बैशाख १४, २०८१ शुक्रबार

‘महिलाको आयस्रोत नबढेसम्म देश विकास हुँदैन’



पोखरा – गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने बताएकी छन् ।

राष्ट्रिय महिला आयोगले पोखरामा उद्यमी महिलासँग गरेको उद्यमशीलता विकास सम्बन्धी प्रदेशस्तरीय अन्तक्रिया कार्यक्रममा उनले उद्यमीहरुले उत्पादन गरेका वस्तुको बजार विकासलाई सरकारले व्यवस्थित गर्नुपर्ने मुख्य चुनौती खडा भएकाले अव बन्ने बजेट महिलाको हितमा आउनुपर्नेमा जोड दिइन् ।

महिला हिंसा विरुद्ध हुने विभिन्न किसिमका गतिविधिको अन्त्य र निराकरण गर्नका लागि महिलाको आर्थिक सवलताको पाटो पनि बलियो हुनुपर्नु उनको भनाइ थियो ।

राष्ट्रिय महिला आयोगका सचिव दीपेन्द्र काफ्लेले महिलालाई अग्रसर बनाउन आर्थिक समृद्धिको ढोका खोल्नुपर्ने बताइन ।

सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’ सरकारको नारालाई सार्थक बनाउन महिलाको ठूलो भूमिका रहेको उल्लेख गरिन् ।

उद्यमशिलतामा अगाडि बढ्नका लागि आइपरेका अप्ठ्यारालाई कसरी समाधान गर्ने र निकास निकाल्नका लागि यो कार्यक्रम कोशेढुङ्गा सावित हुने उनको भनाइ थियो ।

राष्ट्रिय महिला आयोगका प्रमुख महिला विकास अधिकृत मीरा शेरचनले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै उद्यमी महिलाका लागि भएका नीति, नियम र व्यवस्थाका बारेमा जानकारी गराइन् ।

महिला उद्यमी रामकली खड्काले उद्यमशीलताको क्षेत्रमा महिलालाई राज्य विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । हस्तकलादेखि कृषि क्षेत्रमा रहे तापनि उत्पादित कृषिजन्य वस्तु भण्डारण गर्न उचित स्थान नहुँदा मेहनत खेर गइरहेको उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैँकका शाखा प्रबन्धक ओमप्रकाश पोखरेलले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान तथा महिलाका लागि व्यवस्था गरिएको मौद्रिक नीतिबारे प्रशिक्षण दिएका थिए।

कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाबाट आएका करीब ५० महिला उद्यमीको सहभागिता रहेको थियो । अन्तक्र्रिया कार्यक्रमका सहभागीले आफूले उत्पादन गरेका वस्तुको प्रदर्शनसमेत गरेका थिए ।
–––