बैशाख २३, २०८१ आईतबार

बलात्कार आरोपीलाई पक्राउ गर्दा प्रहरीमाथि आक्रमण, चार राउण्ड हवाई फायर



kapilvastu

कपिलवस्तु  :  कपिलवस्तुको सीमावर्ती क्षेत्रको हर्दौना गाविसमा बलात्कारको आरोपीलाई प्रहरीले पक्राउ गरेपछि स्थानीय वासिन्दासँग झडप भएको छ। झडपका क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ।

स्थानीय ९ वर्षकी बालिका बलात्कारको आरोप लागेका २८ वर्षका सद्दाम पठानलाई सीमा प्रहरी चौकी  हर्दौनाले पक्राउ गरेपछि स्थानीयसँग झडप भएको हो। झडपका क्रममा १३ जना भन्दा बढी प्रहरी घाइते भएका छन्। घटनामा सीमा प्रहरी चौकी हर्दौना कपिलवस्तुका इन्चार्ज सई प्रेमकुमार चौधरी, प्रहरी जवान गणेशमान खटिक, अर्जुन थापालगायत घाइते भएका कपिलवस्तुका डीएसपी प्रल्लाद अधिकारीले जानकारी दिए। भने ७ जना सर्वसाधारण घाइते भएका छन्।

  स्थानीय वासिन्दाले प्रहरीको तीनवटा गाडी पनि तोडफोड गरेका छन्। ना १ ग ४९४, बा १ ग २५६६ र ना १ झ १३०२ नम्बरको गाडी तोडफोड भएको प्रहरीले जानकारी दिएको छ। स्थानीयले प्रहरीमाथि आक्रमण गरेपछि सदरमुकाम तौलिहवाबाट जिल्ला प्रहरी प्रमुख एसपी भोजजंग शाह सहित ठूलो संख्यामा प्रहरी हर्दौना पुगेको छ। त्यस्तै अन्य ५/६ वटा प्रहरी चौकीबाट पनि प्रहरीहरु हर्दौना पुगेका छन्।

घटनास्थलमा ८० जना प्रहरी परिचालन भएको डीएसपी अधिकारीले जानकारी दिए।  प्रहरी उपरीक्षक भोजजंग शाहले स्थिति तनावग्रस्त भएको र नियन्त्रणमा लिने प्रयास भइरहेको बताए। उनले संवेदनशील अवस्थाका कारण घटनाको विषयमा तत्काल प्रतिक्रिया दिन नसक्ने जानकारी दिए।