जेष्ठ ४, २०८१ शुक्रबार

महिलाले खुकुरी नचाएपछि……….



Puythan

प्यूठान –  वरीपरी मानिसहरुको भिडभाड र ठेलमठेल । फराकिलो ठाउँको बिच भागमा एउटै ड्रेसमा सजिएका महिलाहरु हातमा तरवार । भाइटिकाको भोलिपल्ट लाग्ने ऐतिहासिक डल्ले सराएँमा मेला हेर्न आएका दर्शक हरु अचम्म मानिरहेका थिए ।
विगतका वर्षदेखि सराएँलाई प्रतियोगिताको रुपमा संचालन गर्न थालिएपछि सर्वसाधरणको आकर्षण थपिदै गएको हो । प्यूठान नगरपालिका–७ विजुवार गाँजुरीस्थित झिमरुक फाँटमा संचालन भएको मेलामा जिल्लाका गाउँगाउँबाट सर्वसाधरण उपस्थित थिए । मेलामा हजाराँै बढीको सहभागीता देखिन्थ्यो ।

जिल्लाको दुर्गम गाउँ रजवारासहित प्यूठान नगरपालिकाको विजयनगर, सापडाँडा, सारीवाङ, मरन्ठाना, पूण्यखोला, खलंगास्थित पाण्डेडाँडा लागएत स्थानबाट सराएँ प्रतियोगितामा समूहहरु सहभागीता भएका छन् ।

तिहारको बेला जिल्लामा लाग्ने मेलाहरुमध्ये डल्ले सराएँलाई सवैभन्दा ठूलो मेलाको रुपमा लिइने गरिएको स्थानीय बताउँछन् । सराएँ प्रतियोगितामा बाजागाजाको तालमा युवा, वृद्धबृद्धा र महिलाहरुको उल्लेखनीय सहभागीता हुने गरेको छ । उनीहरुको एउटै आवाज,‘वखै’ ‘वखै’ गर्दै हातमा तरबार लिएर एकै तालमा नाँचेर दर्शकहरुलाई आर्कषण दिने गरिन्छ ।

करिव पाँचसय वर्ष अगाडी जाहवंशिय राजाको राक्षक्षी स्वभाव विरुद्ध जनताले तरबार उठाएको घटनासँगै सराएँ नाँच निकालिने गरिएको विजुवार पूण्यखोलाका नागरीक समाजका अगुवा एवं प्रतियोगितामा सहभागी दल बहादुर केसी बताउँछन् । ‘वर्षेनी डल्ले सराएँ मेलामा सहभागी हुनेहरुको संख्या बढ्दै गएको छ’,उनले भने,‘पुरस्कारको व्यवस्था गर्न थालिएपछि यसमा आकर्षण बढेको हो ।’

प्रतियोगितामा प्यूठान नगरपालिका–५ स्थित सिद्धेश्वर महादेव मन्दिरको तर्फबाट स्थानीय महिलाहरुको समेत सहभागीता थियो । हातमा तरवार लिएर महिलाहरु सराएँमा सहभागीता भएका थिए । पुरुषहरु सरह उनीहरुले आफ्नो प्रतिभा देखाएका छन् । मेलामा महिलाहरुको सराएँ नाँच थप आकर्षण देखिएको थियो । १४ मध्ये एक मात्र महिला समूहले सहभागीता जनाएका हुन् । छिमेकी जिल्ला रोल्पा, अर्घाखाँची, गुल्मी र दाङबाट समेत मेलामा सहभागी हुने गरेका छन् । प्यूठान नगरपालिका वडा नम्वर सातले प्रतियोगितामा सहभागी समूहलाई पुरस्कारको व्यवस्था गरेको अध्यक्ष नेत्र बहादुर केसीले जानकारी गराए ।

प्रतियोगितामा विजुवार पूण्यखोलाको समूह प्रथम, विजयनगर साँपडाँडाको द्धितिय र विजुवारको समूह द्धितिय भएको आयोजकले जनाएको छ । विजयी समूहलाई क्रमशः एक लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार प्रदान गरिएको छ । सहभागी सवै समूहलाई प्रोत्साहन स्वरुप पन्ध्र÷पन्ध्र हजार रुपैँया दिइएको केसीले जानकारी गराए ।