बैशाख १४, २०८१ शुक्रबार

रोल्पामा लैङ्गिक हिंसाका घटना कमी



rolpa_district६ रोल्पा,  पुस – गाउँ गाउँमा गरिएको लैङ्गिक हिंसाविरुद्धको जनचेतनामूलक कार्यक्रमका कारण रोल्पामा यस वर्ष लैङ्गिक हिंसाका घटना कम भएको देखिएको छ ।

यस पूर्व जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी युनिटमा लैङ्गिक हिंसाका अधिक उजुरी आउने तथा सरकारी निकायको कम पहुँच भएका गाविस छनोट गरी सो जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको लैङ्गिक हिंसा निवारण जिल्ला कार्यकारिणी सञ्जाल, रोल्पाका अध्यक्ष श्रीकुमारी रोकामगरले बताउनुभयो ।

स्थानीय राजनीतिक दल, युवा क्लब, लैङ्गिक हिंसा पीडित र आमा समूहका प्रतिनिधिको सहभागितामा उक्त कार्यक्रम सञ्चालन गरिएको रोकाले बताउनुभयो ।

जिल्लाका घर्तीगाउँ, जैमाकसला, खुङ्ग्री, मिझिङ, थवाङ, जौलिपोखरी, गैरीगाउँ, हार्जङलगायतका गाविसमा गरिएको उक्त सचेतीकरणपश्चात् जिल्ला प्रहरी कार्यालयमा लैङ्गिक हिंसाका घटना कम आउन थालेको जिल्ला प्रहरी कार्यालय रोल्पाका महिला सेल इन्चार्ज दीलकुमारी बुढामगरले बताउनुभयो ।

कार्यक्रम प्रभावकारी देखिएकाले यस वर्ष पनि जिल्लाका विभिन्न गाविसमा कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएको सन्जाल अध्यक्ष रोकामगरले बताउनुभयो । रासस