जेष्ठ ३, २०८१ बिहीबार

महिला क्रिकेटरले २५ हजार पाउने



cricketer४ कात्तिक, काठमाडौं- युवा तथा खेलकुद मन्त्रालयले नेपाली महिला क्रिकेटरलाई जनही २५ हजार रुपैयाँ प्रदान गर्ने भएको छ । हङकङमा भएको आइसिसी महिला विश्वकपअन्तर्गत एसिया छनोटमा दोस्रो स्थान हात पार्दै एसिया कपमा छनोट भएपछि नेपाली टोलीलाई मन्त्रालयले पुरस्कृत गर्न लागेको हो । खेलकुदमन्त्री दलजित श्रीपालीले एसिया कपमा छनोट हुन सफल भएकोमा सम्मान गर्दै मन्त्रालयका तर्फबाट पुरस्कार घोषण गरे ।

फेरि पुरस्कृत गर्ने वाचा
मन्त्री श्रीपालीले परिषद्बाट निर्णय गरेपछि खेलाडीहरूलाई पुनः नगद राशिसहित सम्मान गर्ने बताए । मन्त्रालयले घोषणा गरेको पुरस्कार पहिलो चरणमा भएको मन्त्रीको भनाइ थियो । मन्त्री श्रीपाली खेलाडीलाई बधाई दिँदै अगामी नोभेम्बर–डिसेम्बरमा थाइल्यान्डमा हुने एसिया कपमा समेत नेपालीले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले खेलाडीहरूको जीवन बिमा र स्वास्थ्य बिमाको व्यवस्थासमेत गर्नुपर्ने बताए । परिषद्का उपाध्यक्ष लामाटेन्डी शेर्पाले परिषद्का तर्फबाट नगद पुरस्कारसहित सम्मान गर्न पहल गर्ने बताए ।

प्रशिक्षक सन्तुष्ट
नेपाली टोलीका प्रशिक्षक राजु बस्नेतले छोटो समयको तयारीका बाबजुदत महिला टोलीले निकालेको नतिजामा सन्तुष्टि जनाए । उनले एक्सपोजरको कमीका कारण महिला खेलाडीमा आत्मविश्वासमा कमी भएको बताए । कप्तान रुविना क्षेत्रीले खेलाडीहरूको मनोबल उकास्न मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् सवै तर्फबाट सहयोग र प्रोत्साहन हुनुपर्ने बताइन् ।