आश्विन २०, २०८१ आईतबार

स्कूल जान्छन आमाहरु भिडियो च्याट गर्न ?



Praudh sikshya

काठमाडौं – हिसावगर्न नजानेपछि गैंडाकोटमा व्यावसाय गर्ने उनलाई खान श्रीमान कतै जाँदा कि ग्राहकलाई कुराउनुपथ्र्यो कि पसल नै बन्द गर्नुपथ्यो । मोबाइल चलाउन नजान्दा सम्पर्क नम्बर चिन्न अरुले स्टार, विरालो, फूल जस्ता चिन्ह लगाइदिन्थे । चिन्हका आधारमा उनले मोबाइलबाट आफन्तलाई फोन गर्ने गर्थिन ।
एकपटक बैंकमा पैसा जम्मा गर्ने रसिदमा हस्ताक्षर नजानेर ल्याप्चे लाउँदा कपिलवस्तुकी सोना खानलाई आफ्नो नाम पनि लेख्न नआएको भन्दै छेउछाउकाले खिल्ली उडाए । व्यापार गर्न र फोनमा भएको समस्या भन्दा बैंकमा ल्याप्चे लगाउने भनेर खिल्ली उडाएको कुरा उनको मनमा नमज्जाले बिझ्यो ।

यही पीरले स्कूल जान थालेकी सोना खानले अहिले ल्याप्चे लगाउनु पर्दैन लेख्न जान्ने भएकी छन् ।  अहिले त मोबाइलमा अंग्रेजीमै नाम लेख्न मात्रै होइन म्यासेज पनि पठाउन सक्ने भएकी छन् ।
गैँडाकोट–४ की ६३ वर्षिया खिमकला भण्डारी नातिनातिना जस्तै खिमकला पनि किताब, कापी र कलम बोकेर स्कूल जान्छिन् । गएको असारदेखी नियमित कक्षा लिइरहेकी खिमकलाले अहिले मोवाइलबाट आफैंले फोन गर्न सक्छिन् । ‘छोराछोरी कतै गए भने पनि मन अतासिन्थ्यो । त्यही भएर छोराछोरीलाई फोन गर्न सक्ने हुन्छु कि भनेर पढ्न आएकी’ उनि भन्छिन् ‘अहिले त खिमकला डायरीमा लेखेको नम्बर पनि मोबाइलबाट डायल गर्छु ।’

खिमकलाकै छेउमै बस्ने  ५५ वर्षकी तिला चालिसेले उतिबेला भाइबहिनी हुर्काउँदा पढ्नपाईनन । तर उनलाई अहिले लेखपढ गर्ने ठूलो धोको रह्यो  । त्यसैले उमेर र स्वास्थ्यले साथ दिइन्जेल नियमित कक्षामा आउने र पढिरहने गर्छिन ।
सोना, खिमकला र तिला जस्तै प्रौढ महिलाहरु गैँडाकोट–४ मा रहेको जनक माध्यमिक मातृ विद्यालयमा हरेक दिन दिउँसो  भेला हुन्छन् । उनीहरु ११ देखि ३ बजेसम्म गृहणी शिक्षा कक्षामा सहभागी हुन्छन् ।
भर्खरका केटाकेटीको जस्तो पढेर जागिरै खाने लक्ष्य भने  उनीहरुको छैन । विदेशमा रहेका छोराछोरी आफन्तसँग इन्टरनेटमा कुराकानी गर्न र हरहिसाब आफै राख्न सक्ने अनि बैंकबाट पैसा निकाल्न सक्ने हुनु उनीहरुको धोको छ । कक्षामा भर्ना भएका ४७ जनामध्ये अधिकांशका छोराछोरी विदेशमा छन् । उनीहरुले कक्षामा सहभागी भएर पढ्न थालेपछि फोन, इमेल, इन्टरनेटमा कुरा गर्न सजिलो हुन थालेको बताएका छन् ।

गैँडाकोट–४ कै तारा तिवारीकी छोरी विदेशमा छिन् । पहिले छोरीसँग कुराकानी गर्न अरुलाई फोन गर्न लगाउनुपथ्र्यो । तर अहिले कसैको मुख ताक्नु पर्दैन । २८ वर्षअघि ४ कक्षासम्म पढे पनि इमेल इन्टरनेट चलाउन गाह्रो थियो । तर अहिले गृहणी कक्षामा सहभागी भएपछि फेसबुक चलाउन सक्ने भएकी छन् । ‘मेसेज लेख्न सक्ने भएकी छु । अहिले कसैको मुख ताक्नु पर्दैन’ उनले भनिन् ।

किताबकापी बोकेर पढ्न आउँदा गाउँलेले गिज्याउछन् पनि । तर उनीहरुलाई यसको कुनै प्रवाह छैन । ‘गाउँलेहरुले यस्तो बुढी भएर पनि पढ्न पर्छ र रु भन्छन्’ गैँडाकोट–४ कै ५३ वर्षकी जिममाया अधिकारी भन्छिन् ‘म पनि ठट्टा गर्दै क्याम्पस हिँडेको भन्दै आउँछु ।’

नवलपरासीमा तीन ठाउँमा सञ्चालित गृहिणी कक्षामा १ सय ३० जना महिला सहभागी छन् । त्यस्तै २ हजार ९ सय ६६ जना प्रौढ महिलालाई लक्षित गरी १ सय ४८ वटा निरन्तर सिकाइ कक्षा पनि सञ्चालित छन् । नवलपरासीका सहायक जिल्ला शिक्षा अधिकारी तोयनाथ लम्सालका अनुसार प्रौढहरुलाई आवस्यकता अनुसार सिकाउन निर्देशन दिईएको छ । ‘उहाँहरुले व्यवहारिक ज्ञान सिक्न चाहनुभएको छ । सोही अनुसार कक्षामा पनि मोवाइल चलाउन, भिडियो च्याट गर्न, हिसाब गर्न, अंग्रेजी लेख्न र बोल्न सिकाउन सहजकर्ताहरुलाई निर्देशन दिएका छौँ’ उनले भने ।