बैशाख १४, २०८१ शुक्रबार

हाम्रा श्रीमानहरु मर्नका लागि गएका थिएनन्, हाम्रो छाक टार्नका लागि गएका हुन्



img_1007काठमाडौ– तीन महिनाअघि अफगानीस्तानमा भएको विष्फोटमा श्रीमान मारीएपछि पर्वत पाङकी गंगा सुवेदीको आम्दानीको बाटो सबै छेकियो । १७ वर्षसम्म नेपाली सुरक्षा निकायको जागिर खाएर छाडेपनि घरपरीवार पाल्न नसक्ने भएपछि श्रीमान विदुर सुवेदी अवकास पछि अफगानिस्तान पुगे । तर त्यहाँ नेपालीहरु चढेको गाडी बम विष्फोटमा परेपछि सुवेदी परीवारको सपना विष्फोटको आवाजसँगै चकनाचुर भयो ।

‘दुई भाई छोरा छन्, उनीहरुलाई डाक्टर बनाउने उहाँको ईच्छा थियो तर पेन्सनले राम्रो पढाउन नमिल्ने भएपछि बाध्यताले अफगान जानुभएको हो’ गंगाले गहभरी आँसु पार्दै भनिन् ‘अव त कसले कमाएर डाक्टर पढाउनु, डाक्टर पढाएको उहाँले हेर्न पाउनुहुन्न ।’

सुवेदी परीवारको संगै अन्य १२ परीवारको पनि सपना चकनाचुर भएको छ । घटनामा मृतक नविन क्षेत्रीकी श्रीमति देव कुमारी केसी र चन्द्र रानाकी श्रीमति गंगा राना मगरको पनि उस्तै दुखेसो छ । मृतकहरुको शव तत्काल नेपाल ल्याईएपनि अहिलेसम्म उनीहरुको विमाबापतको रकम नेपाल ल्याईदिन कसैले पहल नगर्दा मृतकका परीवारको पिडामाथी पिडा थपिएको छ ।

ब्रिटीस कम्पनी साब्रे ईण्टरनेशनलले उनीहरुलाई दिनुपर्ने क्षतिपूर्ति नदिएर पन्छिएपछि पिडीतहरुको पिडामा झन पिडा थपिएको छ । ‘हाम्रा श्रीमानहरु त्यहाँ मर्नका लागि गएका थिएनन्, हाम्रो छाक टार्नका लागि गएका हुन,’ सुवेदीले भनिन् ‘श्रम स्किृति गरेर बैधानिक रुपमा काम गर्न गएकाहरु मारीएपछि पनि पैसा पाईएन, अव हामी कसरी बाँच्ने ?’
मृतकका आफन्तले आफूहरु न्याय खोज्नका लागि धाउँदा धाउँदै हैरान भएपनि कतैबाट न्याय नपाएको गुनासो गरेका छन् । ‘हाम्रो जीवन त रोएरै वित्ने भयो, आसुँहहरु सुकिसके तर न्याय कहिँबाट पाईएन’ चन्द रानाकी श्रीमति गंगाले भनिन् ‘हामीले अव हामीलाई पाल्ने श्रीमान त गुमायौँ, न्याय पनि गुमाउने हो ?’

मृतकहरुले रोजगारीका शिलशिलामा कम्पनीसंग गरेको सम्झौमा दुर्घटनामा मृत्यू भएमा ३ लाख डलर रकम विमा पाउने भन्ने सम्झौता भएको भएपनि कम्पनीले आफूहरुलाई ठगेको गुनासो गरेका छन् ।

कम्पनीका मानव संसाधन म्यानेजर (एचआर) देउमान तामाङ्गले विमावापतको सम्झौताको नक्कली कागजात बनाएर थोरै क्षतिपूर्ति दिएपनि प्रहरी प्रशासन र सरकारले वास्ता नगरेको बताए । ‘हामीसंग ३ लाख डलरको विमाको सम्झौता छ तर देउमानले नक्कली हस्ताक्षर गरेर ३० हजार डलरको फोटोकपि ल्याएर दियो’ सुवेदीले भनिन् ‘देउमानलाई प्रहरीले त्यत्तिकै छाड्यो, किन यस्तो गरेको भन्दा एसपि राजेन्द्र पन्थीले तपाईँहरु अदालत जानुस हामीले केही गर्न सक्दैनन् भन्नुभयो ।’

मृतकका परीवारलाई कम्पनीले जम्मा ३० हजार डलर मात्रै विमा दिएको भन्दै सम्झौता अनुसारको क्षतिपुर्ति दिन माग गरेका छन् ।

मृतकहरुले ब्रिटीस कम्पनीमा सम्झौता गरेर क्यानेडियन दुतावासको सुरक्षामा खटिएका थिए । त्यसैले क्यानडा सरकारले पनि क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ । क्यानडा सरकार क्षतिपूर्तिका लागि तयार रहेको भएपनि नेपाल सरकारले पहल नगरेको पनि गुनासो गरको छन् । क्यानडामा उनीहरुको सहयोगका लागि काम गरीरहेको बताउने नेपाली जनसम्पर्क समिति क्यानडाका महामन्त्री दिपक भट्टराईले सरकारी निकायबाट पहल नभएकोले मृतकले क्षतिपूर्ति पाउन नसकेको बताए । ‘हामीले त्यहाँ मुद्धा हालेर कुरा गर्दा नेपाल सरकारको आधिकारीक पत्र आवस्यक परेको बताएका छन्’ उनले भने ‘तर सरकारी पहल पुगेको छैन ।’ उनले क्यानडाका लिवरल पार्टीका नेता बब रे ले नेपालीको पक्षमा आफै मुद्धा लडिदिने आस्वासन दिएको पनि बताए ।

मृतकहरुले आफूहरुले क्यानडामा कहाँ कसरी लड्ने, कसरी माग गर्ने भन्ने विषय थाहा नपाएर पनि पछाडी परेको गुनासो गरको छन् । ‘कहाँ कसरी पाईन्छ, कसलाई उजुरी दिने होहामीलाई केही थाहा भएन’ मृतक नविन क्षेत्रीकी श्रीमति देव कुमारी केसीले भनिन् ‘सरकार कहाँ पनि गयौँ, सरकारले हुन्छ भन्छ तर केही पहल गर्दैन ।’