आश्विन १९, २०८१ शनिबार

महिला र बालिका विरुद्ध हुने हिंसा अन्त्य गर्ने अभियानमा नेपाली सञ्चार माध्यम कँहा?



Sarita Shrestha

नेपालमा महिलाविरुद्ध हुने हिंसाका बारेमा खुला रुपमा छलफल हुन थालेको धेरै भएको छैन्। महिला हिंसाका विरोधमा डटेर जुटेर आवाज उठाउनुपर्छ भन्ने उदेश्यले विगत केही दसकदेखि मात्र यस बिषयलाई एउटा बहसका रुपमा लिई छलफल गर्न थालिएको हो। यसका पछाडि हाम्रो समाजमा नराम्रोसंग जरा गाडेर बसेको पितृसतात्मक विचार पनि कारणका रुपमा रहेको छ। महिलामाथि हुने विभिन्न प्रकारका हिंसामध्ये सबैभन्दा बढी हुने हिंसामा शारीरिक हिंसा, लैड्गिकताका आधारमा घरभित्र हुने विभिन्न प्रकारका हिंसा आदिका विषयमा अहिले निर्वाधरुमा छलफल र विचारविमर्श गर्ने गरिन्छ। नेपालमा महिला र बालिकाबिरुद्ध हुने हिंसालाई अत्यन्त निन्दनीय मानवअधिकार हनन्को रुपमा लिइएको छ र यसले नेपाली समाजमा अत्यन्त नराम्रोसंग जरो गाडेर बसेको छ।

समाजमा महिला र पुरुषबिचको विद्यमान असन्तुलित शक्ति सम्बन्धको कारण नै महिलाबिरुद्ध हुने हिंसाको मुख्य आधार हो। समाजमा महिला र पुरुषलाई गरिने आर्थिक र सामाजिक व्यवहारका कारणले गर्दा महिलालाई उपेक्षा गरिने, उनीहरुका महत्वपूण विषयलाई पनि महत्व नदिने र महत्वकासाथ बहस् नगरिने अवस्था रहेको छ। बिगत २० वर्षदेखि महिला र बालबालिकाविरुद्ध हुने विभिन्न प्रकारका हिंसासंग लड्नका लागि नेपाल सरकारले विभिन्न खालका नीति नियम अवलम्बन गर्दै आइरहेको छ भने अन्र्तराष्ट्रिय सन्धी सम्झौतामा पनि हस्ताक्षर गरे पनि नेपाली महिलाविरुद्ध आर्थिक, राजनीतिक, साँस्कृतिक, धार्मिक, मनोवैज्ञानिक आदि हिंसा घट्नुको साटो अझ बढेको छ। महिलाहरु विभिन्न रुपमा आधुनिक दासत्वका सिकार हुने गरेका छन्।

धर्म र संस्कृतिको रुपमा समाजले उनीहरुको अधिकार हनन गरेको छँदैछ। केही सिमित महिलाहरु बाहेक सूचनाको हकको बारेमा न त जानकारी छ नआधारभूत शिक्षा र स्वास्थमा पहुंच नै छ। शहरमा केही महिलाहरु देशको निर्णायक भूमिका गर्न सकिने स्थानमा त छन् तर उनीहरुले आम नेपाली महिलाको स्तरलाई भने अवश्य प्रतिनिधित्व गर्दैनन्। आज हामी महिला र बालबालिकाबिरुद्ध हुने हिंसाको अन्त्यको कुरा गर्दैछौं तर नेपालका दुर्गम जिल्लाहरुमा अझ पनि छोरी या महिला भएर जन्मिएकै कारणले आर्थिक, सामाजिक, साँस्कृतिक र मनोवैज्ञानिक अपहेलना सहनु परेकै छ।

विश्वको परिपे्रक्ष्यमा हेर्ने हो भने विश्वका सञ्चार माध्यमहरु महिलाका विषयमा सम्वेदनशिल बन्दै गएको र यसलाई चासोको विषयमा लिने गरेको पाईएको छ। तर नेपाली सञ्चार माध्यमहरुहरु यस्ता सम्बेदनशील विषयमा त्यति सम्बेदनशिल हुन नसकिरहेको देखिन्छ भने महिला र पुरुषबिच विद्यमान असमान शक्ति सम्बन्धको बारेमा प्रश्न उठाउन चुकेको हालै अस्मिताले गरेको एक अध्ययनले देखाएको छ।

सञ्चार माध्यमहरुलाई आवाजविहीनहरुका लागि आवाजको रुपमा लिइने गरेको छ र यसलाई जनताको दृष्टिको रुपमा पनि मानिन्छ । सञ्चार माध्यमले सरकार र जनता दुबैलाई सही मार्गदर्शन मात्र गर्दैन यसले उनीहरुले गरेका काम कार्यवाहीको सही विश्लेषण समेत गरी जवाफदेहिता र एक अर्काप्रति जिम्मेवार हुन उत्प्रेरित गर्दछ। यसै सन्दर्भमा नेपालमा मिडियाले लैङ्गिक हिंसा रोक्नका लागि के कस्ता खालका भूमिका निर्वाह गर्दै आएको छ? भन्ने विषयलाई मध्यनजर गरी सन् २०१६ जुन महिनाको १ देखि ३० तारीखसम्म गरेको सञ्चार अनुगमन गरिएको छ। नेपाल लगायत अन्र्तराष्ट्रिय तहमा नै जनचेतनाको लहरधेरै बढेको छ। तर अझ पनि वास्तविकतामा गरिवी, शिक्षा तथा स्वास्थमा पँहुच नहुनु, निर्णय गर्ने क्षमता नहुनु, बाल बिवाह, र महिला बालबालिका बिरुद्ध हिंसा भईरहनु जस्ता कुराले नेपालमा लैंगिक समानताको चुनौतिका रुपमा भूमिका खेलिरहेका छन् ।

एउटा घटनाले उग्र रुप लिंदा मात्र सञ्चारमा पहिलो प्राथमिकता पाउँनु हाम्रो बिडम्बना हो। त्यस्ता खालका समाचारलाई रिपोर्टरले आफ्नै ढंगले तोडमरोड गरेर पाठकको ध्यानाकर्षण गर्ने खालका समाचार बनाउँछन् फलस्वरुप यस्ताखालका समाचारले समाजमा सकारात्मक सोचको सट्टा नकारात्मक सन्देश दिन पुग्दछन् भने महिलाको जीवनमा अझ नकारात्मक प्रभाव पार्ने गरेको छ। महिला र बालिकाहरुमथि यस्ता घटनाहरु घटिनै रहेका छन् र उनीहरु यस्ता खालका समस्याबाट अत्यन्त नराम्रोसँग प्रताडित छन्। लंैंिगक हिंसा धेरैजसो आफ्नै परिवारका सदस्यहरुबाट, आफ्ना पुरुष साथीहरुबाट, समुदायका सदस्यबाट बढी हुने गरेको पाइएको छ। अस्मिताले गरेको संचार अनुगमनले पनि यही कुरालाई इंगित गर्दछ। नेपालबाट प्रकाशित हुने विभिन्न १८ राष्ट्रिय दैनिक पत्रिका, ६ वटा रेडियो र ४ वटा टेलिभिजन च्यानलका प्राइम टाइम न्यूज बुलेटिनमा आएका जम्मा १३६१वटा समाचारलाई लैंगिक दृष्टिकोणबाट हेरिएको थियो। अध्ययनको क्रमका केवल ९.१३% समाचार मात्र पहिलो पृष्ठमा, ६.१५% रेडियो र २.७०% मुख्य समाचारका रुपमा प्रशारण भएको थिए।

महिला र बालिकाबिरुद्ध सबैभन्दा बढी २०.९% समाचार शारीरिक हिंसासंग सम्बन्धित छन् भने पत्रिकामा आएका समाचारमध्ये शारीरिक हिंसाका समाचार २४.९३%, सामाजिक–आर्थिक हिंसाका १०.९५% तथा भावनात्मक र मनोवैज्ञाानिक हिंसाका समाचार ८.८४% प्रकाशित भएको पाइयो। यो एक महिने सञ्चार अनुगमनले लैङ्गिक हिंसासम्बन्धी समाचार नेपाली सञ्चारका प्राथमिकतामा पर्दैनन् र सधंै राजनैतिक समाचार नै प्राथमिकतामा पर्ने गर्दछन् भन्ने तथ्यलाई उजागर गरकोे छ। प्राथमिकतामा परेका समाचारहरु पनि विशेष गरेर सुरक्षा निकाय वा नागरिक समाज संस्थाको सहयोगबाट प्राप्त हुने र बिना कुनै अनुसन्धान गरी छापिने गरेको पाईएको छ।

पत्रपत्रिकामा हिंसा सम्बन्धी समाचार लेख्ने पत्रकारहरु पनि महिलाका तुलनामा पुरुषको संख्या बढी पाइएको थियो । हिंसाका समाचार लेख्ने, तयार गर्ने र सम्प्रेषण गर्ने समाचारदातादाताहरुमा १६.५% पुरुष छन् भने केवल ६.२% महिला छन् । रेडियोमा समाचार तयारी र सम्प्रेषणमा संलग्न १९.३% महिला थिए भने १३.७% पुरुष पाइए । तीनवटै मिडियालाई समग्रमा हेर्दा पुरुष पत्रकारको संख्या २३.४% र महिला पत्रकार ११.२ प्रतिशत भएको देखिन्छ । अतः महिला र बालिकाबिरुद्ध हुने हिंसा अन्त्य गर्ने आन्दोलनलाई सफल पार्न नेपाली मिडियाले न केवल लैङ्गिक मैत्री हुनु पर्नेछ बल्की लैङ्गिक जवाफदेहि पनि हुनुपर्ने देखिन्छ ।