आश्विन २०, २०८१ आईतबार

‘कतिधेरै बोल्न मन लाग्थ्यो, बुढासंग, छोराछोरीसंग। तर उनीहरू फोन गर्नै दिँदैनथे’



rita kumari

काठमाडौं – गाउँमा चिनजानकी एकजना दिदी थिइन् कविता चौधरी। उनी मेरी छिमेकीसमेत हुन्। उनले एकदिन मेरो घरमा आएर भनिन्, ‘तिम्रो बुढोले रक्सी खान्छ, पैसा पनि दिँदैन, एकचोटी विदेश जाऊ राम्रो हुन्छ।’

यतिधेरै केटीहरू विदेश गइरहेका छन्, म किन जान सक्दिनँ जस्तो लाग्यो मलाई पनि। मेरो श्रीमान् रक्सी खानुहुन्थ्यो। रक्सी खाए पनि अत्यधिक खाएर, घरमा तनाव दिने कहिले गर्नुहुन्नथ्यो। हामी श्रीमान्–श्रीमती सँगसँगै काम गर्न जान्थ्यौं। मलाई माया गर्नुहुन्थ्यो। कमाएको सकिहाल्नुहुन्थ्यो, त्यही भएर पैसा बच्दैनथ्यो। पैसा नै नबचेपछि मलाई दिने कुरा भएन। यो सबै देखेकी कविताले बुढाले रक्सी खाने निहुँ बनाएर मलाई कुबेत जान बारम्बार फकाइरहेकी थिइन्।

मैले यसबारेमा बुढासँग सोधें। म के गरूँ? श्रीमानले भन्नुभयो, ‘तेरो इच्छा छ भनेदेखि जा, म रोक्दिनँ।’

बुढाले नै जानु भनिसकेपछि म कविताको साथमा काठमाडौं आएँ। काठमाडौंमा कविताले रमेश गुरूङसँग भेटाइदिइन्। रमेशले पासपोर्ट बनाउनका लागि पैसा पनि दिए। पासपोर्ट बनाएर म घर गएँ। घरबाट बिदावारी भएर काठमाडौंँ आएँ। काठमाडौं बाट रमेश गुरूङले नै हामीलाई नयाँ दिल्ली लगे।

दिल्लीमा हामीलाई एक महिना राखे। एकमहिनासम्म दिल्ली बस्दा पनि केही काम नभएपछि म एक्लै दिल्लीबाट घर फर्किंए। कविताको छोरा दिल्लीमा नै थियो। उसैले मलाई टिकट काटेर गाडी चढाइदियो। घर आउँदा फेरि कविताले मलाई त्यहाँ नजानु, यत्रो महिनासम्म कहाँ गएर आइस् भनेर बुढाले पिट्छ भनी। मैले चाहिँ बुढासँग केही पनि लुकाउन सक्दिनँ भनेर भनिदिएँ। खुरूखुरू घर आएर बुढालाई सबै कुरा भनिदिएँ। घरमा बुढाले केही पनि भन्नुभएन। भन्ने कुरापनि थिएन किनभने म अनुमति मागेरै गएकी थिएँ।

दिल्लीबाट आएदेखि आठ महिना घरमा बसें। फेरि फोन गरेर रमेश गुरूङले मलाई काठमाडौं बोलायो। फेरि विदेश जाने रहर पनि थियो, पैसा कमिन्छ होला भन्ने पनि थियो। त्यही भएर काठमाडौं आएँ। काठमाडौंमा हप्तादिन सम्म रमेश गुरूङकै कोठामा बसें। मलाई लाग्ने सबै खर्च उनले नै बेहोरे। एकहप्ता पछि हाम्रो फ्लाइट भयो। रमेशले नै मलाई एयरपोर्ट लगेर प्लेन चढायो।

पहिलो पटकको प्रयासमा असफल भएपछि दोश्रो पटक म वैधानिक बाटोबाटै कुवेत गएकी हुँ। दिल्लीबाट फर्किएको समयचाहिँ अवैध बाटोबाट जान खोजेकी थिएँ। कुबेतमा हामीलाई कुमार झापालीले रिसिभ गरे। उनको वास्तविक नाम ध्रुवकुमार संग्रौला हो, घर झापाको सुरूंगा हो।

झापालीको कोठामा थुप्रै महिलाहरू थिए। त्यहाँ बस्नेलाई कज्याएर राखिएको थियो। अलिकति जोडले बोले पनि गाली नै गर्थे। गाली गर्नका लागि कुनै ठूलो कारण चाहिँदैनथ्यो। कुमार झापाली जतिबेला मनलाग्यो त्यतिबेला एकदमै अश्लिल गाली गर्थे हामीलाई।

उनीहरू श्रीमान–श्रीमती थिए। कुमार झापालीकी श्रीमती तारा पौडेलको स्वभाव कुनबेला कस्तो हुन्छ भन्ने नै थाहा हुँदैनथ्यो। कहिले उनी हामीसँग खुसी पनि हुन्थिन्, कहिले मनपरी गाली गर्थिन्। मैले कुमार झापालीको अफिस मा नै काम गरेकी हुँ। मेरो काम उनको कोठामा खाना पकाउने, भाँडा धुने, कपडा धुने, रूम सफा गर्ने थियो। अर्को ठाउँमा काम लगाइदिनु भनेर मैले पटकपटक भनें। तर उसले अरूको मा किन जानु, मुस्लिम कस्तो पर्छ थाहा हुँदैन, यहिँ काम गर्नु भन्यो। मुस्लिमको मा दिने जत्तिनै स्यालरी म पनि दिन्छु भन्यो। उसको कोठामा दिनभरी पाँच दश मिनेटको फरक हुक्का बनाउन लगाउँथे। हुक्का बनाउन नजाने लौरोले पिट्थ्यो। कुमार झापाली आफैं हात हाल्थ्यो हामीमाथि। मलाई उसले कति पिट्यो गनेर साध्यै नै छैन। तारा पौडेल पनि खुब पिट्थिन्। हामीलाई एकदमै छाडा गाली गर्थे लोग्ने स्वास्नी नै।

उसले लगाउने केही काम मैले जिन्दगीभरी नगरेका मध्ये थिए। हुक्का त मैले कहिल्यै बनाएकी थिइन नि त। त्यो काम त उसले सिकाउनु पो पथ्र्यो पहिला। सिकाउनुको सट्टा उसले जगल्ट्याउँथ्यो। सानो सानो गल्ती हुनासाथ तुरून्तै हात छाडिहाल्थे। उनीहरूको पिटाइबाट कहिले कसैको टाउकै फुट्थ्यो, कोहि रगताम्मे हुन्थे, नाथ्री फुट्थ्यो। कतिजनाको त दश पन्ध्र दिनसम्मै शरिरमा निलडाम बसेको हुन्थ्यो। फेरि, घरमा कुरा गर्न दिँदैनथे। घरबाट टाढा भएपछि छोराछोरीको माया त सबैलाई लागिहाल्छ नि। कतिधेरै बोल्न मन लाग्थ्यो, बुढासंग, छोराछोरीसंग। तर उनीहरू फोन गर्नै दिँदैनथे।

फोन रिसिभ गरे मेरो र अफिसको फोनमात्र रिसिभ गर, नेपालमा फोन नगर भन्थ्यो कुमार। उसले जे भनेपनि आफ्ना छोराछोरी र बुढाको माया त लागिहाल्थ्यो। म उनीहरूलाई झुक्याएर फोन गर्थेँ। मैले फोन गरेको थाहा पाएर उनीहरूले मोबाइल नै खोसिदिए। धेरैपछि मात्र फिर्ता दिए। म दिनभरी मोबाइल चलाउँदिन थिएँ। खाना पकाएर सबैजनालाई ख्वाएपछि सुत्ने बेलामा घरको याद आउँथ्यो र कल गर्न खोज्थें। हप्तामा जम्माजम्मी एकदिन घरमा फोन गर्थेँ। सुतेको बेला फोन गरेको थाहा पाएपछि मध्यराति उठेर पनि ताराले गाली गर्थी। पहिला कराउँथी र झापड हान्थी। मैले उसको झापड थुप्रैपटक खाएँ, त्यसको हिसाब छैन।

एकदिन त म पनि संगसंगै बाझें उसंग। घरमा फोन गर्न नदिनेभए मैले जतिदिन बसेर काम गरें त्यसको स्यालरी दे, मेरै पैसाबाट टिकट काटिदे घर फर्किन्छु भनें। म तेरो नोकर हो भनेर भनिदिएँ। त्यसपछि उससँग मेरो सम्बन्ध कहिल्यै राम्रो भएन।

कुमार श्रीमती नभएको समयमा त्यहाँ बस्ने केटीहरूसंग जिस्किन खोज्थ्यो। मलाई त जिस्काएन, तर भर्खर उमेरका केटीहरूलाई फसाउन पनि खोज्थ्यो। मैले नै कतिपटक देखेकी थिएँ।

कुमार झापालीकी बुढीसँग झगडा परेको चारदिन पछि हामी बसेको ठाउँमा कुवेतको प्रहरीले छापा मार्यो। छापा मारेर हामीलाई पक्राउ गरे। हाम्रो पासपोर्ट लगायतका कागजात सबै उनीहरूसंगै थियो। हामीलाई अबैधानिक रूपमा कुवेतमा बसेको भनेर पक्राउ गरिएको थियो। त्यहाँ काम गर्ने मान्छेको साहुको घरबाट पासपोर्ट उनीहरूले मगाउँथे, र सम्बन्धित मान्छेलाई त्यो पासपोर्ट दिँदैनथे। यसरी उनीहरूले त्यहाँ भिसा लगाउन नदिएर अबैधानिक बनाउने रहेछन्। हामीलाई त्यहाँबाट नेपाल फर्काइयो।

 मैले नेपाल आएपछि कविता चौधरीलाई भेटें। मैले यसरी दुःख दिएपछि, एजेण्टको काम गरेपछि त्यहाँ काम गरेको पैसा दिन भने। पैसामात्र होइन, हामी त त्यहाँबाट पक्राउ परेर फर्किएका थियौं। मान्छेको इज्यतको कुरापनि भयो। मैले पटकपटक आफुले गरेको कामको पैसा दिन भन्दै फोन गरेपछि उसले त्यो नम्बर नै बदली। अहिले उसको नम्बरमा फोन लाग्दैन। पहिलापहिला एक दुईचोटी पैसा माग्दा उसले अहिले छैन, भएको बेला दिन्छु भनेर टारिरहन्थी। म कुवेतबाट फर्किएको ११ महिना भयो। यो बीचमा केहि नपढेकी, नबुझेकी म आफ्नो श्रमको ज्याला माग्दामाग्दा केहि बुझ्ने भएकी छु। मेरो माग आफुले काम गरेको अबधिको पुरा पैसा पाउनुपर्‍यो र घरमा बन्धक बनाएर कष्ट, दुःख दिने कुमार झापाली र उसकी बुडीलाई कारबाहीपनि हुनुपर्छ भन्ने हो। यसैका लागि म दश महिनादेखि लडिरहेकी छु। हामीले क्षतिपूर्तीमात्र माग्दापनि यिनीहरू झनै सोझासिधा चेलिबेटीलाई ठगेर हिँड्छन्। मान्छे बेचेका पैसा छँदैछ उनीहरूसंग त्यही दिन्छन् र फेरि आफ्नो धन्दा गर्छन्। त्यसैले यिनीहरूलाई कारबाही पनि हुनुपर्‍यो र हामीले क्षतीपूर्ती पनि पाउनुपर्‍यो।  नेपालखबरबाट