बैशाख २३, २०८१ आईतबार

अब यूवतिले ठड्याउँछन भत्केका घर



 6 Baramchi model house

श्रीधर न्यौपाने / सिन्धुपाल्चोक – छोरी तरुनी भएपछि माईतिमा राख्नु हुँदैन भनेर टिकाटालो गरी पठाईदिने धेरै नेपालीको चलनबाट सिन्धुपाल्चोकको बराम्चीमा पनि अछुतो होईन । कारण थियो, छोरीले जोखिम मोलेर कडा काम गर्न सक्दैनन भन्ने बाबुआमाको चिन्ता हो ।
भर्खर १९ काटेर २० टेकेकी स्वस्तीका अधिकारीको परीवार पनि त्यसबाट अछुतो त हैन । तर कापी किताव कोखमा च्यापेर फुर्कँदै गर्दै कलेज जाने जाने किशोरीले टाउकामा हेल्मेट, हातमा हथौडा र कर्नि लिएर घर बनाउने मेलोमा लागेको देख्दा गाउँले सबै अचम्मित छन् । स्वस्तीकालाई साथ दिदैँछन् १८ भर्खर काटेर १९ लागेकी सन्तोषि पौडेल, दामेली नम्रता, १८ वर्षे यूवती संगीता तामाङ पनि ।
१२, बैशाख  २०७२ को महाविनासकारी भूकम्प र त्यसपछिका पराकम्पनले भताभुंग भएको गाउँ आफै बनाउन ति किशोरीहरु कस्सीएका हुन् । भत्केका घरहरु अढाईवर्षसम्म नबनेर गाउँले सबैको त्रीपालमुनी बास हुँदा उनीहरुलाई गाउँ बनाउने चिन्ता लागेको हो । भत्केका घर बनाउन कस्सिएका किशोरीहरुको जाँगर देखेर गाउँलेहरु पनि खुसी छन् ।
जिल्लामा कार्यरत अक्सफाम र  स्थानिय जनहित ग्रामिण सेवा समितिले साझेदारी गरेर जिल्लाका हगाम, बराम्ची र पाङताङ गाविसमा ४२ दिने डकर्मी तालिम सञ्चालन गरीरहेको छ । २० जना सहभागी हरेक गाविसका तालिममा आधाजसो महिला छन् । बाराम्चीमा पनि १९ जना सहभागी तालिममा ९ जना महिलामात्र छन् । घर निर्माणको काम अन्तिम चरणमा पुग्दा केही यूवती सिमेन्ट बालुवा र गिटिको घोल बनाईरहेका भेटिन्छन् भने केही थाम राख्ने काममा सक्रिय छन् । पुरुष डकर्मीहरु पनि संग काम गरिरहेका किशोरीलाई देखेर हगाम र पाङताङ जान हिँडेका मान्छेहरु रोकिएरै काम हेर्न पुग्छन । ‘सके कलम चलाउली नसके एउटाको घर त चलाउली भन्ने सोँचले दश बाह्र कलास पढाउने चलन छ तर यीनिहरु त धमाधम घर बनाउन पो कस्सिएकी छन्’ आफ्नो गाउँ हगाम जाँदै गर्दा बाटैमा उनीहरुको काम हेर्न रोकिएका सूर्य तामाङ्गले भने ‘मौका पाए भने केटीहरुले पनि घर बनाउने त रैछन् ।’

सिन्धुपाल्चोकमा भुकम्पले भत्काएका झण्डै सत प्रतिशत घर बन्ने क्रम धिमा गतिमा छ । शहरी विकास मन्त्रालय अन्तरगतको भवन निर्माण विभाग, डिभिजन कार्यालयले माघ २ गते भुकम्प दिबसको अबसरमा सार्वजनिक गरेको आँकडा अनुसार हाल जिल्लामा ४ प्रतिशतले मात्रै घर निर्माण सकेका छन् । अरुको अबस्था अझै अन्योलमै छ, कतिको सत्य तथ्य पनि आउँन बाँकि छ ।
तिनै संरचना पूनर्निमाणका लागि विभिन्न अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुले जिल्लाका गैरसरकारी संस्थासंग समन्वय गरेर काम गरिरहेका छन् । उनीहरुले दिएको घर बनाउने तालिममा किशोरी र महिलाको पनि उत्साहजनक सहभागिता रहेको हो ।
उनीहरुका उत्साहजनक सहभागीताले पुरुष सहभागी पनि खुसी छन् । महिलाहरु डकर्मी कामका लागि आत्मविश्वासका साथ काम गरेको देख्नेसाक्षि आफु हुन पाएकोमा स्थानीय डकर्मी पूर्ण घिमिरेले खुशी ब्यक्त गरे ।
तस्वीर लिन सुरुमा लजाएका निर्माण सुन्दरीहरुले तालिम पछि आफुहरुमा आत्मविश्वास बढेको बताए । ‘सुरुमा पुरुषले मात्रै गर्ने काम भनिएको डकर्मीकाम महिलाले पनि गर्न सक्छन भन्ने प्रमाणीत गर्न पाएकोमा गर्व लागेको छ’ स्वस्तिकाले भनिन् ।

Mahila karmi

तालिमका क्रममा उनीहरु अहिले नमुना भवन निर्माणमा जुटेका छन् । जनहितका आवास इन्जिनियर प्रसन थापाका अनुसार नमुना भवन निर्माण पछि गाविसलाई हस्तान्तरण गरिने छ । थापालाई त्यहाँ पुग्ने सबै नवआगन्तुकले सोध्छन् ‘तालिम पछि पनि यहाँ तालिम लिएका महिलाले यहि काम गर्छन त ?’ तर महिलाको उत्साह र आत्मविस्वास देखेर काम गर्छन भन्ने विश्वास दिलाउँदै उनी हाँसेर जवाफ दिन्छन्  ‘सबैले त्यहि सोधिरहेका हुन्छन, बरु तालिममा सहभागिलाई सोध्ने कि ?’
किशोरी र महिलाहरु आफै घर निर्माणमा कस्सीएर लागेपनि धेरैले  तालिम सकेपछि समाजमा काम किशोरीलाई काम दिने हुन वा होईनन भन्ने आशंकाका प्रश्न गर्छन । तर तालिम लिएका किशोरी डकर्मीहरु भने ढुक्क छन् जसरी पनि काम गरीन्छ । ‘आफ्नो घर बनाईन्छ, काम गरेको देखेपछि त अरुले पनि पत्याईहाल्छन नि’ नम्रता घिमिरेले भनिन् । आफ्नो गाउँ बनाउन आफै नलागे समयले धिक्कार्ने स्वस्तीकाको भनाई छ ।  ‘बिहान बेलुका गरेर पढ्छु, अनि दिउँसो यहि काम गर्छु, पढाई पनि पैसा पनि’ क्याम्पस पढ्दै गरेकी उनले योजना सुनाउँदै भनिन् ‘भुकम्पले भत्केको गाउँ हाम्रै हातले बनाउन पाउनु पनि मौका हो ।’ सन्तोषि पौडेलले पनि यहि कामलाई निरन्तरता दिने चाहना छ ।
तालिम लिनेमात्र होईन दिने पनि लेभल २ पास गरेकी ओखलढुंगाकी इन्द्रा राई छिन् । महिलाले डकर्मी तालिम दिएको कुरा आश्चर्य मान्दैनन ? भन्ने जिज्ञासामा सुरुमा उनी मज्जाले हाँसीन र भनिन् ‘सबैले त्यसै भन्छन तपैले पनि त्यसै भन्नु भो । हामीले काम गर्न नसक्ने जस्तो लाग्छ र ?’
भूकम्पले गाउँ थाङथिलो भएको डेढ वर्ष भयो । त्रिपालमुनि २ झरी रुझेका र २ हिउँदको चिसो खेपेका स्थानीय भने गाउँ बनाउने यूवतिहरुको अठोटमा साथ दिने छन् । त्यसपछि सिन्धुपाल्चोकको बराम्ची गाविसको ढाँडेमा केही दिन भित्रै आउनुभयो भने चै यी सुन्दरीहरुका नरम हातहरु कडा परिश्रममै भेटिने छन् पत्याउन कर लाग्ने छ । ‘घरको जग हाल्ने देखि छानो हाल्नेसम्म हामी हुनेछौँ’ तालिममा सहभागी यूवतिहरु भन्छन् ‘समाजले हामीलाई पत्याउने हैन, कामलाई पत्याउने हो ।’ तस्विर : श्रीधर न्यौपाने