जेष्ठ ६, २०८१ आईतबार

सुत्केरी आमाको मृत्युपछि बालिका छोरीहरु किरियामा



kiriya_chhori_gulmi
गुल्मीको पुर्कोट दहमा सुत्केरी आमाको उपचारको क्रममा मृत्यु भएपछि किरिया बसेका दुई छोरीहरु । तस्विर : रासस ।

७ मंसिर, तम्घास- गुल्मीको पुर्कोटदह गाविसमा सुत्केरी आमाको मृत्यु पछि दुई छोरी किरिया बसेका छन्। पुर्कोट दह– १ का दुर्गाप्रसाद भुसालकी पत्नी दुर्गा कुमारीको मृत्यु भएपछि किरियामा बसेका दुई छोरीले दागबत्ती पनि दिएका थिए।

कात्तिक २० गते सुत्केरी भएकी २६ वर्षकी दुर्गा कुमारी २३ गतेदेखि बिरामी परेकी थिइन्। मङ्सिर ३ गते उपचारको क्रममा उनको मृत्यु भएको थियो। ‘प्रसूति अवस्थामा पक्षघातले समेत थलापारेपछि उनको मृत्यु भएको हो,’ दर्गाकुमारीका छिमेकी तथा स्थानीय शिक्षक बोमबहादुर कुँवरले भने, ‘अहिले १३ वर्षकी सङ्गिता र ११ वर्षकी रमिता उनको किरिया बसेका छन्।

गाउँलेकै सल्लाहअनुसार श्रीमानलाई किरिया नबसालेर छोरीलाई किरिया बसालिएको हो। आठ र ६ वर्षका अरु दुई छोरीलाई भने सानै भएको कारणले किरियामा नराखिएको उनले बताए।

उनले जीवनको अन्तिम क्षणमा जन्माएकी नाबालिक छोरीलाई भने धर्मछोरी बानाएर पाल्नको लागि आफूले लगेको पुर्कोट दह बजारमा मेडिकल सञ्चालन गरिरहेका सिर्सेनी गाविस– ९ का विश्व भुसालले बताए।

दुर्गाकुमारी सुत्केरी भएको चार दिनपछि बायाँतर्फको शरीर नचल्ने गरेर ढलेकी थिइन्। आर्थिक अभावकाकारण उनलाई उपचार गर्न नलगिए पनि सिकिस्त अवस्थामा भने अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र त्यहाँबाट बुटवल पुर्‍याइए पनि बढी खर्च लाग्ने भएपछि परिवारका सदस्यले उनको उपचारमा सहयोग जुटाउन सकेनन्।

अहिले ती छोरीहरुको अध्ययनमा सहयोग पुर्‍याउन रकम सङ्कलन गरिरहेकाले सहयोग गर्न आग्रह गर्दै शिक्षक कुँवरले भने– ‘मेरै नेतृत्वमा सहयोग सङ्कलनको काम गरिरहेका छाँ र केही रकम सङ्कलन पनि भएको छ।’