र सातै प्रदेशबाट सोधिनेछ । नेपालमा विसं १९९० मा भारतको पटना विश्वविद्यालयसँग सम्बन्धन लिई प्रवेशिका परीक्षाको थालनी भएको थियो ।