आश्विन २०, २०८१ आईतबार

बढ्यो महिला हिंसा



mahila-hinsa२ असाेज, पाेखरा – लमजुङको चिती ३ तिलाहरकी मुना परियारले ८ वर्षअघि गाउँ नजिकै पाखापानीका रविन विश्वकर्मासँग अन्तरजातीय विवाह गरिन्। विवाह गरेर दिल्ली गएको ९ महिनापछि फर्किए। सासूससुराले छोरालाई घर पस्न दिए, मुनालाई दिएनन्। रविन ३ महिनाकी छोरी र आमा मुनालाई छुट्टै डेरामा राखेर विदेश हिँडे।

२ वर्षअघि विदेशबाट फर्किएका रविनसँग मुनाको भेट छैन। प्रशासन, प्रहरी, अधिकारकर्मी, मानव अधिकार आयोग गुहार्दा पनि मुनाले न्याय नपाएको गुनासो गरिन्। प्रहरीको महिला सेल प्रमुख असई नन्दकुमारी अधिकारीका अनुसार मुनाका ससुराले घरमा राख्ने सहमति गरेर कागज गरे पनि व्यवहारमा लागू भएको छैन। रविनको खोजी भए पनि भेटिएका छैनन्।

अधिकारीका अनुसार जिल्लामा महिलामाथिको हिंसा बढदो छ। करापुटार नगरपालिकामा छोरा विदेश रहेका बेला परपुरुषसँग हिँडेको भन्दै सासूससुराले बुहारीलाई घरबाटै निकालिदिए। गाउँसहर क्षेत्रका एक युवकले मदिरा सेवन गरेर दिनदिनै पत्नीलाई पिट्थे। ‘यस्ता उदाहरण थुप्रै छन्। धेरैलाई मिलाएर पठाएका छौं। दोषीलाई तारेखमा राख्ने गरेका छौं,’ उनले भनिन्।

प्रहरीका अनुसार गत वैशाखमा करापुटार नगरपालिकामा एक शिक्षकले १२ वषर्ीया बालिकालाई ‘अप्राकृतिक मैथुन’ गराएको मुद्दा गाउँमा १० हजारमा मिलाइयो। पछि उक्त मुद्दा प्रहरीकोमा आयो। ‘गाउँगाउँका घटना अझै हामीसम्म आउन सकेका छैनन्। गाउँमै पनि मिलाउने गरिएको छ,’ असई अधिकारीले भनिन्।

महिला सेलका अनुसार आर्थिक वर्ष २०७१/०७२ को तुलानामा आव ०७२/०७३ मा महिलामाथि हुने हिंसाका घटना बढेका छन्। आव ०७०/०७१ मा घरेलु हिंसाका ५९ वटा निवेदन दर्ता भएका थिए। ४४ वटा ठाडो उजुरी परेका थिए। ९१ जना महिला पीडित थिए। आव ०७१/०७२ मा घरेलु हिंसाका ५१ र ठाडो उजुरी २४ वटा परेका थिए। आव ०७२/०७३ मा ७७ वटा घरेलु हिंसा र ४९ वटा ठाडो उजुरी परेका थिए। महिला तथा बालबालिका अधिकृत विष्णुकुमारी लामिछानेका अनुसार ग्रामीण भेगमा महिलामाथि हुने अधिकांश हिंसाका घटना प्रहरी र अदालतसम्म आउनै सकेका छैनन्।

एकै वर्ष अढाई सय पीडित 
तनहुँ व्यास १ की हिंसापीडित एक महिला कानुनी उपचार खोज्दै महिला विकास कार्यालय आइन्। पतिको मानसिक यातना र परिवारको अपहेलना सहन नसकेपछि उनी न्याय खोज्दै हिँडेकी हुन्। पीडित महिलाका लागि सञ्चालित अल्पकालीन सेवा केन्द्रमा आर्थिक वर्ष २०७२/०७३ मा २ सय ५० उजुरीको सुनुवाइ भएको छ। अधिकांशले मानसिक र शारीरिक हिंसा खेपेका छन्। सम्बन्ध विच्छेद, अंश, माना चामलको माग गर्ने तथा शारीरिक रूपमा घाइते भएकाहरू औषधि उपचारको खोजीमा समेत आउने गरेका छन्।

मानसिक यातना भोग्ने १ सय ४२ ले उजुरी गरेका थिए। कुटपिटबाट १ सय २० र ५९ बहुविवाहबाट पीडित भएको केन्द्र प्रमुख सन्तोषकला भट्टराईले बताइन्। प्रहरी, महिला विकास र अदालतसम्म पुग्ने सबैलाई केन्द्र र अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन समितिले कानुनी उपचार सेवा दिने गरेको छ। गत आवमै जिल्लाका ५५ जना लैंगिक हिंसापीडित महिलालाई दमौली अस्पतालले सेवा दिएको छ।

अस्पतालमा उपचार गर्ने अधिकांश पीडित १४ वर्षमुनिका बालिका छन् भने केन्द्रमा कानुनी उपचार खोज्न आउने २५ देखि ४० वर्षका छन्। प्रहरीमा गएका मुद्दाको सुनुवाइ र अन्यको उजुरी फरक नपरोस् भनेर प्रहरीको महिला सेल, महिला विकास कार्यालय, अल्पकालीन महिला सेवा केन्द्र तथा जिल्ला अदालत बार एकाइले समेत अस्पतालकै एकद्वार संकट व्यवस्थापन केन्द्रमा पठाउने गरेका छन्। अदालतबाट कानुनी न्याय पाएकाहरूले पनि व्यावहारिक रूपमा नागरिकता नपाउने, अंश नपाउने र पाएको अंश पनि बिक्री गर्न नसकेर थप पीडित भएका छन्। अदालतले अंश दिने फैसला गरेर पनि न्याय नपाएपछि घाँसीकुवाकी लोककुमारी पाण्डेले अझै संघर्ष गर्नुपरेको गुनासो गरिन्।

उजुरी गर्ने बढ्दै 
पाल्पामा पछिल्लो समय हिंसाको उजुरी गर्ने बढेका छन्। चेतना, कानुनी उपचार पाइन्छ भन्ने आत्मविश्वासका कारण उनीहरू प्रहरी, महिला तथा बालबालिका कार्यालय र अदालतसम्म पुगेर उजुरी गर्न थालेका हुन्। तीन वर्षअघि ४७ महिलाले प्रहरीमा उजुरी दिएका थिए। दुई वर्षअघि बढेर ९३ र अघिल्लो आवमा ८८ उजुरी परेको महिला सेलकी शान्ता खत्रीले बताइन्। अधिवक्ता लालकुमारी रानाले महिलामा चेतना बढेकाले उजुरीमा वृद्धि भएको बताइन्। उनले भनिन्, ‘न्याय पाउन सक्छु भन्ने आत्मविश्वास बढेको हुनुपर्छ।’ प्रहरीमा परेका उजुरी र निवेदनमा मादकपदार्थ सेवन गरेर कुटपिट गरी घर निकाला गरेका छन्। यस्तै, शारीरिक तथा मानसिक यातना दिएको, खानलाउन नदिएको, दोस्रो बिहे गरेको लगायत उजुरी दर्ता भएका छन्। घरेलु हिंसाका ५४, ठाडो उजुरीका २८ आवेदन परेका छन्। त्यसमा दुई सम्बन्धविच्छेद भएकाले अदालत पठाइएको छ। बहुविवाह ६, जबर्जस्ती करणीका १२, उद्योग ४ गरी १६ वटा उजुरी परेका छन्।

भत्किँदै पारिवारिक सम्बन्ध
घरपरिवार र समाजमा हुने हिंसाका घटनाले महिला बिचल्लीमा पर्ने गरेका छन्। पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराका अनुसार तीन वर्षमा ५ हजार ८९ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन्। उजुरीमध्ये धेरैजसोमा प्रहरीले मिलापत्र गरेको छ। थोरै संख्यामा मिलाउन नसकेर अदालत पठाउने गरेको छ। उजुरी दर्ता गर्ने तर सम्पर्कमा नआउने पनि उत्तिक्कै छन्।  ‘घरेलु हिंसा हुनुको मुख्य कारण गरिबी, पारिवारिक तथा सामाजिक झगडा नै हो,’ क्षेत्रीय प्रहरी कार्यालयका प्रवक्ता एसपी विकास खनालले भने ।

रोजगारीबाट फर्केपछि हिंसा

म्याग्दीमा अधिकांश घरेलु हिंसाका घटना वैदेशिक रोजगारीबाट पति घर फर्केपछि हुने गरेको पाइएको छ। प्रहरी, सामुदायिक प्रहरी र महिला तथा बालबालिका कार्यालयमा उजुरी लिएर आउने अधिकांश पीडित पति वैदेशिक रोजगारीमा रहेका बेलादेखि नै पारिवारिक अविश्वास सिर्जना भई हुने गरेका छन्।

आव ०७२/०७३ मा महिला तथा बालबालिका कार्यालयमा परेका २२ घरेलु हिंसाका घटनामध्ये १४ वटा वैदेशिक रोजगारीसँग सम्बन्धित थिए। परपुरुषसँग सम्बन्ध राखेको, विदेशबाट पठाएको रकम दुरुपयोग गरेको, माइत बस्ने र पुरुषले वैदेशिक रोजगारीबाट फर्केर सहरबाटै अर्को विवाह गर्ने उल्लेख छन्। ‘अधिकांश हिंसापीडित महिलाले श्रीमान्ले अरूको कुरा सुनेर अविश्वास गर्ने, पैसा नपठाउने, फोन गरी धम्क्याउने र घर फर्केपछि कुटपिट गर्ने उजुरी आउने गरेका छन्,’ सहायक महिला विकास निरीक्षक डमसरा पुनले भनिन्।

कान्तिपुर दैनिकबाट आश गुरुङ (लमजुङ), प्रकाश बराल (तनहुँ), माधव अर्याल (पाल्पा), घनश्याम खड्का (म्याग्दी) र वीरेन्द्र केसी (कास्की)