बैशाख १४, २०८१ शुक्रबार

बलात्कार आरोपमा २ जना पक्राउ



झापा –  झापाको कमल गाउँपालिका समयगढकी २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले शम्शेर तामाङलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार तामाङले युवतीलाई घरनजिकै रहेको मकैबारीमा लगेर जबर्जस्ती करणी गरेको पीडित युवतीले बताएपछि उनका बुबाले प्रहरीमा उजुरी दिएका थिए ।

सोही उजुरीको आधारमा प्रहरीले तामाङलाई पक्राउ गरेको डिएसपी श्रेष्ठले बताए । तामाङलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ । 

त्यस्तै गत चैत ३ गते हल्दीबारी गाउँपालिकामा १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले हल्दीबारी गाउँपालिका–२ का ६५ वर्षीय राजेन्द्र अधिकारीलाई पक्राउ गरी जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलाएको छ ।

प्रहरीले झापा अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिसकेको जनाएको छ ।

प्रहरीले बलात्कारको घटना मिलाउन आर्थिक चलखेल गरेको आरोप लागेका हल्दीबारी–२ का वडा सदस्य खगेन्द्र राजवंशी, स्थानीय डिकेन राजवंशी र विजय राजवंशी फरार रहेकाले खोजी भइरहेको जनाएको छ ।