बैशाख १३, २०८१ बिहीबार

गाउँलेलाई ध्यान सिकाउँदै २४ वर्षीया अपाङ्ग युवती



१ मङ्सिर, काठमाडौ – कम्मरमुन्तिरको भाग बलजफ्ती हल्लाउनुपर्छ। त्यसमाथिको शरीर भने सग्लै छ तर दुबै गोडा सुकेकाले शरीरको भार थेग्न सक्नुहुन्न हात टेकेरै हिँडडुल गर्नुपर्छ रेणुका विश्वासलाई। बोलीमा आवाज पनि निस्कन सक्दैन तर मानसिक क्षमता भने बेजोड छ उनको।

हाँसिरहने र हात जोडेर आदरभाउ जनाइरहने मोरङको पथरी शनिश्चरे– १२ को देउताटोल निवासी २४ वर्षीया विश्वासलाई सानैमा पोलियो भएको थियो।

पोलियोका कारण दुबै खुटृा लुलो भएकाले उनी शारीरिक रुपमा कमजोर बनिन्। बुबा गुलावचन्दले भने, “उनी बोल्न सक्दिनन तर इशारा गरेर गाउँभरिका अभिभावक र युवायुवतीलाई ध्यान सिकाउँछिन्। ध्यान र योगा गर्न थालेपछि रेणुकाको आफ्नै जीवन पनि रुपान्तरण भएको छ।” त्यहाँ दैनिक साँझ र बिहान एकएक घन्टा ध्यान गर्ने व्यवस्था मिलाइएको छ।

‘भनिन्छ युवा पुस्ताले अध्यात्मतिर उतिसारो ध्यान दिँदैनन  उनीहरु हाँसिमजाक, पढाइ र साथी सङ्गीसँगको रमाइलोमा दिन बिताउँछन् तर, शनिश्चरेकी ती अपाङ्ग युवतीले भने गाउँमा युवाहरुका लागि समेत ध्यान र योगाको गुरुमा बनेकी छन्।

सवलाङ्ग जस्तै उनले पनि आफ्नो काममा दक्षताको उदाहरण प्रस्तुत गरेकी छन्। रेणुकाले दैनिक पचासजना साधकलाई योगा र ध्यानको कक्षा लिन्छिन्। गुरु ओशोबाट प्रभावित उनले गाउँका आमा, काकी, सानीआमा, बुबा, काका, भाइबहिनी र आफू र गाउँका करिब एकसय सर्वसाधारणलाई पनि ध्यानको गहिराइमा डुबाउन सफल भएकी छन्।

दैनिक ध्यान गर्न आउने स्थानीय शिक्षक त्रिलोक न्यापानेले भने ,“उहाँकै कारण गाउँमा ध्यानको माहोल बनेको छ । ध्यानमा सबै आर्कषित भएका छन् । समय निकालेर एक घन्टा म पनि आउँछु ।”

ध्यान गर्न थालेपछि मानसिक तनावमा कमी आउनुका साथै जीवन सकारात्मक रुपमा बुझ्ने कला आफूले पनि बुझेको उनले बताए। रासस