जेष्ठ ६, २०८१ आईतबार

महिला हिंसा विरुद्ध तानसेनमा प्रदर्शन



palpa-pradasanमाधव अर्याल
१३ मंसिर, पाल्पा – हत्या आरोपीलाई पक्राउ गर्न प्रहरीले नसकेको भन्दै पीडितका आफन्तले आइतबार तानसेनमा गरेको प्रदर्शनमा प्रहरीले लाठी चार्ज गर्दा चार जना घाइते भएका छन् । प्रदर्शनमा भएको झडपमा एक प्रहरी र तीन प्रदर्शनकारी घाइते भएका हुन् ।

घाइतेमध्ये हेक्लाङ्ग, ७ का अमरबहादुर ठाडालाई टाउकोमा चोट लागेको छ । प्रहरीसमेत अन्य प्रदर्शनकारीको अवस्था सामान्य छ । घाइते ठाडा मगरको जिल्ला सरकारी अस्पताल उपचार भैरहेको संघर्ष समितिले जनाएको छ । तानसेन बजारमा प्रदर्शनकारीले बजार परिक्रमासहित प्रशासन कार्यालयको मुख्य गेटमा नाराबाजी गर्दै धर्ना दिएका थिए ।

‘लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान’ चलिरहँदा विनुको हत्यामा संलग्नहरु पक्राउ नपर्नु दु:खद भन्दै माइती पक्ष हेक्लाङ्बाट आएका स्थानीयले बजारमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले आइतबार दिनभर प्रशासन कार्यालय अगाडी प्रर्दशन जारी राखे । शिक्षा कार्यालयमा प्राविधक पदमा कार्यारत दिपेन्द्र बस्याललाई तत्काल प्रक्राउ गरी कारवाहीको माग गर्दै पीडितपक्षले शिक्षा कार्यालयसमेत घेराउ गरे ।  हत्याको आरोप लागेका विनुका श्रीमान् दिपेन्द्र घटना सार्वजनिक भएलगत्तै भागेर भारतमा लुक्दै आएको माइती पक्षले बताएका छन् ।

घटनाको तिव्र गतिमा अनुसन्धान गरिरहेको र किटानी जाहेरीमा मुख्य आरोपी भनिएकाको खोजी कार्य जारी रहेको प्रहरी उपरिक्षक हरिराज वाग्लेले बताए । उनले घटना घटिसकेको तर अब आरोपीलाई खोजी गर्ने वातावरण मिलाउन माइतीपक्षलाई आग्रह गरे ।

असोज २५ गतेपछि वेपत्ता ताँहु, ७ घर भई तानसेन बस्दै आएकी विनु पुलामीको शव सनाखत भएको छ । राम्दीमा शव उत्खनन गरेर दाहसंस्कार गरेका आफन्तले श्रीमान् र उनको परिवारबाट हत्या भएको किटानी जाहेरी दिएपनि आरोपी पक्राउ गर्न नसकेको बिरोधमा प्रदर्शनमा उत्रिएका हुन् । विनुका माइतीपक्षले प्रहरी प्रशासनले दोषीलाई संरक्षण दिएको आरोप लगाएका छन् ।

पुलामीको २०६९ भदौमा अन्तरजातीय विवाह भएको हो । ताँहु, ७ फुरुङ्दीका दिपेन्द्र बस्यालसँग प्रेम विवाह गरेकी विनुको २०७२ चैत अघिसम्म घरमा सम्बन्ध राम्रो भएको उनका भाई भद्र पुलामीले बताए । माइती पक्षले बिहीबार घरपरिवारबाट हत्या भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
गत कार्तिक, ४ गते हुँगी, १ असेर्दीमा फेला परेको शव विनुको भएको माइतीले पुष्टि गरेका थिए ।

उनीहरुले गाडेको शव उत्खनन् गरी दाहसंस्कार समेत गरेका छन् । फरार पति दिपेन्द्रसँगै उनका बुबा लक्ष्मण बस्याल र आमा पार्वतीलाईसमेत अनुसन्धान गर्नुपर्ने संघर्ष समितिका संयोजक डीबि थापाले बताए । उनले अपराधी पक्राउ नपर्दासम्म आफुहरुको आन्दोलन जारी रहने बताए । उनले कारबाहीको माग गर्दै गाउँगाउँबाट आएका महिला, युवा, किशोरकिशोरीले धर्ना दिने र प्रदर्शन गर्ने बताए ।