आश्विन २२, २०८१ मंगलबार

श्रीमती सम्पत्ति लिएर टाप, मलेसियामा दुःख गरेर फर्केका श्रीमान सडकछाप



crying

कञ्चनपुर – चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ का भोजराज डगौराको बिजोग भएको छ ।

मलेसियामा चार वर्ष दुःख गरेर कमाएको १० लाख र घरभित्र रहेका सबै गरगहना लिएर ३९ वर्षीया श्रीमती मञ्जुदेवी भागेपछि डगौरा बिजोगमा परेका हुन् ।

दुई छोरा र एक छोरीकी आमा रहेकी मञ्जु भोजराज मलेसियाबाट फर्कनुभन्दा तीन दिनअघिमात्रै नगद र गरगहना लिएर भागेकी हुन् । माइतीमा रहेकी बज्यैलाई भेट्न भनेर गएकी उनी बेलौरी नगरपालिका–७ भकुण्डाका खुसिराम डगौरासँग भागेर गएको भोजराजले बताए ।

विदेशमा छँदा मेरै घरमा खुसिरामको आउजाउ बढेको रहेछ उनले भने – “त्यसले श्रीमतीसँगै कमाएको पैसासमेत लग्यो ।”

उनले भने – “भगाएर लगेकी श्रीमतीलाई उसैले लुकाएर राखेको छ ।” खुसिरामविरुद्ध भोजराजले जिल्ला अदालत, कञ्चनपुरमा मुद्दासमेत दायर गरेका छन्र ।

भोजराजले बूढीआमाको ज्येष्ठ नागरिक भत्ताबापतको १० हजार, छोरीको कानमा लगाएको आधा तोला सुन, घरमा रहेको अरु अढाइ तोला सुन र वृद्ध आमाको सुनको फुलीसमेत निकालेर लगेको बताए ।

विदेशबाट प्रतिमहिना आइएमई गरेर पैसा पठाउँथेँ उनले बैंकमा पैसा राख्दै आएको जवाफ दिन्थिन् उनले भने – “विदेशबाट फर्केर बैंक खातामा हेर्दा रु एक लाख ८८ हजार नगद रकम मात्रै फेला परेको छ ।”