बैशाख १४, २०८१ शुक्रबार

गाउँपालिका उपाध्यक्षबाट कुटिए प्रशासकीय अधिकृत



नुवाकोटको तार्केश्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमालले प्रमुख प्रशासकीय अधिकृत
अशोक दाहाललाई कुटपिट गरेकी छन् ।

आफूले सिफारिस गरेका योजनाको लागि बजेट दिन नमानेको भन्दै उपाध्यक्ष रिमालले कुटपिट गरेकाे दाहालले बताए ।

आफूमाथि कुटपिट र दुर्व्यबहार भएकाे भन्दै दाहालले प्रहरीमा जाहेरी दिएका छन् ।

रिमाल नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचित उपाध्यक्ष हुन् ।

आफ्नै कार्यकक्षमा सेवाग्राहीका काम गरिरहेको समयमा बिहीबार अपरान्ह उपाध्यक्ष रिमालको कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत दाहालले लगाएको कपडा च्यातिएको तथा गालीगलौज भएको प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

गाँउसभामा समावेश नभएका विभिन्न चारवटा योजनामा ६ लाख रुपैयाँ बजेट तर्जुमा गर्न उपाध्यक्षको निर्देशन कार्यान्वयनको लागि ‘कानूनले नमिल्ने’ बताएपछि आफूमाथि कार्यकक्षमै कुटपिट भएको प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए ।

उपाध्यक्षले गरेको कुटपिट र लछारपछारबाट आफू अन्यायमा परेको भन्दै दाहालले सार्वजनिक अपराध सम्बन्धी कसुरमा प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् ।

कर्मचारीमाथि भएको दुव्र्यबहार विरुद्ध जिल्लामा रहेका बाह्रैवटा स्थानीयतहका प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीहरुले संयुक्त विज्ञप्ति निकाल्दै गाँउपालिका उपाध्यक्ष रिमाललाई कारवाहीको माग गरेका छन् । उनीहरुले दोषीमाथि शीघ्र कारवाही हुनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।